देशको उत्तरपूर्वी तटीय क्षेत्रमा तीन मिटरसम्म उचाइको सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।
काठमाडौँ — जापानको उत्तरपूर्वी क्षेत्रमा सोमबार शक्तिशाली भूकम्प गएको छ ।
स्थानीय समय अनुसार राति ११ बजेर १५ मिनेटमा ७.६ म्याग्निच्युडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले उल्लेख गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले विभागलाई उदृत गर्दै भूकम्प आओमोरी र होक्काइदो तट बाहिर केन्द्रित रहेको जनाएको छ । भूकम्पपछि विभागले देशको उत्तरपूर्वी तटीय क्षेत्रमा करिब तीन मिटरसम्म उचाइको सुनामी आउन सक्ने चेतावनी दिएको छ । विभागले होक्काइदो, आओमोरी र इवाते प्रान्तको तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको हो ।
हालसम्म मानवीय क्षति वा भौतिक नोक्सानीबारे कुनै जानकारी प्राप्त भएको छैन ।
