नेशनल गार्डमाथिको आक्रमणपछि आक्रोशित ट्रम्पले ठड्याए आप्रवासीमाथि औंला 

ट्रम्पको घोषणाको केही समयमै अफगानिस्तानमा अध्यागमनसँग सम्बन्धित सबै आवेदन प्रक्रिया स्थगित गर्ने निर्णय अमेरिकी सरकारले गरिसकेको छ ।

मंसिर ११, २०८२

अन्वेषण अधिकारी

Angry Trump points finger at immigrants after attack on National Guard

एजेन्सी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुकुलो आप्रवासन नीति राष्ट्रिय सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् । दुई नेशनल गार्डमाथि ह्वाइट हाउस नजिक भएको गोली प्रहारको घटनापछि उनले यस्तो बताएका हुन् । 

‘कुनै पनि देशले आफ्नो अस्तित्वमा यस्तो जोखिम मोल्न सक्दैंन,’ उनले भने । अमेरिकामा रहेका आप्रवासीमाथि सरकारले निगरानी बढाउने संकेत ट्रम्पको यस घोषणाले गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको विश्लेषण छ ।

पूर्व राष्ट्रपति जो बाइडेनले अन्य देशका मानिसहरुलाई सहजै अमेरिका छिर्न दिएकाले अवस्था बिग्रिएको आरोप पनि ट्रम्पले लगाएका छन् । उनले अफगानिस्तानलाई पृथ्वीको नर्क भनेर अपमान गरेका छन् ।

त्यस्तै, नेशनल गार्ड आक्रमणको घटनामा कुनै सम्बन्ध नभएका मिन्नेसोटामा बस्ने सोमाली समुदायका मानिसहरुलाई पनि अपमान गरेका छन् । उनले सोमालियालाई कानुन, पानी र सैनिक नभएको देश भनेर उपहास गरे । 

ट्रम्पको घोषणाको केही समयमै अफगानिस्तानमा अध्यागमनसँग सम्बन्धित सबै आवेदन प्रक्रिया स्थगित गर्ने निर्णय अमेरिकी सरकारले गरिसकेको छ । 

तालिवानबाट बच्न अमेरिका छिरेका थिए अभियुक्त 

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस नजिक तैनाथ भएका दुई नेशनल गार्डमाथि गोली प्रहार गरेको आशंकामा अफगानी नागरिक रहमानुल्लाह लकनवाल अहिले हिरासतमा छन् । २९ वर्षीया रहमानुल्लाह  लकनवाल ‘अपरेशन एलाइज वेलकम’ योजनाअन्तर्गत सेप्टेम्बर २०२१ मा अफगानिस्तानबाट अमेरिका छिरेका थिए ।

अमेरिकी सेनाले अफगानिस्तान छाड्ने समयसीमा समाप्त नहुँदै अगस्टमा तालिवानले काबुल कब्जा गरेको थियो । त्यसयता, विगतमा अमेरिकी सेनालाई सहयोग गरेकाहरु भविष्यमा तालिवानले बदला लिनसक्ने त्रासमा थिए ।

त्यही जोखिमलाई मध्यनजर गरेर ‘अपरेशन एलाइज वेलकम’ योजनाअन्तर्गत ठूलो सख्ंयामा अफगानीहरुलाई अमेरिकामा पुनर्वासको व्यवस्था मिलाइयो । यस कार्यक्रमअन्तर्गत झन्डै ७६ हजार अफगानीहरुलाई अमेरिकाले भिसा दिएको थियो । धेरैजसो मानिसहरु अमेरिकालाई युद्धमा सहयोग गर्ने, कुटनीतिज्ञ, भाषा अनुवादकलगायत थिए । 

यही योजनाअन्तर्गत लकनवाल अमेरिका छिरेर वासिङटन राज्यमा बस्न थाले । उनले अफगानिस्तानमा छँदा सिआईएसहित अमेरिकी सरकारअन्तर्गतका विभिन्न निकायलाई सहयोग गरेको फक्स न्युजले जनाएको छ । 

कन्दहरमा अमेरिकी–अफगानी सेनालाई तालिवानविरुद्धको अपरेशनमा उनले सघाएका थिए ।

एनबीसी न्युजले लकनवालका आफन्तलाई उद्धृत गर्दै उनले १० वर्षसम्म अफगानिस्तानको सेनामा सेवा गरेको जनाएको छ । त्यहीक्रममा कन्दहरमा तैनाथ भएको उनका आफन्तले जनाएका छन् । आफन्तका अनुसार लकनवाल सैनिक सेवामा छँदा घाइते पनि भएका थिए ।

‘अफगानिस्तानबाट बाइडेन प्रशासनको दर्दनाक बहिर्गमनपछि सेप्टेम्बर २०२१ मा अमेरिकाले निकै चाडों आफ्नो सहयोगीहरुलाई उद्धार गरेको ल्याएको थियो । यी र यीजस्ता धेरै व्यक्तिलाई कहिल्यै यहाँ आउन दिन हुने थिएन । हाम्रा नागरिक र कर्मचारीले बाइेडन प्रशासनको यो असफलताको फल झेल्नुपर्ने थिए ,’ सिआईएका निर्देशक जोन र्‍याटक्लिफले फक्स न्युजसँग भने,  ‘त्यसयता, लकनवालमाथि एफबीआईले अनुसन्धान गरिरहेको पनि फक्स न्युजले जनाएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई आतंकवादी गतिविधि करार गरेका छन् । उनले यस घृणित कार्य सिंगो राष्ट्र र मानवताविरुद्धको अपराध रहेको बताए । ह्वाइट हाउसनजिक दुई नेशनल गार्ड गोली प्रहारले गम्भीर घाइते भएसँगै अमेरिकामा सन्नाटा छाएको छ ।

त्रसित आप्रवासी

यस घटनाको असर विशेषरी आप्रवासीहरुमा पर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको विश्लेषण छ  । ट्रम्प प्रशासनले यसअघि नै आप्रवासन विरोधी कदम चालिरहेको छ । अहिलेको घटनापछि थप कठोर हुने संकेत ट्रम्पले गरिसकेका छन् । अफगानीका हकमा त स्पष्टै भनेका छन्,' बाइडेन प्रशासनताका अफगानिस्तानबाट आएका हरेक एलियनको एकपटक पुन-परीक्षण हुनै पर्छ ।'

सान डिएगोस्थित अफगान इभाकका अध्यक्ष स्वान भानडाइभरले नेशनल गार्डमाथि भएको आक्रमणको निन्दा गरेका छन् । उनले यही घटनालाई आधार बनाएर अमेरिकामा बस्ने अफगानी समुदायलाई हानी पुर्या‍उन नहुने बताएका छन् । भानडाइभरले भनेका छन्, ‘अफगानी आप्रवासीहरु युद्धकालीन समयमा अमेरिकाका साथी थिए । अहिलेको यो व्यक्ति कार्य वा हिंसात्मक घटनालाई जोडेर सिंगो समुदायको मानमर्दन गर्नु राम्रो हुँदैन ।’

उनले थपेका छन्, ‘जसले अफगानी परिवारलाई आक्रमण गर्नका लागि यो घटनालाई ट्वीस्ट गर्छन्, उनीहरु सुरक्षा वा न्याय खोज्दै छैनन् । बरु विभाजनलाई बढाएर हामी सबैलाई खतरामा पार्दैछन् ।’

अन्वेषण अधिकारी

Link copied successfully