अस्ट्रेलियाको बोन्डाइ तटमा गोली चलाउनेमाथि ५९ वटा अभियोगमा मुद्दा  दायर

१४ डिसेम्बरमा हनुक्का महोत्सवको पहिलो रातका दौरान गोली चल्दा एक आक्रमणकारीसहित १६ जनाको ज्यान गएको थियो ।

पुस २, २०८२

कान्तिपुर संवाददाता

Australia's Bondi Beach shooter charged with 59 charges

एजेन्सी — सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ ।

न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् ।

यसबाहेक आतङ्कवादी गतिविधि गरेको, हतियारबाट गोली चलाएको, विस्फोटक पदार्थ राखेको र सार्वजनिक रूपमा आतङ्कवादी संगठनको चिन्ह प्रदर्शन गरेको अभियोग लगाइएको छ ।

१४ डिसेम्बरमा हनुक्का महोत्सवको पहिलो रातका दौरान गोली चलेको थियो । एक आक्रमणकारीसहित  १६ जनाको ज्यान गएको थियो ।

बाबु-छोरा साजिद अकरम र नविद अकरमले गोली चलाएको सीसीटीभी फुटेजमा देखिन्छ । त्यसमध्ये ५० वर्षका साजिदको घटनास्थलमै प्रहरीको गोली प्रहारबाट मृत्यु भएको थियो ।

छोरा नविदलाई प्रहरीले पक्राउ गरेर अस्पताल लगेको थियो । अहिले उनको उपचार भइरहेको छ । उपचारपछि मात्रै उनको बयान लिइने प्रहरीले जनाएको छ । अदालती प्रक्रिया अप्रिलसम्मका लागि सारिएको छ ।

यो घटना सन् १९९६ पछि अष्ट्रेलियामा भएको सबैभन्दा ठूलो सामूहिक गोलीकाण्ड हो ।

कान्तिपुर

Link copied successfully