रोयटर्स न्युज एजेन्सीका अनुसार मृतकका परिवारलाई पहिचान गर्न सहज होस् भनेर फाभेला क्षेत्रमा सडकमा दर्जनौँ शव राखिएको थियो ।
काठमाडौँ — रियो दि जेनरियोमा प्रहरीले ड्रग्स नियन्त्रणका लागि गरेको भीषण कारबाहीका क्रममा कम्तीमा १ सय ३२ जना मारिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् । न्युयोर्क टाइम्स र सीएनएनले रियो दि जेनरियोको क्षेत्रीय सार्वजनिक रक्षक कार्यालयलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो ।
मृत्यु हुनेमा चार प्रहरी अधिकारसमेत रहेको कार्यालयले जनाएको छ । रियो दि जेनरियोका स्टेट गभर्नर क्लाउडियो क्यास्ट्रोले मंगलबार पत्रकार सम्मेलन गर्दै ५८ जनाको मृत्यु भएको पुष्टि गरेका थिए । ‘यो संख्या बढ्ने निश्चित छ,’ उनले भनेका थिए ।
रोयटर्स न्युज एजेन्सीका अनुसार मृतकका परिवारलाई पहिचान गर्न सहज होस् भनेर फाभेला क्षेत्रमा सडकमा दर्जनौँ शव राखिएको थियो ।
प्रहरीले आफ्नो अपरेशनका क्रममा ठूलो परिमाणमा ड्रग्स बरामद भएको जनाएको छ । त्यस्तै, सरकारी अधिकारीहरुले कम्तिमा ४२ वटा राइफल बरामद भएको जानकारी दिएका छन् । गर्भनर क्यास्ट्रोले रियो दिन जेनरियोको इतिहासमै यो सबैभन्दा ठूलो प्रहरी अपरेशन रहेको बताएका थिए ।
आगामी साता यस सहरमा वातावरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘सी-४० वर्ल्ड मेयर्स समिट’ हुँदैछ । संयुक्त राष्ट्रसंघ मानवअधिकार कार्यालयले प्रहरी कारबाहीको आलोचना गरिसकेको छ । यो घटना निकै भयानक रहेको राष्ट्रसंघले जनाएको छ ।
