बिहार निर्वाचनमा एनडीए गठबन्धनको ‘सुनामी’

अहिलेकै अग्रता हेर्दा सत्तारुढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले दुई सयभन्दा धेरै सिट जित्ने प्रक्षेपण गरिएको छ । त्यस्तै, भाजपा पहिलो दल बन्ने देखिएको छ ।

कार्तिक २८, २०८२

एजेन्सी

NDA alliance's 'tsunami' in Bihar elections

What you should know

काठमाडौँ — भारतको बिहार विधानसभा निर्वाचनमा सत्तारुढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)गठबन्धनले दुई तिहाईभन्दा धेरै मत ल्याउने देखिएको छ ।

 २ सय ४३ सिटमा भएको निर्वाचनमा मतगणना सम्पन्न भएका १ सय ९० सिटमध्ये भारतीय जनता पार्टी (भाजपा)७७,मुख्यमन्त्री नितिशकुमार नेतृत्वको जनता दल युनाइटेड (जदयू) ६३ र चिराग पासवान नेतृत्वको लोक जनशक्ति पार्टी (रामविलास)का उम्मेदवार १५ स्थानमा विजयी घोषणा भइसकेका छन् । थप ६० सिटमा एनडीए गठबन्धनका उम्मेदवारहरूको अग्रता छ ।

अहिलेकै अग्रता हेर्दा यस गठबन्धनले २ सयभन्दा धेरै सिट जित्ने प्रक्षेपण गरिएको छ । त्यस्तै, भाजपा पहिलो दल बन्ने देखिएको छ । 

‘विकासको विजय हासिल भएको छ । लोककल्याणको विजय हासिल भएको छ । सामाजिक न्यायको विजय हासिल भएको छ,’ प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित भाजपाको मुख्यालयमा विजयी सभालाई सम्बोधन गर्दै भने । 

विपक्षी महागठबन्धनबाट राष्ट्रिय जनशक्ति पार्टी (राजद) का उम्मेदवार १९ स्थानमा विजयी भएका छन् भने थप ८ स्थानमा पार्टीका उम्मेदवारले अग्रता लिइरहेका छन् । कंग्रेस आईले ३ स्थान जितेको छ भने ३ स्थानमा अग्रता बनाएको छ । महागठबन्धनले मुख्यमन्त्रीका रुपमा प्रचार गरेका तेजस्वी यादव राघोपुरबाट विजयी भएका छन् । 

भत्ताको राजनीति 

बिहारका मुख्यमन्त्री नितिशकुमार नेतृत्वको सरकारले पछिल्ला महिना मतदाता लक्षित विभिन्न योजना ल्याएको थियो । मुख्यमन्त्री रोजगार योजना त्यसमध्येको एक रणनीतिक योजना थियो । गत सेप्टेम्बरमा लागु गरिएको यही योजनाअन्तर्गत झन्डै ७५ लाख महिलाको खातामा साना व्यवसाय सुरु गर्नका लागि  १० हजार भारु सीधा पठाइएको थियो । मुख्यमन्त्री नितिशकुमारले आफ्ना चुनावी र्‍यालीहरुमा पनि पछिल्ला दुई दशकमा स्थानीय निकायमा महिलाहरुलाई आरक्षण, जागिर र आफ्नै व्यवसाय गर्न चाहनेलाई १० हजार सहयोग गरिएको स्मरण गराएका थिए । 

NDA alliance's 'tsunami' in Bihar electionsमतदान पर्यवेक्षक तथा पटना कलेजका पूर्व प्रमुख नवलकिशोर चौधरीले मानिसहरुले विकासका पक्षमा मत खसालेको बताए । ‘महिलाहरुले  विशेषगरी स्थानीय तहमा पाएको आरक्षण र मुख्यमन्त्री रोजगार योजनाअन्तर्गत पाएको १० हजारलाई आधार मानेर मत खसालेका छन् । उनीहरुले नितिशकुमारलाई विकासप्रेमी नेताका रुपमा लिन्छन्,’ चौधरीले हिन्दुस्तान टाइम्ससँग भने । 

मानिसहरुले वंशवादको राजनीतिलाई पनि अस्वीकार गरेको उनले बताए । त्यस्तै, निर्वाचनभन्दा केही समयअघि मात्रै , १ सेप्टेम्बरअघि लागू हुनेगरी सरकारले १ सय २५ युनिटसम्म बिजुली निःशुल्क गर्ने घोषणा गरेको थियो । यो योजनाबाट राज्यका झन्डै २ करोड परिवार प्रत्यक्ष लाभान्वित भएका थिए । नितिशकुमार सरकारले पछिल्लो समय ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई दिइने भत्ता पनि बढाएको थियो । 

विपक्षी महागठबन्धनले निर्वाचनको मुखैमा ल्याइएका यी योजनाको विरोध गरेपनि त्यसलाई रोक्न सकेनन् । महागठबन्धनले पनि ‘तेजस्वीका प्रण’ नाम चुनावी घोषणापत्रमा महत्त्वांकाक्षी योजनाहरु सार्वजनिक गरेको थियो । सरकार बनेको २० दिनभित्रै संसद्‌मा विधेयक लगेर प्रत्येक घरका एकजनालाई रोजगारीको प्रबन्ध गरिने, महिलालाई प्रति महिना २५ सय रुपैयाँ भत्ता दिने, ज्येष्ठ नागरिक तथा अपंगता भएकाहरुको भत्ता बढाउनेलगायत वाचा उसले गरेको थियो । 

अब बिहारको भूमिमा जंगलराज फर्कँदैन : मोदी 

NDA alliance's 'tsunami' in Bihar electionsफाइल तस्बिर

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता सुशासनको पक्षमा रहेको बताएका छन् । बिहार निर्वाचनपछि दिल्लीस्थित भारतीय जनता पार्टीको मुख्यालयमा विजयी सभालाई सम्बोधन गर्दै मोदीले धोका दिनेहरु परास्त भएको बताए । ‘बिहारको धर्तीमा अब कहिल्यै जंगलराज फर्कनेवाला छैन । आजको जित बिहारका आमा–बहिनीहरुको हो, जसले राजदको शासनकालमा जंगलराज झेलेका थिए,’ मोदीले भने, ‘यो परिणाम ती विकास विरोधीहरुका लागि जवाफ हो, जसलाई बिहारमा उद्योग चाहिएको थिएन । यो जनादेश परिवारवादविरुद्ध र विकासवादका पक्षमा छ ।’

हरेक कोणबाट समीक्षा हुनेछ : राजद 

राजदका प्रवक्ता मृत्युञ्जय तिवारीले निर्वाचनका विषयमा पार्टीले निर्मम समीक्षा गर्ने बताएका छन् । उनले यस्तो परिणामको कल्पना नगरेको बताए । ‘सबै विषयमा छलफल हुनेछ । पूरै परिणाम आइसकेपछि हरेक कोणबाट समीक्षा हुनेछ । जो सुनामी आइरहेको छ, त्यसको कारण के हो पत्ता लाग्नेछ । कसैले पनि यस्तो परिणाम आउने कल्पना गरेको थिएन,’ उनले भने, ‘कस्तो खेल भयो ? के भयो ? समीक्षा हुनेछ ।’

एजेन्सी

Link copied successfully