अवामी लिगको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी

अवामी लिगले बिहीबार ढाका बन्दको घोषणा गरेको थियो भने आइतबारसम्मका लागि देशव्यापी विरोध प्रदर्शनका कार्यक्रम राखेको छ ।

कार्तिक २७, २०८२

कान्तिपुर संवाददाता

Awami League central office vandalized and set on fire

काठमाडौँ — बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी भएको छ ।

बिहीबार दिउँसो १ बजेपछि यस पार्टीविरुद्ध नाराबाजी गर्दै एउटा समूह कार्यालयभित्र छिरेको थियो । उनीहरूले कार्यालयमा रहेका केही ब्यानर जम्मा गरेर आगजनी गरेको बंगलादेशी सञ्चामाध्यम द डेली स्टारले जनाएको छ ।

अवामी लिगले बिहीबार ढाका बन्दको घोषणा गरेको थियो भने आइतबारसम्मका लागि देशव्यापी विरोध प्रदर्शनका कार्यक्रम राखेको छ । जबकी, यस पार्टीविरुद्ध राजनीतिक गतिविधि गर्नका लागि सरकारले रोक लगाएको थियो । यस्तो अवस्थामा अवामी लिगले गर्ने राजनीतिक गतिविधिविरुद्ध सरकार समर्थक विभिन्न राजनीतिक दल तथा समूहले प्रदर्शन गर्ने चेतावनी दिएका थिए ।   

अवामी लिगको पार्टी कार्यालय ढाकास्थित गुलिस्तान इलाकामा रहेको छ। यद्यपि, पार्टीमाथिको राजनीतिक प्रतिबन्धका कारण यहाँ पछिल्लो समय कुनै कार्यक्रम भएको थिएन । बिहीबारको ढाका बन्द घोषणा पनि पार्टीले सामाजिक सञ्जालमार्फत नै गरेको थियो ।

बंगलादेशमा आगामी फेब्रुअरीमा निर्वाचन हुँदैछ । तर यस निर्वाचनमा हसिनाको अवामी लिगलाई उम्मेदवारीबाट बन्चित गरिएको छ । हसिना समर्थकहरुले यस कदमको विरोध गर्दै आएका छन् ।

निर्वाचन नजिकिँदै गर्दा आइतबार, सोमबार र मंगलबार देशका विभिन्न क्षेत्रमा क्रुड बम बिस्फोट तथा आगजनीका घटना भएपछि सरकारले सुरक्षा व्यवस्था कडा बनाएको हो । प्रहरीले हिंसात्मक गतिविधिमा संलग्न भएको अभियोगमा ठूलो संख्यामा मानिसहरुलाई पक्राउ पनि गरेको छ ।

कान्तिपुर

Link copied successfully