मस्क-ट्रम्पको महत्वाकांक्षी 'डज एजेन्सी' बन्द भएको अमेरिकी सरकारको घोषणा

सन् २०२५ को शुरूमा डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति निर्वाचित भएलगत्तै निकै ठूलो हल्लीखल्लीसाथ विश्वकै धनाढ्य इलन मस्कको नेतृत्वमा शुरू गरिएको अमेरिकी सरकारको प्रभावकारिता बढाउने एजेन्सी (डज) बन्द भएको अधिकारीहरूले जनाएका छन् ।

मंसिर ८, २०८२

एजेन्सी

US government announces closure of Musk-Trump's ambitious 'Dodge Agency'

काठमाडौँ — सन् २०२६ को जुलाइसम्मका लागि स्थापना गरिएको सो एजेन्सी गत मे महिनाको अन्त्यमा मस्कले व्हाइट हाउस छोडेयता निष्क्रियजस्तै थियो । रोयटर्सलाई दिएको अन्तर्वार्तामा कर्मचारी व्यवस्थापनसम्बन्धी निर्देशक स्कट कुपरले 'सो एजेन्सी अब बाँकी नरहेको' अभिव्यक्ति दिएका हुन् । 

सो एजेन्सीले अमेरिकी सरकाको लगभग २० खर्ब डलर बचत गर्ने महत्वाकांक्षी घोषणा गरिएको थियो । ट्रम्प र मस्कको सो योजना शुरूदेखि नै विवाद र आलोचनाको शिकार बन्न पुगेको थियो । सरकारी बजेटको ३० प्रतिशत बचत गर्ने आक्रामक योजनासहित हातमा आरा लिएर मिडियाको अगाडि देखिने गरेका मस्कले आफ्नो एजेन्सीमार्फत ३० अमेरिकी सरकारका निकायमा रहेका लगभग ५० हजार कर्मचारी निकालिदिएका थिए ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएड) पूर्णरूपमा बन्द गर्दै मस्कले उपभोक्ता र स्वाथ्यसँग सम्बन्धित कतिपय सेवासमेत बन्द गराएका थिए । गत फेब्रुअरिमा भने एजेन्सीले जोगाउने बजेटको दाबीलाई १० खर्ब अमेरिकी डलरमा झारिएको थियो भने पछि सो रकम २ खर्बभन्दा तल हुने भन्दै संशोधन गरिएको थियो ।  

'अब यो पहिलेजस्तो केन्द्रीकृत स्वरूपमा छैन,' कुपरले भनेका छन्, 'एजेन्सीका कतिपय अधिकारीले सरकारका अन्य निकायमा अर्कै जिम्मेवारी लिइसकेका छन् ।' मस्ककै टिमअन्तर्गत डजमा काम गरेका एक अधिकारीले अहिले सरकारका वेबसाइटहरूको स्वरूप परिवर्तन गर्ने जिम्मेवारी पाएका छन् । अर्का एक अधिकारीले स्वास्थ्य विभागको प्रमुख प्रविधि अधिकृतको जिम्मा पाएका छन् ।

सरकार छोडेयता मस्कले भने डजको बारेमा कुनै सार्वजनिक टिप्पणी गरेका छैनन् ।  

एजेन्सी

Link copied successfully