शनिबार अज्ञात बन्दूकधारीले गोली चलाउँदा दुईजना विद्यार्थीको मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए
काठमाडौँ — अमेरिकाको रोड आइल्यान्डस्थित ब्राउन युनिभर्सिटीमा भएको गोली प्रहारको घटनामा शंकास्पद ठानिएका एक व्यक्तिको भिडियो फुटेज अधिकारीहरुले सार्वजनिक गरेका छन् ।
कालो पोशाक लगाएका एक मानिस भवनबाट पैदलै हिडिंरहेको भिडियोमा देखिन्छ ।
शनिबार अज्ञात बन्दूकधारीले गोली चलाउँदा दुईजना विद्यार्थीको मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए । अधिकारीहरुले कक्षाकोठाभित्र गोली प्रहार भएको जनाएका छन् । बन्दूकधारीको खोजी चलिरहेको छ ।
यसअघि प्रहरीले घटनालगत्तै एक व्यक्तिलाई पक्राउ गरेको थियो । तर घटनामा ती व्यक्तिको कुनै संलग्नता नदेखिएपछि उनलाई छाडियो ।
एकै वर्ष ३ सय ८९ गोली प्रहारका घटना
अमेरिकामा वर्ष २०२५ मा ३ सय ८९ वटा सामुहिक गोली प्रहारका घटना घटेका छन् । गन भ्वाईलेन्स अर्काइभ (जिभिए) को अनुसन्धानले यस्तो देखाएको हो ।
चार वा त्यसभन्दा बढी मानिस घाइते वा मृत्यु भएको अवस्थालाई यसले सामुहिक गोली प्रहारको घटनाका रुपमा व्याख्या गरेको छ । ब्राउन विश्वविद्यालयमा मारिएका दुई व्यक्तिको संख्या समेत जोड्दा ३ सय ४६ जना व्यक्ति यस वर्ष गोली प्रहारको घटनाबाट मारिएको जिभिएको आँकडाले जनाएको छ ।
१८ सय जनाभन्दा धेरै घाइते रहेको पनि यस अनुसन्धानले देखाएको छ ।
