दक्षिणी प्रान्त पारानास्थित रियो बोनिटो डु इगुआजु नगरपालिकामा कारहरु पल्टिएको र घरहरुमा क्षति पुगेको पाराना सिभिल डिफेन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ — ब्राजिलमा गएको शक्तिशाली तुफानले दक्षिणी प्रान्त पारानास्थित रियो बोनिटो डु इगुआजु नगरपालिकामा कम्तीमा ५ जनाको मृत्यु भएको छ । १ सय ३० जना घाइते छन् ।
यस सहरमा कारहरु पल्टिएको र घरहरुमा क्षति पुगेको पाराना सिभिल डिफेन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘३० जना मानिसहरु गम्भीर घाइते तथा झन्डै १ सय मानिस सामान्य घाइते भएको प्रारम्भिक रिपोर्टले देखाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
सरकारी अधिकारीहरुका अनुसार १४ हजार जनसंख्या रहेको यस सहरमा १८० देखि २५० किलोमिटर प्रतिघण्टाको तीव्रतामा हावा चलेको थियो । त्यसक्रममा रुखहरु ढलेका छन् ।
पाराना राज्यका गभर्नर राटिन्हो जुनियरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सुरक्षाकर्मी अलर्ट छन् । उनीहरुले सहरमा तुफानले पारेको प्रभावबारे नियमन र उद्धार गरिरहेका छन् ।’ मौसम विभागका अधिकारीहरुका अनुसार यस तुफानले निम्त्याउनसक्ने खतराबारे दक्षिणी राज्यहरु पाराना, सान्ता काटारिना तथा रिया ग्रान्डे डो सुलका स्थानीयलाई पूर्व–सूचना दिइएको थियो ।
