कोप ३० : जिवाश्म इन्धन कटौतीबारे भएन नयाँ संकल्प

विज्ञानलाई नजरअन्दाज गरेर गरिएको सहमतिमा आफ्नो देशको समर्थन नहुने कोलम्बियाकी एक प्रतिनिधिले बताइन्

मंसिर ७, २०८२

कान्तिपुर संवाददाता

COP30: No new resolution on fossil fuel cuts

What you should know

एजेन्सी — जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघको सबैभन्दा ठूलो सम्मेलन कोप ३० जिवाश्म इन्धनको कटौतीबारे नयाँ संकल्प नै नगरी ब्राजिलमा सम्पन्न भएको छ । अमेजन नदी किनारको बेलम शहरमा आयोजित यस सम्मेलनमा वैश्विक तापक्रम वृद्धिबाट प्रभावित गरिब देशहरुलाई दिइने आर्थिक सहयोग वृद्धि गर्ने समझदारी बनेको छ ।

भविष्यमा वैश्विक तापक्रम वृद्धिलाई रोक्ने विषयमा चाल्नुपर्ने कदमबारे दुई सातासम्म चलेको छलफलमा गहिरो विभाजन देखिएको थियो । कोप ३० को अध्यक्षता गरेका एन्ड्री कोरेरा डो लागोले छलफल निकै पचिलो बनेको प्रतिनिधिहरुसँग बताए ।

‘मलाई थाहा छ । तपाईहरुमध्ये केहीसँग केही सवालमा ठूलो महत्वाकांक्षा छ,’ उनले भने । केही देशहरुले ग्रिनहाउस ग्याँसहरुको नियन्त्रण वा जिवाश्म इन्धनको विषयमा बलियो समाधान बिना नै सम्मेलन सकिएको भन्दै आपत्ति जनाएका थिए ।

ल्याटिन अमेरिकाका तीन देश कोलोम्बिया, पानामा र उरुग्वेले यस विषयमा धेरैपटक आपत्ति जनाएपछि अध्यक्ष कोरेनाले प्लेनरी सेशन रोकेर परामर्श गरेका थिए । झन्डै एक घण्टापछि उनले प्लेनरी सेशन सुचारु गर्दै उनले निर्णयहरु कायमै रहने बताए । 

कोलम्बियाकी एक प्रतिनिधिले जिवाश्म इन्धनको अत्यधिक प्रयोग पृथ्वीको तापक्रम वृद्धिमा सबैभन्दा ठूलो कारक रहेको बताइन् । विज्ञानलाई नजरअन्दाज गरेर गरिएको सहमतिमा आफ्नो देशको समर्थन नहुने उनले बताइन् ।

 ‘जलवायुलाई नजरअन्दाज गरेर लादिएको सहमति एउटा असफल सम्झौता हुनेछ,’ उनले भनिन् ।  उता, रुसी प्रतिनिधि सर्जे कोनोनुचेन्कोले भने, ‘केही प्रतिनिधिहरुले सबै चकलेट आफ्नै हातमा हुनुपर्छ भन्ने बच्चाजस्तो व्यवहार छलफलमा देखाइराख्नुभएको छ ।’ 

के थियो जिवाश्म इन्धनको मुद्दा ?

दुबईमा आयोजित कोप २८ ले सन् २०५० भित्र पेट्रोल, ग्यास र कोइलाको प्रयोगमा नाटकिय  कटौती गर्ने, नवीकरणीय उर्जाको व्यापक प्रयोग गर्ने र ‘जिवाश्म इन्धन उत्सर्जन नेट जिरोमा झार्ने’ महत्वाकांक्षी योजना पारित गरेको थियो । यसमा १ सय ९८  देशले हस्ताक्षर गरेका थिए ।

तर, हस्ताक्षरको केही समयपछि नै साउदी अरेबिया, रुस, चीन, भारतलगायत देशहरु आफ्नो प्रतिवद्धताबाट पछि हटेका थिए । वैश्विक उर्जा आवश्यकता पूरा गर्न जिवाश्म इन्धनको निरन्तरता जरुरी हुने उनीहरुको दाबी छ ।

तत्कालीन समय यस विषयमा हस्ताक्षर जुटाउन महत्वपूर्ण भूमिका निभाएको अमेरिकाले  डोनाल्ड ट्रम्प राष्ट्रपतिका रुपमा फर्किएपछि यसमा चासो देखाएको छैन । ट्रम्पले जलवायु परिवर्तनको मुद्दालाई ‘विश्वकै सबैभन्दा ठूलो ठगी धन्दा’ भन्ने आरोप लगाएका छन् । उनले यसपटक कुनै पनि आधिकारीक प्रतिनिधि बेलममा पठाएनन् ।

बेलममा युरोप, ल्याटिन अमेरिका, एशिया र अफ्रिकाका ९० वटा  देशहरुले कोप २८ को प्रतिवद्धतालाई व्यवहारमा उतार्नका लागि स्पष्ट रोडम्याप बनाउनुपर्ने धारणा राखेका थिए । तर, साउदी अरेबियाको नेतृत्वमा चीन, भारत र रुसजस्ता देशहरुले यस मुद्दालाई अघि बढ्नबाट रोके । जसकारण, अन्तिम सहमतिमा जिवाश्म इन्धनको विषय नै उल्लेख भएन । 

 ‘हामीले जलवायुको मुद्दामा लडाइँ जित्दैछौं भनिरहेको छैनौं । तर, अवश्य पनि हामी यो लडाइँमा अझै छौं र लड्नेछौं,’ युएनएफसीसीसीका कार्यकारी सक्रेटरी सिमोन स्टिलले सम्मेलनपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

वित्त कोषमा लगानी बढाउने समझदारी

अमेजन नदी किनारको बेलम शहरमा आयोजित यस सम्मेलनमा जलवायु परिवर्तन वित्त कोषमा लगानी बढाउन विकसित देशहरु सहमत भएका छन् ।

सन् २०३५ सम्म ३ सय बिलियन डलर वित्त कोषमा पुर्‍याउने प्रतिवद्धता उनीहरुले व्यक्त गरेका छन्, जो विगतको प्रतिबद्धताको दाँजोमा तीन गुणाले बढी हो । तर, जलवायु परिवर्तनले निम्त्याएका समस्या समाधानका लागि यति लगानी अपुग हुने विज्ञहरुले बताउँदै आएका छन् । 

विकासशील देशले राखेका प्रस्ताव स्विकार्दै संयुक्त राष्ट्रसंघले जलवायुको क्षेत्रमा काम गर्नका लागि सन् २०३५ देखि वार्षिक रुपमा कुल १ दशमलव ३ ट्रिलियन अमेरिकी डलर आवश्यक पर्ने विषय आफ्नो प्रतिवेदनमा समेटेको छ । यस महत्वाकांक्षी लक्ष्य हासिल गर्न देशहरुबीच सहकार्य, एकता र लगानी जरुरी रहेको बताइएको छ । तर, ठोस प्रतिवद्धता आएको छैन । 

विकासशील देशहरुले समुद्री सतह वृद्धि, अत्यधिक गर्मी, खडेरी, बाढी र तुफानबाट अहिल्यै विभिन्न समस्याहरु व्यहोरेका छन् । यी चुनौतीहरुसँग लड्नका लागि तत्कालै रकमको आवश्यकता पर्ने खाँचो उनीहरुले औल्याएका थिए ।

ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रको बहुपक्षीय वित्तिय संस्था इन्टर अमेरिकन डेभलपमेन्ट बैंकका विशेष सल्लाहकार अभिनाश पर्साउदले जलवायु परिवर्तनको असर उच्च भइरहेका बेला वित्तिय क्षेत्रमा प्राथमिकता दिइनु जरुरी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्ससँगको कुराकानीमा बताएका छन् । 

विकासशील देशहरुको जलवायु अनुकुलन लक्ष्यमा सहयोग पुर्‍याउन 'ग्लोबल इम्प्लिमेन्टेसन एक्सिलिरेटर'  योजना अघि सारिएको छ । यस योजनाअनुसार धनी देशहरुले विकासशील देशहसँग जलवायु अनुकुलनका लागि वित्तिय, प्राविधिक र ज्ञान हस्तान्तरणमा सहकार्य गर्नेछन् ।

वैश्विक तापक्रम वृद्धिलाई पूर्व ‍औद्योगिककालको दाँजोमा १ दशमलव ५ डिग्री सेल्सियसमै सिमित राख्‍ने महत्वाकांक्षी प्रयासलाई निरन्तरता दिने सहमति बनेको छ । यद्यपी, वैश्विक तापक्रमले १ दशमलव ५ डिग्री सेल्सियसको  थ्रेस होल्ड अस्थायी रुपमा पार गरिसकेकाले यो योजना पूरा गर्नका लागि जिवाश्म इन्धनको व्यापक कटौती जरुरी रहेको विज्ञहरूको निष्कर्ष छ । जसमा कोप ३० ले कुनै निर्णय लिन सकेन ।  

कान्तिपुर

Link copied successfully