प्रहरी अधिकारीका अनुसार १० डिसेम्बरको राति बालबच्चा सुतेका बेला मध्यराति फारुकले चियाको बहानामा पत्नीलाई उठाएका थिए । जब पत्नी उठेर आगनमा आइन्, तब फारुकले गोली हानी हत्या गरे ।
What you should know
काठमाडौँ — उत्तर प्रदेशमा बुर्का नलगाएको भन्दै श्रीमती र दुई छोरीको हत्याको घटनाले यतिबेला भारतमा चर्चा भइरहेको छ । यस विषयमा उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकले दुख व्यक्त गर्दै हत्याराविरुद्ध कडाभन्दा कडा कारबाही हुने बताएका छन् ।
उत्तर प्रदेशको शामलीमा बुधबार एक व्यक्तिले ‘बुर्का’ नलगाएको भन्दै पत्नीलाई गोली हानी हत्या गरेका थिए । उक्त घटना लुकाउनका लागि दुई छोरीको पनि हत्या गरेको शामलीका एसएसपी एनपी सिंहले अन्तर्राष्ट्रिय सञ्चार संस्था बीबीसीसँग बताएका छन् ।
प्रहरी अधिकारीका अनुसार अभियुक्तले पत्नीको हत्या लुकाउनका लागि दुई छोरीको पनि हत्या गरेको र तीनवटै शवलाई आफ्नै घरमा गाडेका थिए । प्रहरीका अनुसार फारुक नाम गरेका ती व्यक्तिका पाँच बच्चा थिए, तीन छोरी र दुई छोरा ।
एसएसपी एनपी सिंहले भने, ‘फारुककी पत्नी एक महिनाअघि माइती जानका लागि केही रकम मागिरहेकी थिएन् । यसलाई लिएर विवाद भएपछि उनी बुर्का नलगाएरै माइतीमा गइन् । जस कारण फारुकलाई पत्नीले आफ्नो इज्जत नगरेको अनुभव भयो । त्यसपछि नै उनले पत्नीको हत्याको योजना बनाएको देखिन्छ ।’
प्रहरी अधिकारीका अनुसार १० डिसेम्बरको राति बालबच्चा सुतेका बेला मध्यराति फारुकले चियाको बहानामा पत्नीलाई उठाएका थिए । जब पत्नी उठेर आगनमा आइन्, तब फारुकले गोली हानी हत्या गरे ।
घटनाको अनुसन्धानको नेतृत्व गरिरहेका एसएसपी सिंहले न्युज एजेन्सी एएनआईसँगको कुराकानीमा भने, ‘गोलीको आवाज सुनेर १४ वर्षीया छोरी बाहिर बइन् । फारुकले उनलाई पनि गोली हाने । त्यसपछि ६ वर्षीया छोरी पनि बाहिर आइन् । फारुकले उसको पनि गोली हानेर हत्या गरे ।’
