नयाँ दिल्लीमा बम विस्फोट, कम्तीमा आठ जनाको मृत्यु

लाल किल्ला मेट्रो स्टेसनको गेट नम्बर १ र ४ मा सोमबार राति भएको बम विस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु भएको हो ।

कार्तिक २४, २०८२

कान्तिपुर संवाददाता

Bomb blast in New Delhi, at least eight dead

काठमाडौँ — नयाँ दिल्लीको लाल किल्ला मेट्रो स्टेसनको गेट नम्बर १ र ४ मा सोमबार राति भएको बम विस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म विस्फोटको कारण खुल्न सकेको छैन । विस्फोटमा १२ जना घाइते भएका छन् ।

लाल किल्ला नजिक रहेको कारमा विस्फोट भएको थियो । जसकारण आसपास रहेका अन्य गाडीमासमेत क्षति पुगेको छ । साँझ ७ बजे विस्फोटको खबर आएको दिल्ली अग्नि नियन्त्रक विभागले जनाएको छ । घटनापछि विस्फोट क्षेत्रलाई घेरेर सुरक्षाकर्मीले अनुसन्धान सुरु गरेका छन् । विस्फोट भएको र क्षति पुगेका क्षेत्रमा दिल्ली प्रहरीको स्पेसल सेल तैनाथ छ ।

प्रत्यक्षदर्शीले यति शक्तिशाली आवाज जीवनमा कहिल्यै नसुनेको प्रतिक्रिया दिएका छन् । ‘मैले विस्फोटको आवाज तीनपटक सुनेँ । मलाई लागेको थियो, म बाँच्नेवाला छैन,’ नजिकैका एक पसलेले भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्ससँग भनेका छन् ।

घटनालगत्तै मानव शरीरका अंगहरु सडकमा देखेको अर्का एक प्रत्यक्षदर्शीले बताए । ‘सडकमा शरीरका अंग छरिएको देख्यौं । के भयो भनेर केही सोच्नै सकिएन,’ हिन्दुस्तान टाइमसँग उनले भनेका छन्, ‘धेरै कारहरु पनि क्षतिग्रस्त थिए ।’ 

भारतको सेन्ट्रल रिजर्भ पुलिस फोर्सका डीआईजी किशोर प्रसादले यस विषयमा अहिल्यै कुनै टिप्पणी गर्न नसकिने बताए । ‘म भर्खरै मात्रै घटनास्थल पुग्दैछु । यसबारे अहिल्यै टिप्पणी गर्नु हतारो मात्रै हुनेछ ,’ उनले भने । 

'नेपालीहरू परेको खबर छैन'

दिल्लीस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले विस्फोटमा नेपाली नागरिक नपरेको बताएका छन् । उनले भने, 'हामी दिल्ली प्रहरीसँग नियमित सम्पर्कमै छौँ । अहिलेसम्म नेपाली नागरिक परेको खबर आएको छैन ।'

कान्तिपुर संवाददाता

Link copied successfully