मेक्सिकोकी राष्ट्रपतिमाथि सार्वजनिक स्थानमा यौन दुर्व्यवहार

मेक्सिको सिटीका मेयर क्लारा ब्रुगाडाका अनुसार दुर्व्यवहारमा संलग्न पुरुषलाई पक्राउ गरिएको छ । अहिले ती पुरुष यौन अपराध अनुसन्धान ईकाइको हिरासतमा छन् ।

कार्तिक २०, २०८२

कान्तिपुर संवाददाता

Mexican president accused of sexual assault in public

काठमाडौँ — मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउममाथि बीच सडकमै यौन दुर्व्यवहार भएको छ । मेक्सिकी सहरमा नागरिकहरुसँग कुराकानी गरिरहेका बेला भीडबाट आएका एक पुरुषले उनीमाथि यौन दुर्व्यवहार गरेका हुन् । 

राष्ट्रपति शेनबाउमले ती पुरुषविरुद्ध मुद्दा दायर गरेकी छिन् । मादक पदार्थ सेवन गरी आफूलाई दुर्व्यवहार गरेको घटनामा मुद्दा दायर गर्दै उनले यस घटनालाई ‘सबै महिलामाथिको आक्रमण’ भनेकी छिन् । 

मेक्सिको सिटीका मेयर क्लारा ब्रुगाडाका अनुसार दुर्व्यवहारमा संलग्न पुरुषलाई पक्राउ गरिएको छ । अहिले ती पुरुष यौन अपराध अनुसन्धान ईकाइको हिरासतमा छन् । 

भिडियो फुटेज अनुसार घटना मंगलबार भएको थियो । मेक्सिको सहरमा शेनबाउनमले नागरिकहरुसँग कुरा गरिरहेका बेला भीडबाट छिरेर एक पुरुषले उनको स्तन छोएको र त्यसपछि चुम्बन गर्ने प्रयास गरेको देखिन्छ । 

अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेस (एपी)का अनुसार राष्ट्रपति शेइनबाउममाथि यौन दुर्व्यवहारको घटना राजधानीको ऐतिहासिक डाउनटाउन क्षेत्रमा भएको हो ।

राष्ट्रपति शेनबाउमले तत्काल फर्केर ती पुरूषको हात आफ्नो काँधबाट हटाउँछिन् । उनले शान्तपूर्वक, हाँसेरै उनको सामना गर्छिन् । त्यसपछि सरकारी अधिकारी त्यहाँ आएर राष्ट्रपतिको छेउबाट ती पुरूषलाई हटाएका थिए ।

त्यसपछि पनि उनले राष्ट्रपतिको नजिक गएर कुरा गर्ने प्रयत्न गरेका थिए।

अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसका अनुसार त्यति भइसक्दा पनि राष्ट्रपतिको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी त्यहाँ उपस्थित थिएनन् ।

केही छिनपछि त्यहाँ आएका सुरक्षाकर्मीहरूले ती पुरूषलाई पक्राउ गरेका थियो।

यो घटनापछि सामाजिक सञ्जालहरुमा आक्रोश उत्पन्न भएको छ । सार्वजनिक जीवनमा महिलाहरुमाथि हुने उत्पीडन र सुरक्षाको विषयमा फेरि चर्चा सुरु भएको छ । 

मेक्सिको सिटी प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ती व्यक्तिले सोही दिन अन्य दुई महिलाहरुमाथि पनि दुर्व्यवहार गरेको खुलेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully