ट्रम्पले रोक्न खोज्दाखोज्दै कसरी बने मम्दानी न्युयोर्कको मेयर ?

मम्दानीले चुनावी प्रचारका क्रममा ‘न्युयोर्क सबैका लागि सस्तो सहर’ भन्ने मूल नाराको व्यापक प्रचार गरेका थिए। उनले निःशुल्क बस सेवा, आवासका लागि स्थिर भाडा, प्रत्येक स्ट्रिटमा सस्तो पसलहरू, २ लाख नयाँ सस्तो आवास एकाई स्थापनामा गर्ने प्रतिबद्धता गरिसकेका छन्।

कार्तिक १९, २०८२

सुदीप शिवाकोटी

How did Mamdani become mayor of New York while Trump tried to stop him?

टेक्सस — अमेरिकाको सबैभन्दा शक्तिशाली स्थानीय कार्यकारी पद न्युयोर्क सहरको मेयरमा मुस्लिम आप्रवासी युवा जोहरान क्वामे मम्दानी विजयी भएका छन्। ३४ वर्षीय मम्दानीले न्युयोर्कका पूर्वगभर्नरसमेत रहेका स्वतन्त्र उम्मेदवार एन्ड्र्यू कुओमोलाई हराउँदै न्यूयोर्क सिटीको नेतृत्वमा बाजी मारेका हुन्।

मंगलबार भएको निर्वाचनमा डेमोक्र्याट् पार्टीबाट मम्दानी, स्वतन्त्र उम्मेदवार कुओमो र रिपब्लिकन पार्टीबाट कुर्टिस सिल्भा चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। अन्तिम निर्वाचन परिणामअनुसार मम्दानीले १० लाख ३६ हजार ५१ मतका साथ विजयी भएका छन्। उनका निकटतम् प्रतिस्पर्धी कुओमोले ८ लाख ५४ हजार ८९५ र रिपब्लिकन उम्मेदवार सिल्भाले १ लाख ४६ हजार १३७ मत पाएका छन्। खसेको जम्मा मतमध्ये मम्दानीले ५०.४, कुओमोले ४१.६ र सिल्भाले ७.१ प्रतिशत मत ल्याएका हुन्।

गत जुन २४ मा आफ्नै पार्टीभित्र भएको डेमोक्र्याटिक मेयर प्राइमरीमा मम्दानीले निकटतम प्रतिस्पर्धी कुओमो र अन्य ९ उम्मेदवारलाई पराजित गर्दै न्युयोर्कको मेयरका लागि उम्मेदवार बन्न सफल भएका थिए। डेमोक्र्याटबाटै प्राइमरी इलेक्शनमा पराजित भएपछि कुओमो स्वतन्त्र उम्मेदवार बनेका हुन्।

चुनाव जितेपछि मम्दानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति टिप्पणी गर्दै भने, 'जुन मानिसहरूले कोहीलाई सफल बनाउन सक्छन्, तिनै मानिसहरूले उसलाई हराउन सक्छन्।' विपक्षी पार्टी मात्र नभई आप्रवासी भएकै कारण राष्ट्रपति ट्रम्प आफैं चुनाव हराउन सक्रिय भएको भन्दै उनले अब इस्लामिकहरूले मात्र न्युयोर्कमा शासन गर्ने समय सकिएको दाबीसमेत गरे। ट्रम्पले मम्दानीले चुनाव जिते न्युयोर्क सहरका लागि संघीय अनुदान रोकिदिने उद्घोषसमेत गरेका थिए। मम्दानीले ट्रम्पको भनाइबारे आफ्नो नेतृत्वले सबैलाई समेट्ने र न्युयोर्क जस्तो विशाल महानगरका लागि अनुदानमा भर पर्नुपर्ने कुनै कारण नहुने बताए।

अमेरिकाको राजनीतिमा प्रभाव पार्न सक्ने न्युयोर्क सहरको नेतृत्व प्रतिस्पर्धालाई अमेरिकी शीर्ष नेताहरूले महत्त्वपूर्ण मानेका थिए। सबैभन्दा बढी आप्रवासी रहेको न्यूयोर्कको नेतृत्वका लागि आप्रवासी मम्दानीको चर्चाका कारण राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत चुनावी रणनीतिमा प्रत्यक्ष जोडिएका थिए। आफ्नै पार्टी रिपब्लिकनका नेता सिल्भालाई समेत समर्थन नगरेका ट्रम्पले मम्दानी मेयरमा विजयी भएको अवस्थामा संघीय अनुदान रोक्न सक्ने चेतावनी दिएका थिए। राष्ट्रपति ट्रम्पले चुनावी प्रतिस्पर्धा कडा हुने भएपछि मम्दानीको खुलेर विरोध गर्दै स्वतन्त्र उम्मेदवार कुओमोको समर्थन गरेका थिए। ट्रम्प आफ्नो पार्टी रिपब्लिकनका उम्मेदवार सिल्भाको सवालमा मौन थिए।

ट्रम्पले मम्दानी एक अवैध आप्रवासी भएको आरोप लगाउँदै आएका थिए। 'धेरै मानिसहरूले मम्दानी यहाँ अवैध रूपमा बस्दै आएका छन् भनिरहेका छन्,' चुनावअघि राष्ट्रपति ट्रम्पले भनेका थिए, 'मम्दानीबारे हामी सबै कुरा हेर्नेछौं।' मम्दानी एक आप्रवासी भएको र आप्रवासीको नेतृत्वमा एक विशाल महानगर अघि बढाउन नहुने ट्रम्पले टिप्पणीसमेत गर्दै आएका थिए।

को हुन् मम्दानी?

न्युयोर्क सिटीको मेयरमा विजयी भएसँगै विश्वभरबाट चर्चा बटुलेका ३४ वर्षीय मम्दानी अफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालामा जन्मिएका हुन्। मम्दानी प्रसिद्ध भारतीय-अमेरिकी फिल्म निर्देशक मीरा नायर र कोलम्बिया विश्वविद्यालयका प्रख्यात प्राध्यापक महमूद मम्दानीका छोरा हुन् l

मम्दानी डेमोक्र्याटिक पार्टी र अमेरिकाको डेमोक्र्याटिक सोसलिस्टका सदस्यसमेत हुन्। मम्दानी पाँच वर्षको हुँदा उनको परिवार दक्षिण अफ्रिकामा बसाइँ सरेको थियो र त्यसपछि उनी ७ वर्षको उमेरमा अमेरिका आइपुगेका हुन्। मम्दानी अमेरिका आएदेखि नै न्युयोर्कको बासिन्दा हुन्।

मम्दानीले ब्रोक्स हाई स्कुल अफ साइन्सबाट स्नातक गरे र त्यसपछि बोडोइन कलेजबाट अफ्रिकाना अध्ययनमा स्नातक डिग्री प्राप्त गरे। मम्दानीले सन् २०१८ मा अमेरिकी अंगीकृत नागरिकता लिएका हुन्। उनी एक संगीतकारको रूपमा समेत परिचित छन्। सन् २०१६ मा सङ्गीत क्षेत्रबाट आफ्नो करियर सुरु गरेका मम्दानी हिपहपका प्रशंसक हुन्। उनले र्‍याप सङ्गीत रचना र उत्पादन गरेका छन्।

मम्दानी पहिलो पटक २०२० मा न्युयोर्क राज्य सभामा निर्वाचित भएका थिए। उनले डेमोक्र्याटिक प्राइमरीमा चार कार्यकाल बिताएका अराबेला सिमोटासलाई पराजित गरेका थिए। उनी २०२२ र २०२४ मा निर्विरोध निर्वाचित भएका थिए। डेमोक्र्याटिक प्राइमरीको क्रममा, मम्दानीले बर्नी स्यान्डर्स र अलेक्जान्ड्रिया ओकासियो कोर्टेजलगायतका प्रमुख प्रगतिशील राजनीतिज्ञबाट समर्थन प्राप्त गरेका थिए। अमेरिकी राजनीतिको शीर्ष स्थामा उदाउन खोजेका मम्दानी २०२१ देखि न्युयोर्ककै क्विन्स सिटीमा अवस्थित डिस्ट्रिक्ट ३६ बाट न्युयोर्क राज्य सभाका सदस्यका रूपमा राजनीतिमा सक्रिय थिए।

यस्ता छन् मम्दानीका योजना

मम्दानी फरक शैलीका योजना, आप्रवासीका मुद्दा, युवाको शक्ति र न्युयोर्कको श्रम बजारसँगै मध्यम वर्गीयको आर्थिक विकासलाई मुख्य एजेन्डा बनाएर चुनावी मैदानमा उत्रिएका थिए।

उनले चुनावी प्रचारका क्रममा ‘न्युयोर्क सबैका लागि सस्तो सहर’ भन्ने मूल नाराको व्यापक प्रचार गरेका थिए। उनले निःशुल्क बस सेवा, आवासका लागि स्थिर भाडा, प्रत्येक स्ट्रिटमा सस्तो पसलहरू, २ लाख नयाँ सस्तो आवास एकाई स्थापनामा गर्ने प्रतिबद्धता गरिसकेका छन्। उनले सन् २०३० सम्ममा सार्वजनिक सुरक्षा सुधार, सबै क्षेत्रमा न्यूनतम ज्यालामा अनिवार्य वृद्धि र वार्षिक मिलियन भन्दा बढी कमाउनेहरूमा कर वृद्धि गर्ने योजनालाई तत्काल अघि बढाउनेसमेत बताएका छन्।

मम्दानीले अमेरिकी सञ्चार माध्यमसँगको अन्तर्वार्तामा न्युयोर्कलाई पर्यटकीय सहरसँगै हरेक वर्गका लागि सहज रूपमा बाँच्न सक्ने महानगर बनाउने योजना सार्वजनिक गरेका छन्। 'मैले अघि सारेको योजना मेरो कार्यकालमा म पूरा गर्नेछु। राजनीतिक रूपमा म लामो यात्रामा छु, मैले अमेरिका बस्ने आप्रवासीको पीडासमेत सम्बोधन गर्ने कोसिस गर्नेछु,' उनले भने।

मम्दानीले आफुले मुख्य ६ किसिमका योजनालाई हाल प्राथमिकतामा राखेको उल्लेख गरेका छन्। उनले न्यूयोर्क महानगरको हरेक क्षेत्रमा निःशुल्क सहर बस सेवा, निःशुल्क बाल हेरचाह, सरकारद्वारा सञ्चालित किराना पसल सञ्चालन, अपार्टमेन्टमा बस्ने मानिसहरूका लागि भाडा फ्रिज र नयाँ किफायती आवासको व्यवस्था, वार्षिक मिलियन भन्दा बढी आम्दानी गर्नेलाई कर वृद्धिसँगै न्यूनतम ज्यालामा हेरफेर गर्ने प्रतिबद्धता जनाएका छन्।

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully