भुटान पुगेर मोदीले भने : दिल्ली आक्रमणका षडयन्त्रकारीलाई उम्कन दिइँदैन 

सोमबार साँझ दिल्लीको लालकिल्लानजिक भएको एक कारमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ

कार्तिक २५, २०८२

कान्तिपुर संवाददाता

Modi says after reaching Bhutan: Delhi attack conspirators will not be allowed to escape

What you should know

काठमाडौँ — प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली आक्रमणका षडयन्त्रकारी उम्कन नपाउने बताएका छन् । भुटानको थिम्पुमा दुई दिने राजकीय भ्रमणमा रहेका मोदीले घटनामा जिम्मेवार रहेका सबैलाई न्यायिक कठघरामा ल्याइने बताए ।

सोमबार साँझ दिल्लीको लालकिल्ला नजिक एक कारमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । ‘म यहाँ आज निकै भारी मन लिएर आएको छु । हिजोमात्रै दिल्लीमा भयानक घटना भयो र साँझको समय सबै स्तब्ध भए । म पीडित परिवारको पीडा बुझ्छु । आज पूरै देश उनीसँगै खडा छ,’ उनले भने ।

उनले घटनाको अनुसन्धान गरिरहेका सबै निकायसँग रातभर आफ्नो सम्पर्क भएको बताए । ‘ती निकायले यो षडयन्त्रको चुरो पत्ता लगाउनेछन् । षडयन्त्रकारी सुरक्षित छैनन् । सबैलाई न्यायिक कठघरामा ल्याइनेछ,’ उनले भने ।

मंगलबारै भारतका रक्षामन्त्री राजनाथ सिंहले विस्फोटमा संलग्नमाथि कडा कारबाही हुने बताएका छन् । मनोहर पारिकर इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनलाइसिस (एमपी–आईडीएसए) ले आयोजना गरेको ‘दिल्ली रक्षा संवाद’ कार्यक्रममा बोल्दै मन्त्री सिंहले भने, ‘यो घटनामा संलग्नमाथि कडा कारबाही हुनेछ ।’

यस घटनापछि दिल्लीलगायतका सहरमा हाई अलर्ट जारी गरिएको छ । विमानस्थल, रेलवे स्टेसन र बस टर्मिनलमा सुरक्षा व्यवस्था कडा छ । लालकिल्ला मेट्रो स्टेसन पनि बन्द गरिएको छ ।  घटनास्थललाई घेरेर सुरक्षाकर्मीले अनुसन्धान गरिरहेका छन् । स्पेसल सेल, अपराध महाशाखा, फरेन्सिक विज्ञान ल्याबका टोली घटनास्थलमा छन् ।

दिल्ली हमलामा विस्फोट भएको कारका पूर्व दुई मालिकलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेको छ । गृहमन्त्री अमित शाहले सबै सम्भावनालाई मध्यनजर गरेर अनुसन्धान भइरहेको बताएका छन् ।

कान्तिपुर

Link copied successfully