दुर्घटनापछि एयरपोर्टको दक्षिणी क्षेत्रमा धुँवा र आगो देखिएको थियो । सामाजिक सञ्जालमा साझा गरिएका भिडियोहरुमा तीव्र आगो र जहाजका टुक्राहरु जलिरहेको देखिन्छ ।
काठमाडौँ — अमेरिकाको केन्टकी राज्यस्थित लुइविलमा बुधबार एक कार्गो विमान दुर्घटना भएको छ । दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
फेडरल एभिएशन अथोरिटी (एफएए)का अनुसार यूपीएस कम्पनीको फ्लाइट २९७६ ले मोहम्मद अली इन्टरनेशनल एयरपोर्टको होनोलुलु (हवाई)को ड्यानियर इनोय इन्टरनेशनल एयरपोर्टका लागि उडान भरेको थियो ।
एफएएका अनुसार यो दुर्घटना स्थानीय समयअनुसार साँझ करिब सवा ५ बजे भएको हो । दुर्घटनापछि एयरपोर्टको दक्षिणी क्षेत्रमा धुँवा र आगो देखिएको थियो । सामाजिक सञ्जालमा साझा गरिएका भिडियोहरुमा तीव्र आगो र जहाजका टुक्राहरु जलिरहेको देखिन्छ ।
प्रहरीले एयरपोर्टको ८ किलोमिटर क्षेत्रमा बस्ने मानिसहरुलाई घरभित्रै रहन निर्देशन दिएको छ । अहिले एयरपोर्ट बन्द गरिएको छ । जहाजले उडान भरेको केही मिनेटमै दुर्घटना भएको एजेन्सीहरुले बताएका छन् ।
लुइविल प्रहरीले लामो समयसम्म आगो लागेको बताएको छ । सुरुवाती जाँचका क्रममा जहाजमा लिथियम ब्याट्रीका कारण आगो लागेको बताइएको छ । यूपीएस कम्पनीले बिमानमा चालक दलका तीन सदस्य रहेको बताएको छ ।
मिडिया रिपोर्ट्सका अनुसार जहाजमा करिब २५ हजार ग्यालेन (९५ हजार लिटर) जेट फ्यूल भरिएको दाबी गरिएको छ । जस कारण आगो छिटो र तीव्र फैलिएको बताइएको छ ।
दुर्घटना भएको विमानस्थल यूपीएस कम्पनीको मुख्य केन्द्र हो । जहाँ १२ हजारभन्दा धेरै कर्मचारी दैनिक २० लाख पार्सल सम्हाल्ने गर्छन् । ५० लाख वर्गफिटमा फैलिएको विमानस्थलमा दुर्घटनापछि तत्कालै प्रहरी र फायर ब्रिगेडको टिमले आगो निभाउने काम सुरु गरेको थियो ।
