भूकम्पमा सयौं नागरिक घाइते भएको अधिकारीहरूले बताएका छन् ।
काठमाडौँ — बंगलादेशको राजधानी ढाका र आसपासका क्षेत्रमा शुक्रबार गएको ५.७ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १० जनाको ज्यान गएको छ ।
भूकम्पमा सयौं नागरिक घाइते भएको अधिकारीहरूले बताएका छन् ।
भूकम्प स्थानीय समयानुसार बिहान १०:३८ बजे ढाकाबाट करिब २५ किलोमिटर (१६ माइल) टाढा रहेको नरसिङ्गडी जिल्लाको घोरसाल क्षेत्रमा गएको हो । यूएस जियोलोजिकल सर्भे (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्र जमिनमुनि करिब १० किलोमिटर (६ माइल) गहिराइमा रहेको थियो ।
बंगलादेशी अखबार द डेली स्टारका अनुसार हालसम्म भूकम्पमा १० जनाको मृत्यु भएको हो । ढाकामा विभिन्न भवनका छाना तथा पर्खाल खस्दा र भवनको रेलिङ खस्दा ती संरचनामुनि परेर पैदलयात्रीको मृत्यु भएको डेली स्टारमा उल्लेख छ ।
यूएसजीएसका भूकम्प विज्ञहरूका अनुसार भारत र युरेसिया प्लेटहरूको सतत् अन्तरक्रियाका कारण बंगलादेशको उत्तरी तथा दक्षिणपूर्वी भाग भूकम्पीय रूपमा सक्रिय क्षेत्र मानिन्छ । तर देशको मध्य भाग तुलनात्मक रूपमा कम सक्रिय क्षेत्रमा पर्छ, जसकारण यस पटक आएको कम्पन अझ अप्रत्याशित रूपमा अनुभव गरिएको बताइन्छ ।
बंगलादेशी अधिकारीहरूका अनुसार उद्धार तथा क्षति मूल्यांकनका कार्य निरन्तर जारी छन् । देशभरका नागरिकलाई सतर्क रहन र सम्भावित परकम्पनबारे सचेत रहन अपिल गरिएको छ ।
