भिडियोमा सेतो कफिनमा राखिएकी ती महिला पिकअप ट्रकको पछाडि सानोतिनो हात र टाउको हल्लाइरहेको देखिन्छ
What you should know
काठमाडौँ — अन्त्येष्टिका लागि मन्दिर पुर्याइएकी एक महिला कफिनभित्रै हलचल गरेको भिडियो पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित बनेको छ । थाइल्यान्डको नोन्थाबुरी प्रान्तस्थित 'वाट रात प्राखोङ थाम' बौद्ध मन्दिरले आफ्नो फेसबुक पेजमा सो भिडियो पोस्ट गरेको हो ।
भिडियोमा सेतो कफिनमा राखिएकी ती महिला पिकअप ट्रकको पछाडि सानोतिनो हात र टाउको हल्लाइरहेको देखिन्छ, जसले मन्दिरका कर्मचारीहरूलाई अचम्ममा पारेको थियो । मन्दिरका सामान्य तथा आर्थिक मामिला व्यवस्थापक पैरात सुदथुपले सोमबार एसोसिएटेड प्रेससँग कुरा गर्दै भने, '६५ वर्षीया ती महिलालाई उनका दाइ फित्सानुलोक प्रान्तबाट अन्त्येष्टिका लागि लिएर आएका थिए।'
उनले घटनाबारे जानकारी दिँदै भने, 'हामीले कफिनबाट मधुरो ढकढक आवाज सुन्यौं । म अलिकति अचम्ममा परें, त्यसैले कफिन खोल्न लगाएँ र सबैजना छक्क परे । उनले आँखा केही खोलेकी थिइन् र कफिनको छेउमा ढकढक गरिरहेकी थिइन् । उनले लामै समयदेखि ढकढक गरिरहेकी हुनुपर्छ ।'
पैरातका अनुसार ती महिलाको दाइले बताएअनुसार उनकी बहिनी करिब दुई वर्षदेखि ओछ्यानमा थिइन् । स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि दुई दिनअघि उनले सास फेर्न छोडेजस्तो देखिएकी थिइन् । त्यसपछि दाइले उनलाई कफिनमा राखेर बैंककको एउटा अस्पतालतर्फ ५०० किलोमिटर (३०० माइल) को यात्रा गरेका थिए, किनभने उनले पहिले नै आफ्ना अंगदान गर्ने इच्छा व्यक्त गरेकी थिइन् ।
तर अस्पतालले मृत्यु प्रमाणपत्र नभएको कारण अंगदान स्वीकार गर्न अस्वीकार गर्यो । पैरातले भने, 'हाम्रो मन्दिरले निःशुल्क अन्त्येष्टि सेवा दिन्छ, त्यही भएर आइतबार उनी हामीकहाँ आएका थिए, तर हामीले पनि कागजात नभएकोले अस्वीकार गर्यौं ।'
मन्दिर व्यवस्थापकले मृत्यु प्रमाणपत्र कसरी लिने भनेर सम्झाइरहेका बेला नै ढकढक आवाज आएको थियो । त्यसपछि उनको जाँच गरेर नजिकैको अस्पताल पठाइयो । पैरातका अनुसार मन्दिरले महिलाको सम्पूर्ण उपचार खर्च मन्दिरले बेहोर्ने घोषणा गरेका छन् ।
