दमास्कसमा सत्तापलटको एक वर्ष पूरा भएकाे अवसरमा राष्ट्रिय झन्डा बोकेर उत्सव मनाउन ठूलो भीड जम्मा भयो । यहाँ विगत एक वर्षदेखि हेलिकोप्टरबाट खसेको बम–बारुदले ज्यान जाने पीर छैन । निर्धक्क बाँच्न पाउनु आफैंमा एक उत्सव हो ।
What you should know
काठमाडौँ — ठिक एक वर्षअघि । ८ डिसेम्बर २०२४, विद्रोहीहरु मार्चपास गर्दै दमास्कसतर्फ अघि बढे । हायात तारिर अल साम (एचटिएस) समुहका अहमद अल साराले यस भीडको नेतृत्व गरेका थिए ।
राष्ट्रिय सेनासँग उनीहरुलाई रोक्नसक्ने सामर्थ्य नै थिएन । २७ नोभेम्बरमा इदलिबस्थित आधार इलाकाबाट एचटिएस विद्रोहीहरुले निर्णायक आन्दोलन थालेयता नै सेना रक्षात्मक हुँदै गएको थियो ।
एलिप्पोमा नोभेम्बरको अन्त्यमा असदको सत्ताले विद्रोहीहरुलाई कमजोर बनाउन विमानस्थल र मुख्य सडकहरु बन्द गरेर सर्च अपरेशन चलाउने असफल प्रयास गरेको थियो । तर, प्रतिरोधमा जनसागर ओर्लिएपछि सत्ताको दिनगन्ती सुरु भयो ।
अन्ततः होम्स हुँदै दमास्कसमा पुगेर विद्रोहीले विजयी झन्डा फर्फराए । ‘दुष्ट असद अपदस्थ भइसकेका छन्,’ विद्रोहीहरुले घोषणा गरे । आक्रोशित भीडले सोधिरहेको थियो : असद कहाँ छन् ?? त्यसको जवाफ उत्तर रुसी समाचार एजेन्सीले केहीबेरमै दियो । ‘बसर अल असद र उनको परिवार रुसमा सकुशल आइपुगेका छन् । रुस सरकारले उनीलाई शरण दिने निर्णय गरेको थियो ।’
भीडले असदको पुत्ला जलायो । उनको नाममा ठड्याइएका शालिकहरु फोड्यो र केही स्थानलाई जलाएर खरानी बनायो । रिसको झोंकमा १० डिसेम्बरमा विद्रोहीहरुले असदका बाबु तथा पूर्व राष्ट्रपति हाफिज अल असदको चिहानमा आगो लगाइदिए ।
बसर अल असद सामान्य राष्ट्रपति थिएनन्, सिरियामा ३ दशक सत्ता चलाएका हाफिज अल असदका उत्तराधिकारी थिए । उनीसँग अरब सोशलिस्ट बाथ पार्टी- सिरियाको विरासत र असद परिवारको ५३ वर्षे सत्ताको इतिहास जोडिएको थियो ।
सैनिक ‘कु’ र हाफिजको उदय ?
सन् १९६३ मा सैनिक ‘कु’ मार्फत बाथ पार्टी सत्तामा आएको थियो । सैनिक सेवामा रहेर गोप्य रुपमा बाथ पार्टीलाई सहयोग गरिरहेका (जसलाई बाथ पार्टीको सैन्य कमिटी समेत भनिन्थ्यों) अफिसरहरुको षड्यन्त्रमा यस्तो योजना बनेको थियो । बसरका बाबु हाफिज योजनाकारमध्ये एक थिए । ‘कु’ लगत्तै उनलाई बाथ पार्टीले सिरियाली एयर फोर्सको प्रमुख बनायो ।
पार्टीमा शक्ति–संघर्ष सुरु भइसकेको थियो । त्यहीक्रममा सलाह जदिदको नेतृत्वमा अतिवादीहरुले सन् १९६६ मा अर्को ‘कु’ रचेर प्रधानमन्त्री तथा सेनाप्रमुख अमिन अल हाफिजलाई सत्ताच्युत गरे । यतिबेला हाफिज तटस्थ बसेका थिए । उनले चार वर्षपछि अर्को सैनिक विद्रोह गरे । अनि, आफैं राष्ट्रपति बने ।
आफ्ना बफादार र नातेदारलाई राज्यका मुख्य निकायमा नियुक्ती दिए । विपक्षीहरुलाई निर्मम दमन गरे । अब ‘बाथ समाजवादी व्यवस्था’ असद व्यवस्थामा रुपान्तरण भइसकेको थियो । न्यायालय र राज्यका सबै निकायहरुलाई कठपुतलीजस्तो बनाइयो ।
शितयुद्धताका सोभियत युनियनको धुव्रमा रहेका हाफिजले पूर्वी युरोपमा तेल बेचेर कमाएको पैसालाई देशको औद्योगिक विकासमा लगाएका थिए । सन् १९६३ मा राष्ट्रियकरण भएका उद्योगधन्दामा लगानी बढाउने र पूर्वाधार निर्माणलाई रफ्तार दिने कार्य हाफिजले गरे ।
१९८० को दशकसम्म आइपुग्दा सिरियाको अर्थतन्त्र सुधार हुँदै थियो । जसको प्रत्यक्ष प्रभाव मानिसहरुले दैनिक जीवनमा महसुस गर्न थालेका थिए । तर, राजनीतिक स्वतन्त्रता कम थियो । त्यसको विरोधमा विभिन्न ठाउँमा प्रदर्शन भए ।
सन् १९८२ मा राजधानी नजिकको हमा शहरमा भएको आन्दोलन सबैभन्दा ठूलो थियो । त्यसलाई नियन्त्रण लिने क्रममा सेनाले झन्डै १० हजारदेखि ४० हजारजनालाई मार्यो । सेनाले शहरभर बम फालेको थियो । यस दमनको लक्ष्य देशभरका विरोधका स्वरहरुलाई चेतावनी दिएर दबाउनु थियो ।
डर, धम्की र हिंसाकै बलमा हाफिजले बाँचुन्जेल शासन गरे । तेलको प्रचुरता भएपनि सिरिया कहिल्यै अन्य खाडी राष्ट्रजस्तो धनी भएन । तर, पनि सन् १९९० र २००० को दशकमा अर्थतन्त्र स्थिर नै रह्यो ।
हाफिजको कार्यकालमा पाँचपटक चुनाव भयो । ती सबै देखावटी थिए । विभिन्न झन्झटिला प्रावधान राखेर विपक्षीहरुलाई चुनाव लड्न निषेध गरिएकाले उम्मेदवार उनी एक्लै हुन्थें ।
बसरको उदय
सन् २००० मा हाफिजको निधनपछि छोरा बसरको हातमा सिरियाको शासनसत्ता आइपुग्यो । एउटा अनपेक्षित घटनाक्रमले यस्तो अवस्था सिर्जना गरेको थियो । हाफिजले जेठा छोरा बसिललाई उत्तराधिकारी तोकेर लामो समयदेखि राजनीतिमा संलग्न गराएका थिए । लण्डनमा नेत्र चिकित्सा पढिरहेका कान्छा छोरा बसरकोे लक्ष्य आफ्नो देश फर्किएर गरिबहरुलाई सेवा गर्नु थियो ।
तर, १९९६ मा दमास्कसमा कार दुर्घटनामा परेर बासिलको निधन भयाे । त्यसपछि हाफिजले बसरलाई लण्डनबाट फिर्ता बोलाएर राजनीतिमा लगाए ।
सन् २००० र सन् २००७ को राष्ट्रपतीय चुनावमा बसर एक्लो उम्मेदवार थिए । तर, सन् २०१० को अन्त्यमा अरब क्षेत्रमा चलेको एक्साइसौं शताब्दीकै सबैभन्दा ठूलो क्रान्तिको उभारबाट सिरिया अछुतो रहन सकेन । यस क्रान्तिले इजिप्ट, ट्युनिसिया, लिबिया र यमनमा सत्ता परिवर्तन भएको थियो ।
बाबुको विरासतका रुपमा मिलेको सत्ताबाट च्युत हुन चाहदैंन थिए, बसर अल असद । उनले क्रान्तिमा ठूलो.दमन गरे । पश्चिमा देशहरुले उनको सत्ताले विद्रोहीमाथि केमिकल हतियार प्रयोग गरेको आरोप समेत लगाएका छन् । यस दमनसँगै जनतासँगको सत्ता र जनता एकअर्कोका दुश्मन बने ।
सन् २०१४ ताका आइपुग्दा ईस्लामिक कट्टरपन्थी संगठन (आईएसआईएसले झन्डै ४० प्रतिशत सिरियाली भूभाग कब्जा जमाइसकेको थियो । त्यस्तै, कुर्दिस फौजले १० प्रतिशत तथा अन्य विद्रोहीहरुले १५ प्रतिशत भूभाग कब्जा गरेका थिए ।
सिरियामा आईएसआईएससँग भिड्न भन्दै पहिले अमेरिकाले त्यहाँका विभिन्न विद्रोहीहरुलाई सहयोग गर्यो । आईएसआईएसको नाम दिइएपनि उनीहरुले असद सत्तालाई पनि चुनौती दिइरहेका थिए । त्यस्तै, अमेरिकाले हवाई हमला पनि गर्यो । यसमा टर्की, बेलायतलगायत नाटोका अन्य सदस्य राष्ट्र पनि सहभागी थिए ।
यी सबै गतिविधिले असदको सत्ता कमजोर हुने देखेर रुसले पनि २०१४ मा यहाँ हवाई हमला सुरु गर्यो । असदको सत्तालाई जोगाउन उसले सैनिक सामाग्री तथा हतियार पनि पठायो । यसरी, सिरिया एकाएक अन्तर्राष्ट्रिय शक्ति केन्द्रको शक्ति प्रदर्शन गर्ने थलो बन्यो । यहाँ हरेक देशले आ–आफ्नो स्वार्थको रोटी सेक्न खोजे । प्रत्येक गोलीको मूल्य सिरियाली जनताले चुकाउनुपर्यो ।
लाखौं मानिस मारिए, लाखौं घाइते भए । दशौं लाखले घर छाडे । अवैध बाटो हुँदै युरोपमा शरण खोज्न जानेहरुको भीड बढ्यो । राज्यहिनताको अवस्था बढेसँगै उत्तर अफ्रिका र अरब क्षेत्रका अन्य देशका ड्रग्स तस्करहरुले सिरियाली भूमीलाई ट्रान्जिटका रुपमा प्रयोग गर्न थाले । यहाँ, ड्रग्स भण्डारण गर्ने र युरोपमा सप्लाई गर्ने काममा उनीहरु सक्रिय रहे । राष्ट्रपति असदले नै तस्करहरुलाई संरक्षण दिएको आरोप समेत अमेरिका तथा युरोपेली देशले लगाए ।
मानव तस्करहरुले अवैध बाटो हुँदै मानिसहरुलाई सिरियाली तटहरु प्रयोग गरेर युरोप छिराउन थाले । आप्रवासीहरुको भीड बढेपछि युरोपकै राजनीति प्रभावित बन्यो । आप्रवासनविरुद्ध ‘राष्ट्रवाद’ नारा उछालेर अस्ट्रियामा सेवास्टिन क्रुज, हंगेरीमा भिक्टोर अर्बन, इटलीमा माटियो साल्भिनी, फ्रान्समा मारिन ले पेनलगायत लोकप्रियतावादीले आफ्नो राजनीतिक स्वार्थको रोटी सेके ।
अन्तर्राष्ट्रिय जगत्लाई नै तरंगित तुल्याउने यस्तो विभत्स युद्धमा कति मारिए ? जवाफ सबैसँग फरक–फरक छ । संयुक्त राष्ट्रसंघको अनुमानअनुसार २०११ यता १० वर्ष अवधिमा ३ लाखभन्दा धेरै सर्वसाधारण मारिएका छन् । राष्ट्रसंघका अनुसार यहाँ युद्ध अवधिमा दैनिक १८ बालबालिकासहित ८३ जनाको ज्यान जाने गरेको थियो ।
युद्धका असरले मारिएका (अप्रत्यक्ष मृत्यु ) र विद्रोही तथा सत्तापक्षका सैनिकहरुको संख्या यसमा समावेश छैन । सैनिक तथा विद्रोही समेत जोडेर ६ लाख ५० हजारभन्दा धेरैको मृत्यु भएको आँकडा विभिन्न संस्थाका अध्ययन प्रतिवेदनले अघि सारेका छन् ।
मार्च २०११ यता १ लाखभन्दा धेरै मानिस बेपत्ता भएको सिरियाली नेटवर्क फर ह्युमन राइट्सले जनाएको छ । एक महिनाभन्दा लामो समयदेखि परिवारलाई कुनै सुचना वा खबर प्राप्त नभएका व्यक्ति नेटवर्कको बेपत्ता सुचीमा छन् । असदको सत्ताले सर्वसाधारणलाई मारेपछि उनीहरुको शव लुकाउन सामुहिक चिहान खन्ने गरेको थियो ।
इन्टरनेशनल कमिशन अन मिसिङ पर्शन ( आसिएनपी) का अनुसार सिरियामा कम्तिमा यस्ता ७१ वटा चिहान पहिचान गरिएका छन् । दमास्कसबाट ३७ किलोमिटर उत्तरतर्फको अल क्वातेफास्थित एक चिहानमा कम्तिमा १ लाख मानिसको शव गाडिएको प्रारम्भिक अनुमान अनुसन्धानकर्ताहरुले लगाएका थिए । सरकारी निकायले चरम यातना दिएर मारेकाहरुलाई यसरी गोप्य ढंगले गाड्ने गरेको मानवअधिकारकर्मीहरु बताउँछन् ।
८ डिसेम्बर २०२५ (सत्तापलटको पहिलो वर्ष पूरा)
सिरियाको राजधानी दमास्कसमाथि आकाशमा निरन्तर केही पड्किरहेको छ । सर्वसाधारणले असदको सत्ता ढलेको पहिलो वर्षगाँठ बनाउने क्रममा पटाका पड्काएका हुन् । उनीहरु राष्ट्रिय झन्डा बोकेर उत्सव मनाउन आएका हुन् । पछिल्लो एक वर्ष उनीहरुलाई हेलिकोप्टरबाट खसेको बम–बारुदले ज्यान जाने पीर छैन । स्वास्थ्य संस्थाहरुमा रुसले हवाई हमला गर्ने चिन्ता पनि अब रहेन । सिरियामा निर्धक्क बाँच्न पाउनु आफैंमा एक उत्सव हो ।
राष्ट्रपति अहमद अल साराले दमास्कसस्थित उमैयद मस्जिदमा आयोजित कार्यक्रममा सबैलाई समेटेर बलियो र न्यायपूर्ण सिरिया निर्माण गरिने बताएका छन् । उनले खरानी भइसकेको देशलाई फेरि पुनर्निर्माणको प्रक्रियामा लैजान सबैको साथ आवश्यक पर्ने बताए ।
तर, सिरियामा विभिन्न पक्षबीच झडप जारी नै रहेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले जनाएको छ । विशेषगरी विगत असदको सत्तासँग निकट रहेका परिवारलाई विभिन्न आरोप लगाएर निशाना बनाउने क्रम जारी छ ।१४ वर्षे लामो गृहयुद्धको घाउ एकैपटक समाप्त हुने अनुमान पनि गर्न सकिदैंन । कुर्दिस र द्रुजी अल्पसंख्यकहरु अझै विद्रोहमै छन् । यस परिस्थितीलाई सम्हालेर अघि बढ्नुपर्ने चुनौती सिरियाको वर्तमान सरकारसामु छ ।
यस्तो अवस्था रोक्नका लागि संक्रमणकालीन न्याय प्रक्रियालाई निष्पक्ष ढंगले चाडैंं टुंग्याउनुपर्ने र गृहयुद्धका दौरान गम्भीर अपराधमा संलग्न सबै पक्षहरुलाई कठघरामा उभ्याइनुपर्ने विज्ञहरु बताउँछन् ।
गत मेइमा सरकारले बेत्तपाको खोजी र गृहयुद्धका दौरान भएका अपराधको छानविनका लागि दुई अलग–अलग स्वतन्त्र आयोग बनाउने निर्णय गरेको थियो ।
यसमध्ये बेपत्ताहरुको खोजी कार्यले गति लिएको भएपनि अपराधको छानविन ढिला भइरहेको वासिङटनस्थित स्वतन्त्र अनुगमन संस्था ‘सिरिया जस्टिस एन्ड एकाउन्टेबिलिटी सेन्टर’ को विश्लेषण छ । आयोगलाई केन्द्र सरकारले पर्याप्त सहयोग नगर्दा अपराधका घटनामा स्वतन्त्र अनुसन्धान हुन नसकेको यस संस्थाको ठहर छ ।
ह्युमन राइट्स वाच (एचआरडब्ल्यु) जस्ता समुहले पनि सिरियाको राष्ट्रिय संक्रमणकालीन न्यायिक आयोगले गरेका कारबाहीको निष्पक्षतामा प्रश्न उठाएका छन् ।
असद सरकारले गरेका अपराधलाई आयोगले उजागर गरेपनि एचटिएस (अहिलेको सत्ताधारी ) र उसका सहयोगीहरुले गृहयुद्धताका गरेका अपराधलाई नजरअन्दाज गरेको आरोप एचआरडब्ल्युले लगाएको छ ।
सिरियाले यसै वर्ष संसदीय चुनाव गरेको छ । तुलनात्मक रुपमा यो निष्पक्ष रह्यो । तर,प्रत्यक्ष थिएन । इलेक्टोरल कलेजमार्फत सांसद्को चयन गरिने व्यवस्था गरिएको थियो । अर्कोतर्फ, राष्ट्रपति अल सारा नयाँ संविधान निर्माण नभएसम्म अन्तरिम रुपमा पदमै रहने पनि तय छ ।
नयाँ संविधानको मस्यौदा तयार गर्न यतिबेला राष्ट्रिय स्तरमा बहस तथा संवाद चलिरहेको छ । तर, अन्तरिम सरकारप्रति देशका सबै समुदाय खुसी छैनन् । राष्ट्रपति अल साराले शक्ति केन्द्रीत गर्दै गएको र तानाशाह बन्ने संकेत देखाएको भन्दै आलोचना पनि भइरहेको छ ।
परराष्ट्र नीति
परराष्ट्र नीतिमा सबैभन्दा ठूलो बदलाव देखिएको छ । अन्तर्राष्ट्रिय जगत्मा सिरिया पहिलेजस्तो (असद कार्यकालजस्तो) एक्लो छैन । अरब क्षेत्रका देश तथा पश्चिमा देशहरुले पनि सिरियाको पुनर्निर्माणमा साथ दिने बताउँदै आएका छन् ।
कुनै समय बन्द रहेका दूतावासहरु धमाधम खुल्न थालेका छन् । राष्ट्रपति अल सारा र अन्य धेरै नेताहरुले विश्व मञ्चमा उपस्थित भएर सिरियाका समस्या राखिरहेका छन् । अलकायदासँग सम्बन्ध छँदा अन्तर्राष्ट्रिय शक्तिहरुले अल सारासहित अहिलेका एचटिएसका धेरै नेताहरुलाई आतंकवादीको सुचीमा राखेका थिए ।
अमेरिकाले अल साराको टाउकोको मूल्य १ करोड डलर तोकेको थियो । २८ जुन २०१६ मा अलकायदासँग आफ्नो कुनै सम्बन्ध नरहेको सार्वजनिक घोषणा अल साराले गरेका थिए । त्यसको ८ वर्षपछि सिरियामा विद्रोह सफल बनाएर राष्ट्रपति बनेका उनी अहिले वैश्विक मञ्चहरुमा प्रभावशाली उपस्थित जमाउन सफल भएका छन् ।
उनले गत महिना संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरे । त्यसपछि ह्वाइट हाउस भ्रमण गर्ने सन् १९४६ पछिका पहिलो सिरियाली नेता बने ।
सिरियाली अधिकारीहरुले रुस र चीनसहित संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का पाँचवटै स्थायी सदस्य राष्ट्रसँग भेट गरिसकेका छन् । सिरियाली विदेश नीति व्यवहारिक बन्दै गएको पनि यसले देखाउँछ ।
विगतमा रुस असदको सहयोगी थियो र उसले संभवतः अल सारा र उनका राजनीतिक सहयोद्धाहरुलाई निशाना बनाएको थियो । तर, परिपक्व कुटनीतिमा विगतका विषयभन्दा भविष्यका एजेन्डा प्रमुख हुन्छ ।
‘मानिसहरु भन्छन् उनको विगत खराब छ । हामी सबैको विगत खराब हुन्छ । र, विगत खराब नभई मौका आउँदैन,’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सारासँग ह्वाइटहाउसमा भेट गरेपछि भनेका थिए, ‘हामी सिरिया सफल देश भएको हेर्न चाहन्छौं । र, यसको नेतृत्व गर्न उनी सक्षम छन् । उनी निकै बलिया छन् ।’
अहिले सिरियाको सबैभन्दा ठूलो चिन्ता, आफ्नो सीमा क्षेत्रमा इजरायली सेनाको बढ्दो घुसपैठ हो । ‘इजरायली सेनाको अपरेशनले सर्वसाधारणलाई खतरामा पारेको छ । क्षेत्रीय तनाव बढाएको छ । सिरियाको विभाजित सुरक्षा अवस्थालाई नजरअन्दाज गरेको छ र राजनीतिक संक्रमणमा चुनौती थपिदिएको छ,’ सिरियाका लागि संयुक्त राष्ट्र संघका विशेष उपदूत नाजाद रोच्दीले गत नोभेम्बरमा भनेका थिए ।
आर्म्ड कन्फ्लिक्ट लोकेशन एन्ड इभेन्ट डाटा ( एसिएलइडी) का अनुसार पछिल्लो एक वर्षमा इजरायलले सिरियाका विभिन्न क्षेत्रमा ६ सयपटक हवाई हमला वा ड्रोन आक्रमण गरिसकेको छ ।
पारिवारीक पुनर्मिलन
युद्धका देश छाडेर हिंडेकाहरु फर्कदैंछन् । पछिल्लो आँकडाअनुसार विदेशिएका १० लाख र आन्तरिक रुपमा बिस्थापित भएका १९ लाख गरेर २९ लाख मानिस थालथलो फर्किएका छन् । तर, गाउँमा बिजु्ली, पानी, पूर्वाधार सबैतिर क्षति पुगिसकेको छ । भग्नावशेषमाझ नयाँ जीवन सिर्जना गर्नुपर्ने चुनौती उनीहरुलाई छ ।
१४ वर्षे लामो युद्धका घाउ बाँकी नै छन् । भत्किएका स्कुल र अस्पताल बनेका छैनन् । इन्टरनेशनल रेस्क्यु कमिटीले गत नोभेम्बरमा सार्वजनिक गरेको एक रिपोर्टअनुसार आधाभन्दा धेरै पानी आपुर्ति सञ्जाल काम नलाग्ने अवस्थामा छ । ८० प्रतिशत विद्युत ग्रिड या त काम गर्नसक्ने अवस्थामा छैनन् वा ध्वस्त छन् ।
बेपत्ता परिवारका सदस्यहरु आफ्ना आफन्त जीवित रहेको वा मृत भएको निक्र्यौल गर्न चाहन्छन् । घाइतेलाई उपचारको खाँचो छ ।
सिरियामा पुनर्निर्माणका लागि २ सय ५० खर्बदेखि ४ सय खर्ब अमेरिकी डलर वा त्यसभन्दा पनि बढी खर्च हुनसक्ने अनुमान लगाइएको छ ।
सुस्त नै भएपनि सुधारका केही काम भएका छन् । अमेरिकी संस्था मर्सी कप्र्सका अनुसार विद्युत उत्पादनमा सुधार भइरहेको छ ।
गत नोभेम्बरमा सिरियाली न्युज एजेन्सी सानाले ८ सय २३ वटा स्कुलहरु पुनर्निर्माण गरिएको जनाएको थियो । त्यस्तै, ८ सय ३८ वटा विद्यालय पुनर्निर्माणको काम चलिरहेको छ ।
रोजगारीको अभाव
घर फर्किएका धेरैले रोजगारी पाएका छैनन् । गृहयुद्धले अर्थतन्त्र थला परेको थियो । आज झन्डै एक चौथाई सिरियालीहरु अति गरिबीमा बाँच्छन् । यी सारा निराशाका बाबजुद २०२५ मा सिरियाली अर्थतन्त्र १ प्रतिशतले बढ्ने अनुमान विश्व बैंकले लगाएको छ ।
असद कार्यकालमा अन्तराष्ट्रिय समुदाय लगाएको नाकाबन्दी स्थायी वा अस्थायी रुपमै भएपनि खुलेको छ । साउदी अरेबिया र कतारजस्ता देशले आर्थिक सहयोग पनि गरिरहेका छन् । उनीहरुले खर्बौ डलर लगानी गर्ने सम्झौता गरिसकेका छन् । यद्यपी, यी सबै कुराको प्रभाव दैनिक जीवनमा देखिन अझै केही समय लाग्नेछ ।
समग्रमा सिरिया अत्यन्तै महत्वपूर्ण समयबाट गुज्रिएको छ । सबै पक्षलाई मिलाएर समाजलाई शान्ति–सुव्यवस्थातर्फ लैजान अवसर एकातर्फ छ । अर्कोतर्फ, साम्प्रदायिक विभाजन बढेर फेरि अर्को युद्ध निम्तने खतरा पनि छ । (एजेन्सीको सहयोगमा )
