गोलाप्रथादेखि लोकतन्त्रको प्राणवायुसम्म, चुनौतीले भरिएको चुनावी विश्व इतिहास

सन् २०२५ मा ६५ वटा देशमा राष्ट्रिय स्तरमा निर्वाचन भयो । जसमा विश्वका झन्डै ३.७ अर्ब मानिसले मतदान गरे । एकै वर्ष यति धेरै देशमा निर्वाचन भएर झन्डै विश्वको आधा जनसंख्याले मतदान गर्नु एउटा दुर्लभ उत्सव हो । यस सहभागिताले लोकतन्त्र बाँच्नका लागि आवधिक चुनाव अपरिहार्य रहेको प्रमाणित गर्छ । इतिहासको लामो समयसम्म सिमित धर्मगुरु, कुलीन र जमिनदारहरुले मात्रै राज्यको नीति–नियम तय गर्ने हक राख्दथें । विभिन्न समयका क्रान्ति र संघर्षले यस अवस्थालाई उल्ट्याएर राजनीतिमा आम नागरिकको हस्तक्षेपलाई अर्थपूर्ण बनाएका छन् । सन् १९७०–८० को दशकयता, विश्वका धेरै देशले मताधिकारलाई साझा अधिकार बनाएका छन् ।  अहिले धेरैजसो देशमा उमेर पुगेका सबैले मताधिकार पाउँछन् ।  

पुस ५, २०८२

अन्वेषण अधिकारी

From the ballot system to the lifeblood of democracy, a world history of elections full of challenges

What you should know

काठमाडौँ — स्विचरल्यान्डका २६ स्वायत्त क्यान्टोनमध्ये गलारुस र अपेन्जेल इनरहोडेन खुला मत प्रक्रियाका लागि प्रख्यात छन् । यहाँ, वयस्कहरु  वर्षेनी चौरमा भेला हुन्छन् र बजेट, नीति तथा क्यान्टोन सरकारको नेतृत्व चयन गर्छन् ।

 उपस्थितीमध्ये जोसुकैले स्थानीय सरकारमा आफ्नो उम्मेदवारी घोषणा गर्नसक्छ । त्यसमा सहमति जनाउन चाहनेले हात उठाउँछन् । यसरी खुला रुपमा बस्ने भेलाले नै प्रत्येक वर्षका लागि नेतृत्व, बजेट र नीति पारित गर्छ । 

सन् २०२४ को जनगणनाअनुसार गलारुसको जनसंख्या ४२ हजार आसपास र अपेन्जेलको जनसंख्या १६ हजार ७ सय आसपास छ । 

यी दुई प्रान्तले गरेको अभ्यासलाई जर्मन भाषामा ल्यान्ड्सगेमेइन्डे भनिन्छ ।  ल्यान्डको अर्थ देश र गेमेन्डेको अर्थ समुदाय, सभा वा नगर हो । यो प्रथा सन् १३०० ताकादेखि नै चलिआएको छ । आधुनिक समयमा बाँकी क्यान्टोनहरु गोप्य मतदानमा गएपनि यी दुई क्यान्टोनमा  कायम यस जीवन्त प्रथाले चुनावको शताब्दीऔं पुरानो इतिहास भावी पुस्ताले अनुभव गर्न पाउनेगरी सुरक्षित राखेको छ । चुनावको इतिहास प्राचिनकालदेखि नै सुरु भएको थियो । र, विश्वका फरक कुनामा भएका फरक चुनावी अभ्यासबारे विभिन्‍न इतिहासकारहरूले चर्चा गरेका छन् । 

From the ballot system to the lifeblood of democracy, a world history of elections full of challenges

प्राचिन कालखण्ड 

प्राचिन वैश्विक सभ्यता (मेसोपोटामिया, इजिप्ट, मेसाअमेरिका, चीन, भारत) प्रायः वंशाणुगत उत्तराधिकारमा चल्ने भएपनि यसभित्र कतिपय शहरी राज्यहरुमा गणतान्त्रिक व्यवस्था रहेको इतिहासकारहरुले औल्याएका छन् ।

मेसोपोटामिया, मेसाअमेरिका (मायन र अज्टेक) तथा प्राचिन भारतमा केही गणराज्यहरु थिए । जहाँ, जनताले नेतृत्व चयन र सल्लाहकार समितिमा आफ्नो मत राख्न पाउँथे । प्रायः यस्तो अधिकार कुलीन वर्गलाई नै प्राप्त हुन्थ्यों । अर्कोतर्फ, यहाँका आदिवासी समुदायमा मुखियाको चुनाव गर्नका लागि  सबै गाउँले भेला हुने प्रचनल पनि थियो । 

प्राचीन भारतमा रहेका वैशालीजस्ता गणराज्यहरुले गणपति छान्नका लागि सबै वयस्क पुरुष सदस्यलाई मताधिकार दिने व्यवस्था गरेको इतिहासकारहरु बताउँछन् । त्यसताका मतदानका लागि शलकजस्ता बहुरंगी संकेतको प्रयोग हुने गरेको भीएस रमा देवी ( भारतकी पूर्व निर्वाचन आयुक्त) र एसके मेन्दीरत्ताद्धारा लिखित ‘हाउ इन्डिया  भोटस् : इलेक्शन लज, प्राक्टिस एन्ड प्रोसेडर’ पुस्तकमा उल्लेख छ ।

‘साम्राज्यमा समाहित भएपछि गणराज्यहरुले आफ्नो सार्वभौमिकता गुमाए । यसका बाबजुद स्थानीय समुदायमा दैनिक कामको व्यवस्थापन लोकप्रिय सभाहरूमार्फत लामो समयसम्म जीवित रह्यो ,’ पुस्तकमा लेखिएको छ । 

प्राचीन चीनमा शासन सञ्चालनका लागि वंशाणुगत उत्तराधिकारलाई नै आधार मानिन्थ्यों । तर कानुन तर्जुमा र प्रशासनिक मामिलामा बुद्धिजीवीहरुको परामर्श लिइन्थ्यो । 

प्राचीन ग्रीसमा  स्पार्टाको संविधानले नै शासन र सैनिक व्यवस्था तय गरेको थियो । यसलाई  ल्युगर्गसले लेखेको मिथक छ । इतिहासकारहरुका अनुसार यसबेला समाजका नागरिकलाई सैनिक नागरिक, असैनिक नागरिक र दासगरी तीन वर्गमा बाँडिएको थियो । यसमध्ये दासहरू अधिकारविहिन थिए र उनीहरुमाथि जतिसुकै ज्यादती गरेपनि मालिकलाई कानुन लाग्दैन थियो । 

प्राचीन रोममा ईसापूर्व छैटौं शताब्दीमा राजतन्त्र समाप्त गरेर कुलीनहरूले अनौठो लोकतन्त्र विकास गरे । जहाँ,  नीति–निर्माणका लागि सिनेटको व्यवस्था गरिएको थियो ।

कुलीन पुरुषहरुको मतबाट छानिएका सिनेटरहरुले यहाँ दुईजना कन्सुललाई चयन गर्दथे र ती दुई कन्सुलको आपसी सल्लाहमा सरकार सञ्चालन हुन्थ्यों । उनीहरुको मत बाझिएमा फेरि सिनेटमै मतदान हुन्थ्यों । आज विश्वले प्रयोग गर्ने गरेको गोप्य मतदानको अभ्यास पनि रोमबाटै सुरु भएको थियो । 

ग्रिसको एथेन्समा ईसापूर्व  ५७४ मा सोलोनले नयाँ संविधान ल्याए, जसले उच्च वर्गका सदस्यहरूलाई मतदानको अधिकार दिएको थियो ।

एथेनियनहरूले युद्ध गर्ने र सेनापतिहरूको निर्वाचनजस्ता मुद्दामा पनि मतदान गर्न सक्थे । इसापूर्व तेस्रो शताब्दीमा जन्मिएका सोक्रेटिसले यस्तो नाममात्रैको निर्वाचनले समाजमा परिवर्तन ल्याउन नसक्ने ठान्दथें । 

प्रजातन्त्रले अयोग्य मानिसलाई सत्तामा पुर्‍याएको भन्दै उनले विरोध गर्ने गरेका थिए । ‘एपोलोजी’ र प्लेटोसँगको अन्य संवादमा उनले लोकप्रिय मतभन्दा न्याय र ज्ञान महत्वपूर्ण हुने तर्क गरेका छन् । सोक्रेट्सका शिष्य प्लेटोले यी संवादलाई पुस्तकका रुपमा उतारेका छन् ।

प्लेटोले आफ्नै सिद्धान्तलाई पनि पुस्तकको रुप दिएका छन् । जसमा स्टेट्सम्यान, रिपब्लिक आदि महत्वपूर्ण छन् । मानिसहरुले इच्छा, भावना र बेवास्ताको व्यवहार प्रकट गर्ने भएकाले उनीहरु आफैंलाई शासन गर्न अयोग्य रहेको उनको बुझाई छ ।

तत्कालीन एथेन्सको समाजमा अपराधीलाई दिइने सजायको निर्धारण पनि आम मानिसको मतद्धारा नै गरिन्थ्यों । सुकरातलाई मृत्युदण्ड दिने निर्णय पनि एथेन्सका जनताको मतबाट नै सदर भएको थियो । यसले प्लेटोसहितका उनका धेरै शिष्य विक्षिप्त भए ।

यस घटनापछि एथेन्स छाडेर विभिन्न भूभागमा लामो समय बिताएका प्लेटो जीवनको उत्तराध्र्दमा एथेन्समै फर्किएर पश्चिमा जगतको पहिलो संस्थागत औपचारिक पाठशाला ‘एकेडेमी’ खोल्न सफल भए । 

प्लेटोले आफ्नो पुस्तकमा प्रजातन्त्रलाई कमजारी युक्त व्यवस्था भनेका छन् । नेताले लोकप्रिय विचारलाई  तोडफोड गरेर तानाशाही शासन लाद्नसक्ने खतरा उनले यस पुस्तकमा औल्याएका छन् । तर सुकरातलाई मृत्युदण्ड दिने निर्णयले विक्षिप्त भएर प्लेटोले एथेन्सको समाजले गर्ने हरेक निर्णयक विरोध गरेको पनि कतिपय इतिहासकारहरूको तर्क छ ।

प्लेटोले रिपब्लिक पुस्तकमा ‘दार्शनिक राजा’ परिकल्पना गरेका छन् । जहाँ, वंशाणुगत उत्तराधिकार र शक्तिको आडमा सत्ता हत्याउने प्रवृत्ति खारेज गरेर विवेक र करुणायुक्त बौद्धिक राजाले शासन गर्ने उल्लेख छ । उनले यसमा महिला अधिकार र साम्यवादी समाजको परिकल्पना गरेका छन् । कालान्तरमा यसलाई उनकै चेला अरिस्टोटलले खारेज गरेका थिए । 

अरिस्टोटलले नागरिकले केही जिम्मेवारी पूरा गर्नुपर्ने तर्क राखेका थिए । उनले मताधिकार सिमित र राज्यले योग्य ठानेका मानिसलाई मात्रै दिइनुपर्ने तर्क गरेका छन् । प्रजातन्त्रलाई कानुन र संस्थानहरुमार्फत सन्तुलनमा राख्नुपर्ने उनको तर्क छ ।

प्रजातन्त्र र कुलीनतन्त्रको समायोजनले उत्कृष्ट र व्यवहारिक प्रणाली विकास गर्न सकिने उनको मान्यता थियो । ‘केही मानिसहरु आफुलाई पूर्ण रुपमा शासन गर्ने तार्किक क्षमता राख्दैनन् । त्यस्ता मानिस अरुबाटै शासित हुनु राम्रो हुन्छ,’ उनले भनेका छन् । कुलीनतन्त्र र दास प्रथाको वकाल गरेकाले पनि आधुनिक युगमा उनको सान्दर्भिकता कम भएको छ । 

एथेन्समा विभिन्न कालखण्डमा यसरी निर्वाचनलाई लिएर फरक–फरक विचार अगाडि आएका थिए । सत्ताधारीको प्रभूत्व बढेर निर्वाचन प्रक्रिया भ्रस्ट भएपछि एक समय लक्की ड्रमार्फत पनि नेतृत्व चयन गरिएको थियो । 

मध्ययुगमा राजनीतिक प्रतिनिधत्व 

मक्किदैं गएको रोमन साम्राज्य ४ सय ७६ ताका आइ पुग्दा पतन भइसकेको थियो । युरोपमा धेरै सामन्ती राज्यहरु अस्तित्वमा आए । सम्राटहरुको जगजगीसँगै राजनीतिक सहभागिता घट्दै गयो । राजा, जमिनदार र चर्चमा शक्ति निहित रहन थाल्यो ।

यस समय जनतालाई अधिकार दिने विषयभन्दा पनि राज्य बिस्तार महाराजाहरुको प्राथमिकतामा थियो । सन् ९३० मा स्थापना भएको आइसल्यान्डको संसद् ‘अल्थिङ’ लाई विश्वकै पुरानो संसद् मानिन्छ । स्वतन्त्र राज्यका रुपमा रहेको आइसल्यान्डमा धेरै जिल्लाहरु थिए ।

प्रत्येक जिल्लाबाट नेतृत्व गरेर आउने मुखियाहरु अल्थिङमा वर्षमा एकपल्ट भेला हुन्थें । जहाँ, कानुन बनाउने, त्यसको व्याख्या गर्ने र विवाद समाधान गर्ने काम हुन्थ्यों ।

१२१५ मा  इङल्यान्डका सामन्तहरुले राजा जोनलाई कब्जामा लिएर म्याग्ना कार्टाको सन्धीमा हस्ताक्षर गर्न बाध्य तुल्याए । यस सन्धीले शाही अधिकारलाई सिमित गरिदिएको थियो । त्यस्तै, कर र कानुनका विषयमा साझा भेलाले निर्णय गर्नुपर्ने व्यवस्था बनाइयो । यसले भविष्यका लागि संसदीय प्रणालीसहितको संवैधानिक राजतन्त्रको जग बसालेको थियो ।  यद्यपी, राजाहरुले सन्धीलाई पटक–पटक कुल्चेका कारण १६४९ मा बेलायतका जनताले राजतन्त्र नै फालिदिए ।

राजा चाल्र्सलाई यसबेला झुन्ड्याइएको थियो । ११ वर्षपछि छोरा चाल्र्स दोस्रोलाई फेरि राजगद्दीमा ल्याएर राखियो । त्यसपछि पनि राजा र संसद्बीचको द्वन्द्व समाप्त भएन । परिणामस्वरुप, १६८९ मा राजा जेम्स दोस्रोलाई गद्दीच्युत गर्दै गौरवशाली क्रान्ति सम्पन्न गरेर ‘बिल अफ राइट्स’ पारित गरियो । जसले संवैधानिक राजतन्त्रसहितको संसदीय प्रणाली विकास ग¥यो । 

युरोपमा १८ औं शताब्दीसम्म पनि राज्यले नागरिकलाई उसको सामाजिक र आर्थिक हैसियत हेरेर व्यवहार गर्ने गरेको थियो । यसको ज्वलन्त उदाहरणका रूपमा राज्यक्रान्ति अघिको फ्रान्सको चुनावलाई लिन सकिन्छ । जहाँ, तीन सदनमध्ये पहिले सदनमा धर्मगुरु, दोस्रो सदनमा कुलीन र तेस्रो सदनमा आम मानिसको प्रतिनिधित्व  थियो ।

झन्डै ९७ प्रतिशत किसान र आम जनता भएको देशमा संख्यात्मक रुपमा तेस्रो सदनमा प्रतिनिधि धेरै हुनु स्वभाविक नै थियो । तर, मतभार हरेक सदनलाई एक–एक नै दिइएको थियो । राजाले प्राय; धर्मगुरु र कुलीनसँग परामर्श गरेर नै योजना सदनमा ल्याउथें र त्यसमा तेस्रो सदन विपक्षमै रहेपनि २ः १ अंकले निर्णय गराउँथे । युरोपका अन्य देशमा पनि अवस्था लगभग यस्तै थियो । 

फ्रान्सेली क्रान्तिले यो अवस्था उल्ट्याउँदै सबैलाई समान अधिकार दिलाएको थियो । १७८९ मा क्रान्ति सफल भएपछि हैसियत नभएर संख्या अर्थात प्रतिनिधित्वको आधारमा मतभार तय गरियो । जन्मका आधारमा सबै मानिस समान हुन्छन् भन्ने मान्यता गरेको यस क्रान्तिले कुलीनको हातबाट राज्यसत्तालाई मध्यमवर्गको हातमा ल्याएको थियो । १७९४ मा दासप्रथा अन्त्य भयो । 

तर क्रान्ति व्यवस्थापनमा देखिएको असफलता र तानाशाहका रुपमा नेपोलियनको उदयले क्रान्तिको मर्म पूरा हुन दिएन । परिणाम, यति ठूलो उथलपुथलपछि पनि महिला र समाजका पिछडिएका वर्गको मताधिकार सुनिश्चित हुन सकेन ।

आधुनिक मताधिकार 

आधुनिक युगमा निश्चित उमेर पुगेका नागरिकले भयरहित ढंगले आफ्नो स्वविवेक प्रयोग गर्न पाउने अवस्थालाई मात्रै निष्पक्ष निर्वाचन भनिन्छ ।

वयस्क उमेरका सबै लिंग, जाति, धर्म, सामाजिक हैसियत भएकाहरुले मत खसाल्न पाउँछन् । निश्चित समयमा कानुनी मापदण्ड अनुसार निर्वाचन गरिन्छ र प्रतिनिधिहरु चयन हुन्छन् । मतदान प्रायः गोप्य हुन्छ । प्रत्यक्ष निर्वाचन, अप्रत्यक्ष निर्वाचन, समानुपातिक प्रतिनिधित्व, बहुमतीय प्रणालीलगायत विविध विधिहरु प्रयोगमा ल्याइएको भएपनि जनमतको कदर नै निर्वाचनको मुख्य विशेषता हो ।   

पछिल्ला तीन शताब्दीमा निर्वाचन प्रणालीलाई सहभागितामुलक र प्रभावकारी बनाउनका लागि विश्वमा धेरै प्रयोगहरु भएका छन् ।

१८६५ मा दास प्रथा अन्त्य गरेको अमेरिकाले त्यसको ५ वर्षपछि संविधानमा १५ औं संशोधन गर्दै अफ्रिकी–अमेरिकी मुलका मानिस (पूर्व दास) लाई पनि मतदान गर्न दिने कानुन ल्यायो । यद्यपी, २० औं शताब्दीसम्म पनि धेरै राज्यमा यो कानुन कार्यान्वयनमा आउन सकेन । 

१८९३ मा न्युजिल्यान्डका महिलाले पहिलोपटक राष्ट्रिय निर्वाचनमा मत खसाले । अस्ट्रेलियाले  १९०२, बेलायतले १९१८ र अमेरिकाले १९२० मा आएर मात्रै  महिलालाई यस्तो अधिकार दिए । १९४८ मा मानवअधिकारको विश्वव्यापी घोषणाले सबै वयस्कलाई सरकारमा सहभागी हुने अधिकार रहेको ठहर गर्यो‍ । यसपछि तेस्रो विश्वका देशहरुले पनि महिलालाई मताधिकार दिन थाले  ।

सन् १९६९ मा बेलायतले मतदान गर्ने उमेरलाई २१ बाट १८ मा झार्‍यो । एक वर्षपछि अमेरिका र त्यसपछि अन्य धेरै देशले यो निर्णयलाई पछ्याए । १९७० र ८० को दशकमा एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका धेरैले देशले निर्वाचन प्रक्रिया सुधार गर्दै सबैलाई मतदान गर्ने अधिकार दिए । 

आज, लोकतन्त्रलाई जीवित राख्ने प्राणवायुका रुपमा निर्वाचनलाई लिइन्छ । तर धाँधली, पैसा र शक्तिको प्रभाव, तथा राज्यसत्ताको दुरुपयोगजस्ता अभ्यासहरूले मतदान प्रक्रियाको निष्पक्षता र समग्र लोकतान्त्रिक संरचनामै गम्भीर चुनौती प्रस्तुत गरिरहेका छन्।

संसदीय निर्वाचन प्रणालीका आलोचकहरूले यसलाई अत्यधिक सुधारवादी तर संरचनागत रूपान्तरण गर्न असक्षम व्यवस्था भएको आरोप लगाउने सिलसिला लामै समयदेखि जारी छ ।

पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल र कृत्रिम बौद्धिकताको तीव्र प्रयोगले निर्वाचन प्रक्रियालाई अझ जटिल र विवादास्पद बनाएको छ ।  तमाम कमजोरीका बाबजुद  प्रश्‍नको सामना गर्ने क्षमता,  गल्तीको स्विकारोक्ति,  खोज र सुधारको प्रकिया नै साँचो लोकतन्‍त्रको विशेषता हो ।

अन्वेषण

Link copied successfully