सार्वजनिक फाइलहरूमा अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन, बेलायती शाही परिवारका सदस्य एन्ड्र्यु माउन्टब्याटन–विन्डसर, मिक जगर र माइकल ज्याक्सनजस्ता प्रसिद्ध व्यक्तिहरूको नाम वा तस्बिर देखिएको छ।
What you should know
काठमाडौँ — अमेरिकाको न्याय विभागले कुख्यात यौन दुराचारी जेफ्री इप्स्टेनसँग सम्बन्धित कागजात सार्वजनिक गरेको छ ।
केही समयअघि मात्रै राष्ट्रपति डोनाल्ड ट्रम्पले यी फाइल सार्वजनिक गर्ने अनुमति दिएका थिए । सार्वजनिक गरिएका फाइलहरूमा अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन, बेलायती शाही परिवारका सदस्य एन्ड्र्यु माउन्टब्याटन–विन्डसर, मिक जगर र माइकल ज्याक्सनजस्ता प्रसिद्ध व्यक्तिहरूको नाम वा तस्बिर देखिएको छ।
यसअघि पनि धेरै व्यक्तिहरूको नाम इप्स्टेन प्रकरणमा जोडिएको थियो । तर उनीहरूले इप्स्टेनसँग मिलेर कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन् ।
व्यवसायी जेफ्री इप्स्टेनको सन् २०१९ मा जेलमै शंकास्पद मृत्यु भएको थियो । उनले क्यारेबिया समुद्र आसपास आलिसान रिसोर्टहरु सञ्चालन गर्ने र त्यहाँ किशोरीहरुलाई लगेर धनाढ्यहरुको सेवा गर्न लगाउने गरेको आरोप छ ।
यस क्रममा यौन दुर्व्यवहार भएको गुनासो किशोरीहरुले गरेका छन् । बेलायतका अधिराजकुमार एन्ड्रयुले इप्स्टेनसँगको आफ्नो सम्बन्धलाई लिएर विवाद भएपछि दरबार छाड्ने निर्णय गरिसकेका छन् । यस्ता धेरै हाइप्रोफाइल व्यक्ति, राजनीतिज्ञ तथा व्यवसायी यस प्रकरणमा जोडिएका छन् ।
विगतमा इप्स्टेनसँग ट्रम्पको पनि सम्बन्ध रहेको आरोप लाग्दै आएको छ । यसअघि लिक भएका इप्स्टेनका इमेलमा ट्रम्पको नाम पनि उल्लेख थियो । इप्स्टेनले तेस्रो पक्षसँग कुराकानी गर्दा ट्रम्पको नाम थिए ।
तर सिधा रूपमा ट्रम्प र इप्स्टेनको सम्बन्ध स्थापित हुने कुनै कागज भेटिएको छैन । सार्वजनिक नयाँ फाइलमा अहिलेसम्म ट्रम्पको नाम र फोटो नदेखिएको बीबीसीले जनाएको छ ।
