अमेरिकाले सार्वजनिक गरेको शान्ति प्रस्तावमा युक्रेन सकारात्मक 

फेब्रुअरी २०२२ मा रुस–युक्रेन युद्ध सुरु भएयता दशौं हजार सैनिक तथा सर्वसाधारणको मृत्यु भइसकेको छ । त्यस्तै दशौं लाख मानिस युद्ध क्षेत्र छाडेर अन्यत्र बसाईँ सरेका छन् ।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

Ukraine positive about peace proposal released by US

What you should know

एजेन्सी — रुससँग युद्ध अन्त्य गर्ने लक्ष्यले अमेरिकाले अघि सारेको प्रस्तावमा युक्रेन–अमेरिकाबीच ‘साझा बुझाई’ बनिसकेको युक्रेनले जनाएको छ । अमेरिकाले गत साता किभमा २८ बुँदे प्रस्ताव पेश गरेको थियो । केही दिनअघि युक्रेन र युरोपेली युनियनमा आबद्ध देशहरु जेनेभामा भेला भएर त्यसमा आवश्यक संशोधन गरेका थिए । 

सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस योजनालाई युक्रेन र अमेरिका दुबैले मिलेर थप संशोधन गरेको जानकारी दिएका छन् । उनले त्यही प्रस्तावमा सहमति जुटाउन अमेरिकी प्रतिनिधि रुस जाने बताए ।

उनले लेखेका छन् ,‘मैले आफ्ना विशेष दूत स्टिभ वाटकोफलाई राष्ट्रपति पुटिनसँग मस्कोमा भेट्न निर्देशन दिइरहेको छु । यही समय सेक्रेटरी अफ द आर्मी ड्यान ड्रिसकोलले युक्रेनीहरुसँग भेट्नेछन् ।’ 

राष्ट्रपति जेलेनेस्कीका मुख्य सल्लाहकार एन्ड्री यार्माकले यसै साता ड्रिस्कोलसँग किभमा भेट्ने बताएका छन् । 

रुसी विदेशमन्त्री सर्जे लाभरोभले यसअघि ट्रम्पले सार्वजनिक गरेको प्रारम्भिक २८ बुँदे प्रस्तावमा रुस सहमत भएपनि जेनेभामा गरिएको संशोधनलाई हेरेर आगामी निर्णय लिइने बताएका छन् ।

‘मंगलबार बिहानसम्म रुसलाई नयाँ योजनाको कागजात प्राप्त भएको छैन,’ उनले भनेका थिए । युरोपले अमेरिकाको शान्ति प्रयासलाई नजरअन्दाज गरेको पनि उनको आरोप थियो । 

अमेरिकी अधिकारीहरुले रुसी चासोबारे सार्वजनिक रुपमा कुनै टिप्पणी गरेका छैनन् । यद्यपी, ड्रिस्कोल र रुसी प्रतिनिधिबीच सोमबार र मंगलबार अबुदाबीमा छलफल भएको थियो । 

फेब्रुअरी २०२२ मा रुस–युक्रेन युद्ध सुरु भएयता दशौं हजार सैनिक तथा हजारौं सर्वसाधारणको मृत्यु भइसकेको छ भने हजारौं घाइते छन् । त्यस्तै दशौं लाख मानिस युद्ध क्षेत्र छाडेर अन्यत्र बसाईँ सरेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully