उपमुख्यमन्त्री तथा भाजपा नेता सम्राट चौधरीले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केन्द्र र राज्य दुबै ठाउँमा विकासको समन्वय बनाएको बताए ।
काठमाडौँ — बिहार विधानसभा चुनावमा एग्जिट पोलका नतिजाहरुले सत्तारुढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन(एनडिए)ले बहुमत ल्याउनसक्ने पूर्वानूमान गरेका छन् ।
यससँगै एनडिए कार्यकर्ताहरुले पटना शहर, भारतीय जनता पार्टीको कार्यालय र जनता दल युनाइटेडको कार्यालयमा खुसी मनाउन थालेका छन् ।
बिहारका मुख्यमन्त्री नितिशकुमारले बिहारका जनताले सुशासन र विकासप्रति भरोसा जताएको बताए । ‘बिहारले सधैं विकास र स्थिरतालाई प्राथमिकता दिएको छ । यस एग्जिट पोलले जनता सुशासन र विकासको पक्षमा रहेको देखाउँछ ।’
जनता दल युनाइटेड (जदयू)को कार्यालयमा ‘फिर एक बार नितिश सरकार’ नारा गुन्जिएको थियो । उपमुख्यमन्त्री तथा भाजपा नेता सम्राट चौधरीले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केन्द्र र राज्य दुबै ठाउँमा विकासको समन्वय बनाएको बताए ।
अधिकांश एग्जिट पोलहरुले एनडिएको पक्षमा बहुमत आउने र कांग्रेस–राष्ट्रिय जनता दल (राजद) को महागठबन्धन दोस्रो स्थानमा आउने अनुमान लगाएका छन् । त्यस्तै, प्रशान किशोर नेतृत्वको जनसुराज पार्टीले थोरै सिटमात्र जित्नसक्ने एग्जिट पोलहरुले संकेत गरेका छन् ।
यद्यपी राजदका राष्ट्रिय प्रवक्ता मनोजकुमार झाले यसलाई खारेज गरेका छन् । ‘एग्जिट पोलले सधैं सत्तारुढ दलकै पक्षमा नतिजा देखाउने गरेको छ । जनताले परिवर्तनका लागि भोट दिएका छन् । मतगणना सुरु हुनासाथ यो स्पष्ट हुने छ ।’
बिहारमा ६ नोभेम्बर र ११ नोभेम्बरमा २ चरणमा गरेर २ सय ४३ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा भएको थियो ।
