इजरायली सेनाकी पूर्व शीर्ष कानुनी अधिकारी पक्राउ

प्रहरीले उनलाई तेल अभिभको उत्तरतर्फ रहेको समुद्री किनारबाट पक्राउ गरेको हो ।

कार्तिक १७, २०८२

एजेन्सी

Former top Israeli military legal official arrested

काठमाडौँ — इजरायली सेनाकी पूर्व शीर्ष कानुनी अधिकारी मेजर जनरल यिफात टोमर येरुसाल्मीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार उनी बेपत्ता भएको खबर बाहिरिएसँगै इजरायलमा राजनीतिक सरगर्मी बढेको थियो ।

 प्रहरीले घण्टौंसम्म खोजी गरेपछि उनलाई तेल अभिभको उत्तरतर्फ रहेको समुद्री किनारबाट पक्राउ गरिएको जनाएको छ । उनी सकुशल रहेको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

प्यालेस्टाइनी बन्दीमाथि इजरायली सेनाले गरेको निर्मम दमनको भिडियो सार्वजनिक भएको एक वर्षभन्दा लामो समयपछि गत साता इजरायलमा यसबारे आपराधिक अनुसन्धान सुरु गरिएको थियो । त्यस्तै, अनुसन्धान सुरु हुादा जनरल टोमरलाई बिदामा राखिएको थियो ।

शुक्रबारमात्रै रक्षामन्त्री इजरायल काट्जले उनलाई पदमा फर्कन नदिने बताएकी थिइन् । त्यसपछि जनरल टोमरले राजीनामा दिइन् । राजीनामा पत्रमा उनले सैन्य युनिटका तर्फबाट मिडियामा पुगेका कुनै पनि सामाग्रीको नैतिक जिम्मेवारी आफुले लिने उल्लेख गरेकी थिइन् । 

उग्र दक्षिणपन्थी राजनीतिज्ञ तथा उनीहरुका समर्थकले भिडियो लिक गर्न भूमिका खेलेको भन्दै टोमरको निरन्तर आलोचना गरिरहेका छन् । 

अगस्ट २०२४ मा इजरायली न्युज च्यानलबाट प्रशारणमा आएको यो भिडियो फुटेजमा दक्षिणी इजरायलस्थित एक सैन्य अखडामा प्यालेस्टाइनी बन्दीमाथि भएको ज्यादती प्रस्टै देखिन्छ ।

यहाँ कालोपट्टी लगाइएका ती बन्धकलाई सैनिकहरुले निर्मम कुटपिट गर्नुका साथै धारिलो वस्तुले प्रहारसमेत गरेका छन् । यी बन्धक यसपछि गम्भीर घाइते थिए । 

एजेन्सी

Link copied successfully