हसिनाका छोराले भने–भारतले उद्धार नगरेको भए चरमपन्थीले आमालाई मार्ने योजना बनाइसकेका थिए

शेख हसिनाको प्रत्यर्पणलाई लिएर उनले भने, ‘प्रत्यर्पणका लागि न्यायिक प्रक्रियाको पालना गर्नु आवश्यक हुन्छ । बंगलादेशमा निर्वाचित सरकार छैन र यो संवैधानिक पनि होइन ।’

मंसिर ३, २०८२

कान्तिपुर संवाददाता

Hasina's son says extremists would have planned to kill mother if India hadn't rescued her

What you should know

काठमाडौँ — बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजिदले आफ्नी आमाविरुद्ध मृत्युदण्डको सजाय सुनाइएपछि गैर कानुनी तरिकाले निर्णय भएको प्रतिक्रिया दिएका छन् ।

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको फैसला सुनाएको छ । 

यसपछि बंगलादेशले हसिनालाई फिर्ता पठाउन भारतलाई आग्रह गरेको छ । शेख हसिनाको प्रत्यपर्पण र बंगलादेशको राजनीतिक संकटबारे न्युज एजेन्सी एएनआईले उनका छोरा सजीब वाजिदसँग कुरा गरेको छ ।

सजीबले भनेका छन्, ‘भारत सधैं एक राम्रो मित्र रहेको छ । संकटका बेला भारतले मेरो आमाको ज्यान बचायो । यदि उहाँले बंगलादेश छोड्नुहुन्थेन भने चरमपन्थीहरुले उहाँको हत्याको योजना बनाइसकेका थिए । यस कारण म मेरी आमाको ज्यान बचाएकोमा प्रधानमन्त्री मोदीको सरकाप्रति सधैं आभारी रहनेछु ।’

शेख हसिनाको प्रत्यर्पणलाई लिएर उनले भने, ‘प्रत्यर्पणका लागि न्यायिक प्रक्रियाको पालना गर्नु आवश्यक हुन्छ । बंगलादेशमा निर्वाचित सरकार छैन र यो संवैधानिक सरकार पनि होइन ।’

उनले आफ्नी आमालाई दोषी ठहर्‍याउनका लागि, मुद्दाको सुनुवाइ तीव्र बनाउन कानुन संशोधन गरिएको उनको भनाइ छ । संसद् बिना कानुन संशोधन गर्न नपाइने भएकाले अवैध रुपमा संशोधन गरी बनाइएको कानुन अनुसार दिइएको सजाय पनि अवैध नै रहेको उनको भनाइ छ । 

सजीब वाजिदले आरोप लगाएका छन्, ‘मेरी आमालाई आफ्नो बचाउको पक्षमा वकिल राख्ने अनुमति पनि थिएन । यहाँसम्मकी अदालतमा वकिलहरुलाई जाने अनुमति पनि दिइएन । ट्रायलभन्दा पहिला नै अदालतका १७ न्यायाधीशलाई निकालियो । नयाँ न्यायाधीश नियुक्त गरियो । उनीहरुमध्ये केहीलाई त इजलासमा काम गरेको कुनै पनि अनुभव थिएन । र उनीहरु राजनीतिक रुपमा पनि जोडिएका थिए ।’

कान्तिपुर संवाददाता

Link copied successfully