इन्डोनेसियामा पहिरोमा परेर १० जनाको मृत्यु, १८ बेपत्ता

इन्डोनेसियाको मध्य जाभा प्रान्तको आवासीय क्षेत्रमा पहिरोे जाँदा कम्तीमा १० जनाको मृत्यु भएको हो ।

मंसिर ५, २०८२

कान्तिपुर संवाददाता

10 dead, 18 missing in landslide in Indonesia

काठमाडौँ — इन्डोनेसियाको मध्य जाभा प्रान्तको आवासीय क्षेत्रमा पहिरोे जाँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

विपद् न्यूनीकरण एजेन्सी बिएनपिबीका अनुसार पाण्डनारुम जिल्लाको पाण्डानारुम गाउँमा भारी वर्षापछि आएको पहिरोका कारण हताहत भएको हो ।

हालसम्म सातवटा शव बरामद गरिएको उल्लेख गर्दै मृतकको संख्या १० पुगेको बिएनपिबीका प्रवक्ता अब्दुल मुहारीले बताएका छन् ।  

लामो समयसम्म परेको वर्षा, पहाडहरूमा अवस्थित दरारहरूले माटोको तहहरूलाई कमजोर बनाएका कारण विपत्ति आएको बताउँदै मुहारीले चुनौतीपूर्ण अवस्थामा खोजी र उद्धार कार्य जारी रहेको बताएका छन् । 

स्थानीय अधिकारीहरूका अनुसार पहिरोका कारण ४८ वटा घरहरू क्षतिग्रस्त हुँदा १९५ जना प्रभावित भएका छन् भने पछिल्लो बिएनपिबी अपडेट अनुसार ९३४ बासिन्दाहरूलाई सुरक्षित अस्थायी आश्रयमा सारिएको छ ।

राष्ट्रिय खोजी तथा उद्धार एजेन्सी बसरनास, सेना, प्रहरी, स्थानीय विपद् व्यवस्थापन एकाइ र स्वयंसेवकहरूसहित विभिन्न निकायका ७०० भन्दा बढी कर्मचारीहरू यस क्षेत्रमा तैनाथ गरिएको छ ।

खोजी प्रयासहरूलाई तीन क्षेत्रहरूमा विभाजन गरिएको छ भने पानीले भरिएका क्षेत्रहरू सफा गर्न भारी मेसिनरी, खोजी र उद्धार कुकुर एकाइहरू तथा उपकरणहरू प्रयोग गरिएको जनाइएको छ ।

कान्तिपुर

Link copied successfully