सन् २०२२ मा चीनले अन्तरिक्षमा स्थायी स्टेसन खडा गरे यता यो सातौं मिसन रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
काठमाडौँ — चीनको सेन्जझु–२१ स्पेस रकेट र यसका सदस्यहरुले शुक्रबार जिक्वान स्याटेलाइट लन्च सेन्टरबाट लङ मार्च–२ एफ रकेटमार्फत् अन्तरिक्षको उडान भरेका छन् । सन् २०२२ मा चीनले अन्तरिक्षमा स्थायी स्टेसन खडा गरे यता यो सातौं मिसन रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
यस मिसनका दौरान तीन जना यात्री ६ महिनासम्म अन्तरिक्षमा बस्ने छन् । सहभागी ३२ वर्षीय वु फेई मिशनमा सहभागी चिनियाँ इतिहासकै सबैभन्दा कान्छो अन्तरिक्षयात्री हुन् ।
त्यस्तै, ३९ वर्षीय झाङ होङझाङले पनि पहिलोपटक यात्रा गर्दैछन् । उनीहरुलाई यस कार्यक्रमका लागि सन् २०२० मा चयन गरिएको थियो । यसअघि सेन्जझु–२० का सदस्यहरु ६ महिनाभन्दा लामो अवधि अन्तरिक्षमा अनुसन्धान गरिरहेका थिए । उनीहरु केही दिनमै पृथ्वीमा फर्कनेछन् र नयाँ टोलीले उनीहरुको सट्टा अनुसन्धान गर्नेछ ।
सेन्जझु–२१ का सदस्यहरुसँगै चारवटा काला मुसा पनि चिनियाँ स्पेस स्टेशनमा पुग्नेछन् । यी मुसाहरुमार्फत ‘लो अर्थ अर्बिटमा’ पुनः प्रजजनको परीक्षण गरिनेछ ।
चीनले प्रविधिमा हासिल गरिरहेको सफलताले पछिल्लो समय अमेरिकालाई सतर्क गराएको छ । अमेरिकाले अहिले चन्द्रमामा आफ्ना वैज्ञानिकहरुलाई पठाउने तयारी गरिरहेको छ । २०२६ को सुरुवातमै नासाले ‘अर्टेमिस सेकेन्ड मिशन’ सुरु गर्दैछ । यो मिशनका दौरान चारजना वैज्ञानिकहरुले १० दिनसम्म चन्द्रमालाई परिक्रमा गर्नेछन् ।
