अमेरिकामा सटडाउन अन्त्यको ढोका खुल्यो, ८ डेमोक्रेटिक सांसद्ले दिए सहमति

यसलाई लामो समयदेखिको सटडाउन अन्त्य हुने दिशाको पहिलो कदमका रुपमा लिइएको छ ।

कार्तिक २४, २०८२

कान्तिपुर संवाददाता

The door to ending the shutdown in the US has opened, 8 Democratic lawmakers have agreed

काठमाडौँ — अमेरिकी सिनेटमा सटडाउन अन्त्य गर्ने पक्षमा ६० मत र विपक्षमा ४० मत परेको छ । डेमोक्रेटिक पार्टीका आठ सांसद्ले सरकार र रिपब्लिकन पार्टीका नेतालाई सटडाउन खोल्न दिने समझदारी गरेको केही समयपछि सिनेटमा मतदान भएको हो । 

यसलाई लामो समयदेखिको सटडाउन अन्त्य हुने दिशाको पहिलो कदमका रुपमा लिइएको छ । सटडाउन तत्कालै अन्त्य गर्ने र अफोर्डेबल केयर एक्टअन्तर्गत स्वास्थ्य बिमा अनुदान र अन्य मुद्दाबारे बेग्लै मतदान गर्ने सहमति बनेको छ ।

अमेरिकामा पछिल्लो ४० दिनदेखि जारी सटडाउनको असर देशभर परेको छ । मतदानअघि यातायतमन्त्री सियन डफीले हवाई यात्रा थ्याङ्क्स गिभिङअघि ठूलो संख्यामा कटौती हुने बताएका थिए । त्यस्तै अदालतको आदेशपछि कृषि विभागले ‘फु स्ट्याम्प लाभ’ जारी नगर्न राज्यहरुलाई निर्देशन दिएको थियो ।

सिनेटमा एकपटक आर्थिक विधेयकमाथिको फिलिबुस्टर हटाउन ६० भोट जुटाएपछि बाँकी मतदान प्रक्रियामा बहुमत मात्रै पुर्‍याए पनि पुग्छ । यद्यपि, सटडाउन अन्त्यका लागि केही प्रक्रिया बाँकी छ । यसका लागि आर्थिक विधेयकलाई तल्लो सदन (हाउस) पठाइनेछ र त्यहाँबाट राष्ट्रपतिकहाँ पुर्‍याउनुपर्नेछ । 

सटडाउनका कारण अमेरिकामा पछिल्ला ४० दिनदेखि आपतकालीनबाहेक सबै सरकारी सेवा ठप्प छन् । झन्डै १४ लाख संघीय कर्मचारीले यस अवधिमा तलब लिन पाएका छैनन् । 

कान्तिपुर संवाददाता

Link copied successfully