अमेरिकामा सटडाउनको असर : ४० विमानस्थलमा उडान कटौती

३७ दिनदेखि जारी सटडाउन र तलब नपाएका कर्मचारीका कारण अमेरिकी विमानस्थलहरूमा घरेलु उडान कटौतीको घोषणा गरिएको छ।

कार्तिक २१, २०८२

एजेन्सी

Impact of shutdown in the US: Flights cut at 40 airports

What you should know

काठमाडौँ — अमेरिकी अधिकारीहरुले देशका व्यस्त ४० विमानस्थलहरूमा उडान कटौती गर्ने तयारी गरेका छन् । यस निर्णयले दैनिक हजारौँ उडान स्थगित हुने भएका छन् ।

एयर ट्राफिक कन्ट्रोलरमाथि कामको दबाब कम गर्न यस्तो योजना बनाइएको हो । अधिकारीहरूका अनुसार विमानस्थलको कन्ट्रोल  टावरमा एयर ट्राफिक कन्ट्रोलरहरुको संख्या अहिले निकै कम छ । 

अमेरिकामा ३७ दिनदेखि जारी इतिहासकै लामो सटडाडउनका कारण झन्डै १४ लाख संघीय कर्मचारीहरुले तलब पाएका छैनन् । आतपकालीनबाहेक अन्य सरकारी सेवा ठप्प प्रायः छ । 

विमानस्थलका केही कर्मचारी बेतलबी बिदा बसेका छन् । केही कर्मचारी तलब नपाएका कारण 'साइड जब' पनि गरिरहेका छन् । कर्मचारी संगठनहरुले कर्मचारी थकित देखिएको भन्दै चिन्ता व्यक्त गरेका थिए । 

त्यसयता, बिहीबार उडान कटौती हुने ४० वटा विमानस्थलको सूची संघीय उड्डयन प्रशासन (एफएए) ले सार्वजनिक गरेको हो । 

यद्यपि, अन्तर्राष्ट्रिय उडान कटौती नगर्ने प्रशासनले जनाएको छ । 

‘यो अस्वाभाविक हो,’ एफएए प्रमुख बार्यन बेडफोर्डले उडान कटौतीबारे भने, ‘जसरी सटडाउन अस्वाभाविक हो । जसरी हाम्रा कन्ट्रोलरहरुले महिना दिनदेखि तलब नपाउनु अस्वाभाविक हो ।’

घरेलु उडान कटौती हुने ४० विमानस्थलको सूचीमा हार्टस्फिल्ड ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थल, एटलान्टा विमानस्थल, डालस फोर्ट वर्थ इन्टरनेसनल, डेन्भर इन्टरनेसनल, सिकागो विमानस्थल, लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलजस्ता विश्वकै अति व्यस्त विमानस्थल हुन् । 

शुक्रबार उडानमा ४ प्रतिशत कटौती, ११ नोभेम्बरमा ६ प्रतिशत कटौती, १३ नोभेम्बरमा १३ प्रतिशत र १४ नोभेम्बरमा १० प्रतिशत कटौती गर्ने योजना (एफएए) ले सार्वजनिक गरेको छ । 

एजेन्सी

Link copied successfully