रुसले बलपूर्वक कब्जा गरेका क्षेत्र फिर्ता गर्नुपर्ने युक्रेनको माग
एजेन्सी — रुस–युक्रेन वार्ताका लागि विशेष अमेरिकी दूत स्टिभ विटकोफले युक्रेन राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख रुस्तम उमरोभसँग मियामीमा छलफल गर्ने भएका छन् । यसअघि मंगलबार विटकोफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा पाँच घण्टा छलफल गरेपनि कुनै निकास निस्कन सकेन ।
सन् २०२२ देखि चलिरहेको युद्धलाई अन्त्य गर्नका लागि अमेरिकाले पछिल्लो समय रुस र युक्रेनसँग बेग्ला–बेग्लै छलफल गरिरहेको छ ।
छलफलमा रुस र युक्रेन दुबै पक्षका नेताहरुले शान्ति स्थापनाका लागि प्रतिवद्ध रहेको बताएपनि त्यसलाई व्यवहारमा उतार्न सकेका छैनन् ।
अमेरिकाले अघि सारेका शान्ति प्रस्ताव र त्यसमा गरिएको संशोधनका विषयमा पछिल्ला छलफल केन्द्रीत छन् ।
अमेरिकाले केही समयअघि सारेको प्रारम्भिक २८ बुँदे प्रस्तावलाई रुसले स्विकार गरेको थियो । तर गत साता युक्रेन र युरोपेली देशहरु सम्मिलित जेनेभा बैठकले यसमा संशोधन गर्यो । संशोधित केही बुँदामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आपत्ति जनाउँदै आएका छन् । यहीकारण, मंगलबार विटकोफसँगको ५ घण्टा लामो छलफलले ‘ब्रेक थ्रु’ लिन सकेन ।
रुसले युद्धको समयमा आफुले कब्जा जमाएका भूभाग आफैंसँग रहनुपर्ने माग गर्दै आएको छ । त्यस्तै युक्रेनले नाटो सदस्यता नलिने प्रतिवद्धता व्यक्त गर्नुपर्ने उसको माग छ ।
यता, रुसले बलपूर्वक कब्जा गरेका क्षेत्र फिर्ता गर्नुपर्ने युक्रेनको माग छ । त्यस्तै, रुसले भविष्यमा युक्रेनमाथि आक्रमण नगर्ने ग्यारेन्टी हुनुपर्ने उनीहरुको माग छ ।
