भियतनाममा बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु

सरकारी विपद् एजेन्सीका अनुसार बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने अन्य ११ जना बेपत्ता छन्। बाढीले १ लाख १६ हजार घर प्रभावित भएका छन् ।

कार्तिक १५, २०८२

कान्तिपुर संवाददाता

At least 13 dead in Vietnam floods

काठमाडौँ — भियतनामको मध्य भूभागमा भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । शुक्रबारदेखि पानीको सतह घट्न थालेसँगै होइ एन शहरवासीहरुले सरसफाइको काम सुरु गरेका छन् ।

सरकारी विपद् एजेन्सीका अनुसार बढीमा ११ जना बेपत्ता छन् भने १ लाख १६ हजार घर प्रभावित भएका छन् । त्यस्तै बाढीका कारण ५ हजार हेक्टर जमीनमा लगाइएको बाली सखाप भएको छ ।

सडक र रेलवे पूर्वाधारमा क्षति पुगेको छ भने धेरै स्थानमा विद्युत कटौती भएको छ । पछिल्ला केही दिनयता मध्य क्षेत्रमा लगातार पानी परिरहेको थियो । जसकारण युनेस्कोले सम्पदा सुचीमा राखेको ऐतिहासिक शहर हुई र होई एनमा ठूलो क्षति भयो । यी क्षेत्रहरुमा ठूलो बाढी गइरहेको तस्विर तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । केही घरमा छतसम्मै पानी पुगेको देखिन्छ । 

बाढीको प्रकोपपछि धेरै पर्यटकहरुले होइ एनमा बुकिङ क्यान्सिल गरेका छन् । यस ऐतिहासिक शहरमा गत वर्ष ४४ लाखभन्दा धेरै पर्यटक आएका थिए, जसमध्ये ३६ लाख विदेशी पर्यटक थिए । यहाा संरक्षण गरेर राखिएको एक प्राचिन बस्तीमा शुक्रबारदेखि पानीको सतह कम देखिने थालेको छ ।

अहिले पर्यटकिय क्षेत्रका रुपमा विकास भएको यो शहर १५ औं शताब्दीदेखि १९ औं शताब्दीसम्म दक्षिणपूर्वी एशियाको व्यस्त व्यापारिक नाका थियो  । ‘मैले धेरैपटक बाढी देखेको छु र यो अहिलेसम्मकै खराब बाढी हो,’ होई एनका स्थानीयवासी ६० वर्षीय ट्रान भान टियनले रोयटर्ससँग भनेका छन् । भयानक आँधी र बाढीले समय–समयमा भियतनामका विभिन्न क्षेत्रमा दुःख दिने गरेको छ । विशेषगरी जुनदेखि अक्टोबरसम्मको समय यहाँ बाढी र आँधीको जोखिम रहन्छ । 

कान्तिपुर

Link copied successfully