निमोनिया, कार्डियाक तथा भास्कुलर डिजिजले सिर्जना गरेको जटिलतापछि सोमबार राति उनको निधन भएको परिवारले जनाएको छ ।
काठमाडौं — अमेरिकाका पूर्वउपराष्ट्रपति डिक चिनेको ८४ वर्षको उमेरमा निधन भएको छ । उनी जर्ज डब्ल्यु बुसको दुईवटै कार्यकाल (सन् २००१ देखि २००९ सम्म) उपराष्ट्रपति थिए ।
११ सेप्टेम्बर २००१ मा अमेरिकामा भएको हमलाको जवाफमा बुस प्रशासनले सुरु गरेको ‘आतंकवादविरुद्धको युद्ध’का मुख्य योजनाकर्तामध्ये चिने एक थिए । त्यहीकारण उनलाई अमेरिकाको सबैभन्दा शक्तिशाली उपराष्ट्रपति पनि भनिन्छ ।
निमोनिया, कार्डियाक तथा भास्कुलर डिजिजले सिर्जना गरेको जटिलतापछि सोमबार राति उनको निधन भएको परिवारले जनाएको छ । ‘डिक चिने महान् र राम्रा मानिस थिए । उनले आफ्ना छोराछोरी र नातिनातिनीलाई हाम्रो देशप्रति प्रेम गर्न, निडर, सम्मान, प्रेम तथा करुणाका साथ जिउन सिकाए,’ परिवारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
१९७५ देखि ७७ सम्म उनले राष्ट्रपति गेराल्ड फोर्डको कार्यकालमा ह्वाइटहाउसमा चिफ अफ स्टाफका रुपमा काम गरेका थिए । त्यस्तै, १९७९ देखि १९८९ सम्म एक दशक अमेरिकाको तल्लो सदनको सदस्य थिए । उनले सिनियर जर्ज बुसको कार्यकालमा १९८९ देखि १९९३ सम्म रक्षामन्त्रीका रुपमा पनि काम गरेका थिए ।
३० जनवरी १९४१ मा नेब्रास्कास्थित लिंकनमा उनको जन्म भएको थियो ।
