गाजा युद्धविरामलाई दोस्रो चरणमा लैजाने प्रयासस्वरूप शुक्रबार राति यस्तो छलफल हुन लागेको हो ।
काठमाडौँ — प्यालेस्टाइनको गाजामा शान्ति कायम गर्ने विषयमा अमेरिकाको पहलमा कतार, इजिप्ट र टर्कीका प्रतिनिधिसहित छलफल हुने भएको छ । गाजा युद्धविरामलाई दोस्रो चरणमा लैजाने प्रयासस्वरूप शुक्रबार राति यस्तो छलफल हुन लागेको हो ।
गाजामा युद्ध अन्त्यका लागि हमास र इजरायलबीच सम्झौता भए पनि इजरायलले यसलाई निरन्तर उल्लंघन गर्दै आएको छ ।
अमेरिकाले फ्लोरिडाको मियामीमा आफ्ना मध्यपूर्व दूत स्टिभ विटकफको नेतृत्वमा छलफल आयोजना गर्न लागेको हो । यस छलफलमा कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी, टर्कीका विदेशमन्त्री हाकान फिदान र इजिप्टका विदेशमन्त्री बदर अब्देलाट्टी सहभागी हुनेछन् ।
इजरायल र हमासबीच १० अक्टोबरमा अमेरिकाको मध्यस्थतामा युद्धविराम सम्झौतामा हस्ताक्षर भएको थियो । अमेरिकाले युद्धविराम कायम रहेको दाबी गरे पनि इजरायलले गाजामा आक्रमण जारी राखेको छ ।
