बोल्सेनारोले आफुलाई २०२६ को राष्ट्रपतीय निर्वाचन लड्न नदिनका लागि यी सबै प्रपञ्च रचिएको दाबी गर्दै आएका छन्
What you should know
एजेन्सी — ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जैर बोल्सेनारोलाई तत्कालै आफ्नो काराबास सजाय सुरु गर्न निर्देशन दिएको छ । सन् २०२२ को चुनावमा पराजित भएपछि ‘कु’ गर्ने षड्यन्त्र रचेको अभियोगमा उनीमाथि गत सेप्टेम्बरमा २७ वर्ष ३ महिनाको जेल सजाय सुनाइएको थियो ।
यस फैसलामा थप पुनरावलोकन संभव नभएकाले तत्कालै जेलमा जान न्यायाधिस अलेक्ज्यान्द्रे डि मोरेसले मंगलबार निर्देशन दिए । सन् २०२२ मा बामपन्थी उम्मेदवार लुईस इनासियो लुला डा सिल्भासँग चुनाव हारेपछि सत्तामै रहनेगरी ‘कु’ गर्ने योजना बुनेको अभियोगमा ७० वर्षीय बोल्सेनारो दोषी पाइएका हुन् ।
राजधानी ब्रासिलियास्थित संघीय प्रहरी जेलमा उनले काराबास सजाय सुरु गर्नेछन् । यसअघि उनलाई भाग्नसक्ने डरले घरमै नजरबन्दमा राखिएको थियो । तर भाग्ने खतरा देखेपछि उनलाई गत शनिबारदेखि प्रहरी हिरासतमै राखिएको छ ।
न्यायाधिस मोरेशले बोल्सेनारोलाई पूर्णकालीन उपचार उपलब्ध गराउन पनि आदेश दिएका छन् । बोल्सेनारोको टिमले उनको स्वास्थ्य अवस्था खराब रहेको बताएको थियो ।
सर्वोच्च अदालतका न्यायाधिसहरुले सेप्टेम्बरमा फैसला सुनाउँदै बोल्सेनारोले ‘कु’ गर्न खोजेको र पदको दुरुपयोग गरेर राष्ट्रपतिका तत्कालीन उम्मेदवार लुला तथा उपराष्ट्रपति उम्मेदवार गेराल्डो अल्कमिनलाई मार्ने योजना बनाएको बताएका थिए ।
त्यस्तै बोल्सेनारोको मुद्दा हेरिरहेका मोरेसलाई पक्राउ गरेर फाँसी दिने समेत योजना बनाइएको उल्लेख थियो । तर सेना तथा एयरफोर्स कमाण्डरहरुले साथ नदिएपछि बोल्सेनारोको योजना असफल भयो । १ जनवरी २०२३ मा लुलाले नयाँ राष्ट्रपतिका रुपमा शपथ लिए ।
त्यसको ८ दिनपछि बोल्सेनारोका हजारौं समर्थकहरुले ब्रासिलियास्थित सरकारी भवनहरु आगजनी गरे । सुरक्षाकर्मीले यसमा हस्तक्षेप गर्दा १५ सयजना पक्राउ परे ।
यो भीडलाई पनि बोल्सेनारोले नै उकासेको अदालतको फैसलामा उल्लेख छ । बोल्सेनारोमाथि सार्वजनिक पदमा सन् २०६० सम्म उठ्न नपाउने सजाय पनि सुनाइएको छ ।
बोल्सेनारोले आफुलाई २०२६ को राष्ट्रपतीय निर्वाचन लड्न नदिनका लागि यी सबै प्रपञ्च रचिएको दाबी गर्दै आएका छन् । बोल्सेनारोलाई ‘कु’ गर्नका लागि सहयोग गर्ने पूर्व सुरक्षामन्त्री जनरल अगुस्टो हेलेनो र पूर्व रक्षामन्त्री जनरल पाउलो सर्जियोमाथि जेल सजाय सुनाइएको छ । उनीहरुलाई पनि तत्कालै आफ्नो काराबास सुरु गर्न मंगलबार आदेश दिइएको छ ।
