प्रहरी, सेना, र्यापिड एक्सन बटालियन र सीमा सुरक्षा दल गस्तीमा
What you should know
एजेन्सी — पछिल्ला तीन दिन देशका विभिन्न क्षेत्रमा क्रुड बम बिस्फोट तथा आगजनीका घटना भएपछि सरकारले सुरक्षा व्यवस्था कडा बनाएको हो ।
ढाकामा पछिल्लो समय फैलिएका हिंसात्मक गतिविधि तथा पूर्वप्रधानमन्त्री शेख हसिना पक्षधरहरुले गरेको बन्द आव्हानपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
हसिनाको पार्टी अवामी लिगले बिहीबार बन्द आव्हान गरेको छ ।बंगलादेशमा आगामी फेब्रुअरीमा निर्वाचन हुँदैछ । तर यस निर्वाचनमा हसिनाको अवामी लिगलाई उम्मेदवारीबाट बन्चित गरिएको छ । हसिना समर्थकहरुले यस कदमको विरोध गर्दै आएका छन् ।
निर्वाचन नजिकिदैं गर्दा आइतबार, सोमबार र मंगलबार देशका विभिन्न क्षेत्रमा क्रुड बम बिस्फोट तथा आगजनीका घटना भएपछि सरकारले सुरक्षा व्यवस्था कडा बनाएको हो । प्रहरीले हिंसात्मक गतिविधिमा संलग्न भएको अभियोगमा ठूलो संख्यामा मानिसहरुलाई पक्राउ गरेको छ ।
प्रहरीसँगै सेना, र्यापिड एक्सन बटालियन र सीमा सुरक्षा दलले पनि विभिन्न क्षेत्रमा गस्ती गरिरहेको छ । कडा सुरक्षाका कारण आज ढाकाका सडकहरुमा ट्राफिक आवागमन तुलनात्मक रुपमा कम छ ।
मेट्रो रेलमा पनि यात्रुहरुको संख्या कम रहेको बंगलादेशी सञ्चारमाध्यम द डेली स्टारको समाचारमा उल्लेख छ । त्यस्तै विमानस्थलहरुमा पनि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
हसिनाको मुद्दा फैसला हुन बाँकी
मानवताविरुद्धको अभियोगमा ढाकास्थित बंगलादेश अन्तर्राष्ट्रिय अपराध प्राधिकरणमा हसिनाको मुद्दा फैसला हुन बाँकी छ ।
सन् २०२४ को जुलाईदेखि अगस्टसम्म चलेको शान्तिपूर्ण प्रदर्शनमा हिंसात्मक दमन गर्न आदेश दिएको अभियोग उनीमाथि छ । यस मुद्दामा अन्य २६ जनाविरुद्ध पनि उजूरी दर्ता भएको छ ।
आन्दोलन चर्किएपछि ५ अगस्ट २०२४ मा हसिना देश छाडेर भागेकी थिइन् । त्यसको तीन दिनपछि बंगलादेशमा निर्वाचन गराउनका लागि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।
