जापानमा भूकम्पबाट कम्तिमा ३० जना घाइते

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर १५ मिनेटमा गएको थियो ।

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

At least 30 injured in Japan earthquake

काठमाडौँ — जापानको उत्तरपूर्वी क्षेत्रमा सोबार राति गएको ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तिमा ३० जना घाइते भएका छन् ।

भूकम्पका कारण हजारौं मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । 

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर १५ मिनेटमा गएको थियो । यसको केन्द्र आओमोरी क्षेत्रको तटभन्दा करिब ८० किलोमिटर टाढा जमिनभन्दा ५० किलोमिटर गहिराइमा रहेको थियो । 

भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको थियो, तर अहिले उक्त चेतावनी हटाइएको छ । यद्यपि तटमा ७० सेन्टिमिटर उँचो लहर देखिएको छ । केही रेल सेवा रोकिएका छन् भने हजारौंको घरमा बिजुली गएको छ । 

स्थानीय मिडियाका अनुसार अधिकारीहरुले आगामी दिनमा अझ शक्तिशाली भूकम्प आउनसक्ने चेतावनी दिएका छन् । जसकारण मानिसहरुलाई कम्तिमा पनि एक सातासम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । 

जापानकी प्रधानमन्त्री सनाई तकाइचीले भनिन्, ‘भूकम्पलाई लिएर आफ्नो तयारी फेरि गर्नुहोस् । यदि झट्का महशुस भयो भने तत्काल घरबाट निस्कनका लागि पनि तयार हुनुहोस् ।’ समाचार एजेन्सी रोयटर्सका अनुसार करिब ९० हजार मानिसलाई आफ्नो घरबा निस्किनका लागि निर्देशन दिइएको छ । 

कान्तिपुर

Link copied successfully