डोन्बस क्षेत्रबाट सेना फिर्ता गर्न युक्रेनलाई रुसको चेतावनी 

सन् २०२२ मा युद्ध सुरु भएयता रुसले युक्रेनको डोन्बस क्षेत्रको ८५ प्रतिशत भूभाग कब्जामा लिइसकेको छ ।

मंसिर १९, २०८२

कान्तिपुर संवाददाता

Russia warns Ukraine to withdraw troops from Donbas region

काठमाडौँ — युक्रेनलाई पूर्वी क्षेत्र डोन्बसबाट सैनिक फिर्ता गर्न रुसले चेतावनी दिएको छ । युक्रेनले सेना फिर्ता नगरे रुसले यो भूभाग आफैं कब्जा गर्ने चेतावनी रुसी राष्ट्रपति भ्लादिमिटर पुटिनले दिएका छन् । 

‘यी इलाकालाई युक्रेनले छाड्नुपर्छ, नभए हामी आफैं कब्जा गर्छौ,’ इन्डिया टुडेसँगको कुराकानीमा पुटिनले भने ।

युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले आफ्नो भूभागमा सम्झौता नहुने बताएका छन् । सन् २०२२ मा युद्ध सुरु भएयता रुसले युक्रेनको डोन्बस क्षेत्रको ८५ प्रतिशत भूभाग कब्जामा लिइसकेको छ । 

दुई देशबीच भूमी सम्बन्धी दाबीमा सहमति जुट्न नसक्दा अमेरिकाको मध्यस्थतामा भइरहेको शान्ति प्रक्रियाले पनि गति लिन सकेको छैन । रुसले कब्जामा लिएका युक्रेनी भूभागको भविष्य र युक्रेनको सुरक्षा ग्यारेन्टीलाई शान्ति वार्तामा प्रमुख दुई मुद्दा मानिएको छ । 

यसअघि गत मंगलबार मस्कोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफले पुटिनलाई भेटेका थिए । त्यसयता उनले फ्लोरिडामा युक्रेनी टोलीलाई भेट्न योजना तय गरिसकेका छन् । 

ट्रम्पले मंगलबारको पुटिनसँगको वार्ता निकै उत्कृष्ट रहेको प्रतिक्रिया दिएका दिए । तर अमेरिकाले अघि सारेको योजनामा आफ्ना केही असहमति रहेको पुटिनले बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully