उनी अमेरिकी इतिहासमा सभामुख निर्वाचित हुने पहिलो र अहिलेसम्मकै एकमात्र महिला हुन् ।
काठमाडौँ — अमेरिकाको तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) की पूर्व सभामुख न्यान्सी पेलोसीले चुनाव नलड्ने घोषणा गरेकी छन् ।
उनले २०१९ देखि २०२३ सम्म सभामुखको भूमिका निर्वाह गरेकी थिइन् । अमेरिकी राजनीतिकै प्रभावशाली व्यक्तिमध्ये एक मानिने डेमोक्रेटिक पार्टीकी पेलोसीले सान फ्रान्सिस्कोबाट झन्डै ४० वर्ष तल्लो सदनमा प्रतिनिधित्व गरिन् ।
८५ वर्षीया पेलोसीले बिहीबार मतदातासमक्ष भिडियो सन्देश जारी गर्दै फेरि संसद्को चुनाव नलड्ने जानकारी गराएकी हुन् । उनले सांसद्का रुपमा आफ्नो यही कार्यकाल अन्तिम हुने बताइन् ।
‘मैले माया गर्ने मेरो सान फ्रान्सिस्को शहरलाई सन्देश छ, आफ्नो शक्ति चिन,’ उनले भनिन्, ‘हामीले इतिहास बनाएका छौं । हामीले प्रगति गरेका छौं । हामीले सधैं यही तरिकाले नेतृत्व गरेका छौं ।’
उनले भनिन्, ‘हामीले प्रजातन्त्रमा यसरी पूर्ण सहभागी भएर आफ्ना विचारलाई निरन्तरता दिन जरुरी छ ।’ पूर्व राष्ट्रपति बाराक ओबामाले पेलोसीको सभामुखको कार्यकाल अमेरिकी इतिहासकै उत्कृष्टमध्ये एक रहेको प्रतिक्रिया दिएका छन् ।
