जुनियर बिहार कोकिला अर्थात् कान्छी विधायक मैथिली ठाकुर

संगीत हुँदै अब विधानसभामा ।

कार्तिक ३०, २०८२

गोविन्द देवकोटा

Junior Bihar Kokila i.e. Junior MLA Maithili Thakur

काठमाडौँ — चर्चित लोकगायिका मैथिली ठाकुर बिहार विधानसभामा सबैभन्दा कान्छी विधायिका हुन् । बिहारको दरभंगा जिल्लाको अलिनगर विधानसभा सिटमा जित निकाल्दै ठाकुर भारतमा अहिलेसम्मकै कान्छी सांसद बनेकी हुन्।

भारतीय जनता पार्टी (भाजपा)बाट चुनाव लडेकी ठाकुरले ८४ हजार ९ सय १५ मत ल्याइन् । उनका प्रतिद्वन्द्वी राष्ट्रिय जनता दल (आरजेडी)का विनोद मिश्राले ७३ हजार १ सय ८५ मत ल्याए । उनी चुनावको केही महिनाअघि मात्रै भारतीय जनता पार्टीमार्फत राजनीतिमा होमिएकी थिइन् । ठाकुरले दिल्ली विश्वविद्यालयबाट ग्राजुएसन गरेकी छिन् भने संगीत क्षेत्रमा उनी उम्दा गायिका हुन् । 

उस्ताद बिस्मिल्लाह खान युवा पुरस्कार र नेसनल क्रियटर अवार्डजस्ता सम्मानसमेत हात पारिसकेकी ठाकुरको यतिबेला सर्वत्र चर्चा छ । उनी गत अगष्ट १३ अर्थात् (साउन २७ गते) भाजपासँग  आबद्ध भएकी थिइन् । तर राजनीतिमा होमिएको तीन महिनामै उनले प्रभावशाली छलाङ मारिन् र बिहार विधानसभामा सबैभन्दा कान्छी विधायिकाको इतिहास रचिन् । उनलाई बिहार बिजेपीका अध्यक्ष दिलीप जयसवालले पार्टी सदस्यता दिलाएका थिए । 

राजनीतिमा आबद्ध हुँदादेखि विधायिका हुँदासम्म उनको अध्ययन र पारिवारिक पृष्ठभूमिबारे आमचासो बढेको छ । 

को हुन् मैथिली ठाकुर?

मैथिली ठाकुरको जन्म २५ जुलाई २००० मा बिहारको मधुवनी जिल्लामा भएको थियो । उनका पिता रमेश ठाकुर पेसाले संगीत शिक्षक हुन् । आमा पूजा ठाकुर भने गृहिणी । राम्रो जागिर र उज्ज्वल भविष्यको खोजी गर्दै उनका पिता परिवारसहित दिल्ली आएका थिए । मैथिलीको अध्ययन र संगीत यात्रा पनि दिल्लीमै अघि बढ्यो । उनका दुई भाई ऋषभ र अयाची ठाकुर छन्। उनीहरू पनि संगीतमै सक्रिय छन् । 

मैथिलीले सुरुआती शिक्षा गाउँमै प्राप्त गरिन् । दिल्ली आएपछि उनले बाल भवन इन्टरनेसनल स्कुलमा १२ सम्मको पढाइ पूरा गरिन् । पछि उनले दिल्ली विश्वविद्यालयको आत्माराम सनातन धर्म कलेजबाट स्नातक पास गरिन् । संगीत र औपचारिक शिक्षालाई सँगसँगै अघि बढाएकी मैथिली मिहिनेत र लगनका कारण दुवै क्षेत्रमा अब्बल हुँदै गइन् । 

उनका पिता र बाजे दुवै संगीतकार हुन् । सोही कारण उनी बालापनदेखि नै संगीतसँग नजिक भइन् । शास्त्रीय संगीतको सुरुआती पाठशाला उनको घर नै बन्यो । निकै कम उमेरमा नै उनले भारतीय शास्त्रीय संगीत र मैथिली लोकधुनमा महारत हासिल गर्न सफल भइन् । उनले गाएका शास्त्रीय गीतहरू केही वर्षयता नै सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । 

संगीत यात्रा

उनको संगीत यात्रा सहज भने थिएन । ‘सा रे ग म प लिटिल च्याम्प्स’ र ‘इन्डियन आइडल’ जुनियर’ जस्ता ठूला रियालिटी शोमा पनि उनी सहभागी बनिन् । तर सुरुआती क्रममा उनलाई रिजेक्सनको सामना गर्नुपर्‍यो । ८ वर्षअघि २०१७ मा ‘द राइजिङ स्टार’मा उनले ‘फर्स्ट रनर–अप’ बन्दै सबैको ध्यान आफूतिर खिचिन् ।त्यसपछि उनका भजन र लोकगीत सामाजिक सञ्जालहरूमा भाइरल हुन थाले । उनको युट्युब च्यानल र इन्स्टाग्राममा लाखौं फलोअर्स छन् । आज उनको सुमधुर आवाज करोडौंको कानसम्म पुग्छ । 

संगीत क्षेत्रमा दिएको योगदानको कदर गर्दै २०२४ मा बिहार सरकारले उनलाई राज्य खाद्य ग्रामोद्योग बोर्डको ब्रान्ड एम्बेसडरसमेत बनायो । यसअघि उनलाई संगीत नाटक एकेडेमीले प्रतिष्ठित ‘उस्ताद बिस्मिल्लाह खान युवा पुरस्कार’बाट सम्मानितसमेत गरिसकिएको छ । युवा कलाकारहरूका लागि यो पुरस्कार पाउनु निकै ठूलो उपलब्धिका रूपमा लिइन्छ । गत वर्ष मात्रै उनलाई प्रधानमन्त्री नरेन्द्र मोदी नेसनल क्रियटर अवार्डबाट सम्मानित गरिएको थियो । 

उनका प्रशंसकहरू ‘जुनियर बिहार कोकिला’का नामले सम्बोधन गर्छन् । उनको गायनमा मिठास, लोकधुनको गहिराइ र आवाजमा सादगी देखिन्छ । उनी हिन्दी, भोजपुरी, मैथिलीसहित कैयौं भाषामा गीत गाउँछिन् । 

देशभित्र मात्रै होइन, शास्त्रीय र लोकगीतका लागि उनी विदेशमा समेत शोका लागि जाने गरेकी छिन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार उनलाई एक कार्यक्रमका लागि भारतीय ५ देखि ७ लाख रुपैयाँसम्म दिन्छन् । 

उनका परम्परागत र भक्तिगीतहरूले भारत र विदेशमा रहेका दर्शकमाझ उनलाई लोकप्रिय बनायो । उनका भिडिओहरू करोडौं पटक हेरिन्छन् र उनी अन्तर्राष्ट्रिय स्तरमा समेत कार्यक्रमहरू गर्छिन् ।

मैथिली भाषाका लोकगीतका कारण उनी नेपालको तराई-मधेश, विशेषगरी मिथिला क्षेत्रमाझ पनि उत्तिकै लोकप्रिय छिन् । उनी सन् २०२३ मा जानकी मन्दिरसमेत आएकी थिइन् । 

राजनीतिमा आउनुअघि उनलाई भारतीय निर्वाचन आयोगले बिहारको 'स्टेट आइकन' समेत बनाएको थियो । मैथिलीले सन् २०२४ मा अजय देवगन र तब्बु अभिनीत चलचित्र 'औरों में कहाँ दम था' मा 'किसी रोज' बोलको गीत गाएकी थिइन् ।

बिहार विधानसभामा जितपछि मैथिलीले भावुक हुँदै मतदातालाई धन्यवाद दिएकी छिन् । उनले भनेकी छिन्, ‘आज तपाईंहरूको अपार प्रेम, विश्वास र आशीर्वादका कारण तपाईंकी प्रतिनिधि नभई छोरीका रूपमा उभिएकी छु । यो जित मेरो मात्र होइन, यो जित अलिनगरको हो । अलिनगरको हरेक घरको हो, हरेक त्यो हातको जित हो, जसले मलाई आशीर्वाद दिनुभयो ।’

गोविन्द

Link copied successfully