शान्ति वार्तामा हस्ताक्षर गर्न जेलेन्स्की तयार छैनन् : ट्रम्प 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अहिलेसम्म् ह्वाइटहाउसको शान्ति योजनालाई सार्वजनिक रुपमा स्विकारिसकेका छैनन्

मंसिर २२, २०८२

कान्तिपुर संवाददाता

Zelensky not ready to sign peace deal: Trump

What you should know

एजेन्सी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदमेर जेलेन्स्की शान्तिवार्ताका लागि इच्छुक नरहेको आरोप लगाएका छन् । अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलबीच मियामीमा तीन दिन चलेको वार्ता शनिबार सम्पन्न भएको थियो । 

वार्तापछि ट्रम्पले शान्ति प्रस्तावमा हस्ताक्षर गर्नका लागि जेलेन्स्की तयार रहेको बताए । अमेरिकाले रुस–युक्रेन युद्ध अन्त्यका लागि लागि निकै मेहिनत गरेको भएपनि जेलेन्स्कीले यसमा साथ नदिएको उनको आरोप छ । 

आइतबार राति पत्रकारहरुसँग कुराकानी गर्दै ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वार्तालाई रोकेर राख्न खोजेको आरोप लगाए । ‘राष्ट्रपति जेलेन्स्कीले अहिलेसम्म प्रस्ताव नै पढेका छैनन् । यसले मलाई थोरै दुखी तुल्याएको छ । उनका जनता शान्ति  प्रस्तावलाई रुचाउँछन् । मेरो बुझाईमा रुसले पनि रुचाउँछ । तर, म विश्वस्त हुन सकिरहेको छैन कि जेलेन्स्की पनि यसलाई रुचाउँछन् । उनी यसका लागि तयार भइसकेका छैनन्  ।’

यता अमेरिकाले राम्रो नियत राखेर शान्ति वार्ताका लागि प्रयास गरिरहेको भन्दै जेलेन्स्कीले सराहना गरेका छन् । युक्रेनले अमेरिकासँग मिलेर काम गर्ने उनले बताएका छन् । युक्रेन सधैं शान्तिको पक्षमा रहेको पनि उनले बताए । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अहिलेसम्म् ह्वाइटहाउसको शान्ति योजनालाई सार्वजनिक रुपमा स्विकारिसकेका छैनन् । गत साता उनले ट्रम्पको प्रस्ताव काम लाग्दो नरहेको समेत बताएका थिए । 

रुस र युक्रेनबीचका पछिल्ला वार्ता प्रयासहरु भूमी र सुरक्षा वातावरणको सवालमा गएर अड्किएका छन् ।  युद्धमा कब्जा गरेका भूभाग आफुसँगै रहनुपर्ने रुसको माग छ । जसलाई युक्रेनले स्विकारेको छैन । नाटोमा सहभागी नहुने प्रतिवद्धता युक्रेनले जनाउनुपर्ने पनि रुसको माग छ । यता, युक्रेनले भविष्यमा रुसबाट आक्रमण नहुने ग्यारेन्टी खोजेको छ । 

कान्तिपुर

Link copied successfully