आईएमएफबाट श्रीलंकालाई पुनर्निर्माणमा २० करोड ६० लाख सहयोग

दितवा चक्रवातले श्रीलंकामा मृत्यु हुनेको संख्या ६४३ पुगेको छ । १८३ जना अझै बेपत्ता छन् ।

पुस ५, २०८२

कान्तिपुर संवाददाता

IMF provides Sri Lanka with $206 million in reconstruction assistance

एजेन्सी — अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलंकालाई झन्डै २० करोड ६० लाख अमेरिकी डलर आपत्कालीन सहयोग उपलब्ध गराउने भएको छ ।

शुक्रबार बसेको आईएमएफको कार्यकारी बोर्ड बैठकले विनाशकारी चक्रवात 'दितवा'  बाट उत्पन्न समस्या तथा कठिनाइ समाधान गर्न यो सहयोग गर्ने निर्णय गरेको हो । 

नोभेम्बर १७ मा आएको दितवा चक्रवातले श्रीलंकामा ठूलो जनधनको क्षति गराएको छ ।  यहाँ मृत्यु हुनेको संख्या ६४३ पुगेको छ भने १८३ जना अझै बेपत्ता छन्।

आईएमएफका उप–प्रबन्ध निर्देशक केन्जी ओकामुराले जारी गरेको वक्तव्यमा भनिएको छ,

“यस विपत्तिले तत्काल मानवीय सहायता र पुनर्निर्माणको ठूलो आवश्यकता सिर्जना गरेको छ, जसकारण सरकारो आर्थिक दबाब र भुक्तानी सन्तुलनसम्बन्धी समस्या गहिरिएको छ । यसको सम्बोधनका लागि  आईएमएफको आरएफआई (र्‍यापिड फाइनान्सिङ इन्स्ट्रुमेन्ट) अन्तर्गत आर्थिक सहयोग प्रदान गरिएको छ । 

उनले थपे, 'सबै आपत्कालीन खर्च सार्वजनिक वित्त व्यवस्थापन ऐनअनुसार कार्यान्वयन गरिनेछ र पारदर्शिता तथा उत्तरदायित्वका मापदण्डअनुसार सुदृढ अनुगमन गरिनेछ । यसलाई समर्थन गर्ने नियमित सार्वजनिक प्रतिवेदन ल्याइनेछ ।' 

ओकामुराले आपतकालको समयमा छिटो प्रतिक्रिया देखाएको भन्दै श्रीलङ्काली सरकारको प्रशंसा गरेका छन् । उनले आईएमएफ श्रीलङ्काली जनतासँग रहेको र भविष्यमा पनि देशको पुनर्निर्माण र आर्थिक सुधार प्रयासमा समर्थन गर्ने बताएका छन् ।

त्यसैगरी, श्रीलंका संसदले देशभर चक्रवातबाट प्रभावित नागरिकहरूको जीविकोपार्जन पुनःस्थापना गर्न १.६४ अर्ब अमेरिकी डलर बराबरको पूरक बजेट स्वीकृत गरेको छ ।

कान्तिपुर

Link copied successfully