रुस - युक्रेनबीचको कुटनीतिक संवादका लागि अमेरिकाले मध्यस्थता गरिररहेको छ ।
काठमाडौँ — रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले मंगलबार मस्कोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफलाई भेट्दैछन् । युक्रेन युद्धलाई अन्त्य गर्ने विषयमा उनीहरुबीच छलफल हुनेछ ।
छलफलमा ट्रम्पका ज्वाइँ जरेद कुस्नर पनि सहभागी हुनसक्ने बीबीसीको समाचारमा उल्लेख छ । उनले कुटनीतिक वार्तामा बाह्य सल्लाहकारका रुपमा भूमिका निर्वाह गर्दै आएका छन् ।
फ्लोरिडामा युक्रेनी र अमेरिकीहरुबीच छलफल भएको दुई दिनमै रुसमा नयाँ वार्ता हुन थालेको हो । युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले अमेरिकी प्रतिनिधिहरुसँगको वार्ता सकारात्मक रहेको र रुससँग केही कठिन सवालमा वार्ताको थप तयारी आवश्यक रहेको बताएका थिए ।
रुस र युक्रेन सन् २०२२ देखि युद्धमा छन् । त्यसयता लाखौं मानिस थातथलो छाडेर हिडिंसकेका छन् भने युद्धमा हजारौंले ज्यान गुमाएका छन् ।
