ट्रम्पको गाजा योजना संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌द्वारा पारित

अमेरिकाका अनुसार यस फोर्सका लागि कैयौं देशले सहयोगको वचन दिएका छन् । प्रस्तावको समर्थनमा बेलायत, फ्रान्स र सोमालियासहित १३ देशले मतदान गरेका छन् ।

मंसिर २, २०८२

कान्तिपुर संवाददाता

Trump's Gaza plan approved by UN Security Council

काठमाडौँ — संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० बुँदे गाजा योजनासँग सम्बन्धित प्रस्तावको समर्थनमा भोट गरेको छ । योजना अन्तर्गत एक अन्तर्राष्ट्रिय स्टेबलाइजेशन फोर्स (आईएसएफ) गठनको प्रावधान छ ।

अमेरिकाका अनुसार यस फोर्सका लागि कैयौं देशले सहयोगको वचन दिएका छन् । प्रस्तावको समर्थनमा बेलायत, फ्रान्स र सोमालियासहित १३ देशले मतदान गरेका छन् । कुनै पनि देशले उक्त प्रस्तावविरुद्ध मत दिएनन् । रुस र चीन भने मतदानमा सहभागी भएनन् । 

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसका एक प्रवक्ताले यो प्रस्ताव पास हुनु ‘युद्धविरामलाई मजबुत बनाउने दिशामा एक महत्त्वपूर्ण कदम’ बताएका छन् । यता हमासले भने उक्त प्रस्तावलाई अस्वीकार गरेको छ । यस योजनाले प्यालेस्टिनीको अधिकारलाई पूरा नगर्ने भन्दै हमासले प्रस्ताव अस्वीकार गरेको हो । 

प्रस्ताव पास भएपछि हमासले टेलिग्राममा लेखेको छ, ‘यो योजना गाजापट्टीमा एक अन्तर्राष्ट्रिय संरक्षक प्रणाली थोपर्नु हो । जसलाई हाम्रा जनताले स्वीकार गर्दैनन् ।’ हमासले अघि भनेको छ, ‘गाजापट्टीको भित्र अन्तर्राष्ट्रिय फोर्सलाई टास्क र भूमिका सुम्पिँदा प्रतिरोधलाई निशस्त्रीकरण गर्नु पनि हो । त्यसले निष्पक्षता अन्त्य गर्छ ।’

प्रस्तावअनुसार आईएसएफ, इजरायल र मिश्रसँग मिलेर काम गरिनेछ । साथै यो फोर्सले प्यालेस्टिनी प्रहरीसँग मिलेर सीमावर्ती क्षेत्रको सुरक्षामा सहयोग गर्नेछन् र हमासिहित अन्य सशस्त्र समूहलाई स्थायी रुपमा निशस्त्रीकरण गर्न सहयोग गर्नेछन् । 

कान्तिपुर

Link copied successfully