ब्ल्याक रिभर : आँधीले खण्डहर बनाएको शताब्दीऔं पुरानो सहर

जमैकाका प्रधानमन्त्री एन्ड्रयु होल्नेसले हवाई अवलोकनपछि ब्ल्याक रिभर सहरलाई यस वर्षकै भीषण आँधी 'हुरिकेन मेलिसा' को ‘ग्राउन्ड जिरो’ भनेका छन् ।

कार्तिक १३, २०८२

अन्वेषण अधिकारी

Black River: A centuries-old city devastated by a storm

What you should know

काठमाडौँ — भयानक आँधी 'मेलिसा'ले क्यारेबियन देशहरूमा विध्वंश मच्चाएको छ । जमैकासहित धेरै क्यारेबियन देशमा संकट निम्त्याएको यो आँधीले सबैभन्दा ठूलो असर सेन्ट एलिजावेथको दक्षिण–पश्चिममा रहेको यस ब्ल्याक रिभर सहरमा देखिएको छ । यहाँ अहिलेसम्म ५ जनाको मृत्यु पुष्टि भइसकेको छ । 

जमैकाका प्रधानमन्त्री एन्ड्रयु होल्नेसले हवाई अवलोकनपछि ब्ल्याक रिभर सहरलाई यस वर्षकै भीषण आँधी 'हुरिकेन मेलिसा' को ‘ग्राउन्ड जिरो’ भनेका छन् । 

मेयर रिचर्ड सोलोमनले बेलायती सञ्चारमाध्यम गार्डियनसँग कुराकानी गर्दै अन्य व्यक्तिको पनि मृत्यु भएको हुन सक्ने बताएका छन् । यद्यपि, सञ्चार र यातायातमा देखिएको अवरोधका कारण उनीहरुको मृत्यु पुष्टि गर्न असमर्थ रहेको उनले बताए ।

बिहान ८ बजे यहाँ २ सय ९८ किलोमिटर प्रतिघण्टाको हाराहारीमा ‘क्याटागोरी ५’ आँधी चल्यो । जो, हुरिकेन मेलिसाकै सबैभन्दा शक्तिशाली चरण थियो । झन्डै ९ घण्टासम्म आँधी र पानी परिरह्यो ।

‘यहाँको आपतकालीन केन्द्रमा झन्डै १६ फिटसम्म पानी थियो । दोस्रो तलामा बसेर पानीको सतह बढ्दै गरेको देख्दा हामी निकै आत्तिएका थियौं,’ गार्डियनसँग उनले भनेका छन् ।

अहिले पानी र विद्युत्‌को अभाव भएको छ । ८० देखि ९० प्रतिशत घरहरुको छानो आँधीले उडाइसकेको छ । झन्डै ५ लाख जनताले बत्ती बाल्न पाएका छैनन् । सहरलाई जोड्ने सडक पहिरोले अवरुद्ध छन् । अहिले स्थानीयहरु आफ्नो घरबाट पानी निकाल्न र आफन्तहरुको उद्धार गर्नमै सक्रिय छन् । पर्याप्त संख्यामा उद्धारकर्तालाई पुग्न र खोजीको काम गर्न समस्या छ । सहरका महत्वपूर्ण सवारीसाधन, दमकल, प्रहरी स्टेसन, अस्पताल र सुपरमार्केट नै क्षतिग्रस्त अवस्थामा रहेकाले उद्धार कार्यमा कठिनाई भइरहेको मेयर सोलोमनले बताएका छन् ।

ऐतिहासिक वैभव

जमैका टापुका पुराना औपनिवेशिक सहरमध्ये एक हो, ब्ल्याक रिभर ।यस सहर हुँदै ब्ल्याक रिभर क्यारेबियन सागरमा गएर मिसिन्छ ।

Black River: A centuries-old city devastated by a storm

पुरानो जमानामा बेलायतमा नक्सा तथा पुस्तक प्रकाशन गर्ने गरेका जोन सेलर्सले १६८५ मा प्रकाशित गरेको नक्सामा यो सहरलाई देखाइएको छ । सन् १७७४ मा प्रकाशित बेलायती इतिहासकार इडवार्ड लङको पुस्तक ‘हिस्ट्री अफ जमैका’मा ब्ल्याक रिभरको प्रसंग उल्लेख छ । उनले एक व्यापारिक मार्गका रुपमा यस क्षेत्रको चर्चा गरेका छन् ।

विलियम बेकफोर्डले आफ्नो जमैका अनुभव समेटेर प्रकाशित गरेको पुस्तक सन् १७९० मा प्रकाशित भएको थियो । यस पुस्तकमा उनले ब्ल्याक रिभरमा ५० वटा घर रहेको र मालसामान ढुवानी गर्नका लागि आकर्षक प्राकृतिक किनार रहेको उल्लेख गरेका छन् । यहाँबाट काठ र उखुको ओसारपसार हुने गरेको थियो ।

ब्ल्याक रिभरस्थित ‘वाटर लु गेस्ट हाउस’ जमैकामै पहिलोपटक १८९३ मा बिजुली बाल्ने घर हो । व्यापारी, जलसेना र युरोप तथा उत्तर अमेरिकाका इसाई मिसनरीहरुको आवतजावत बाक्लो हुने भएकाले पनि यहाँ  निकै विकास भएको थियो ।

Black River: A centuries-old city devastated by a storm

गत जुलाईमा प्रधानमन्त्री होल्नेसले ब्ल्याक रिभरको विकासका लागि रणनीतिक योजना अघि सारेका थिए । राजधानी किंग्स्टोन र पर्यटकीय सहर मेन्टेगो बेपछि यस सहरलाई तेस्रो ठूलो सहर घोषणा गरिएको थियो । यस सहरमा नयाँ लगानीको वातावरण बनाउने, डिजिटल पूर्वाधार विकास गर्ने, भौतिक पूर्वाधार विकासलाई तीव्र बनाउनेलगायत योजना  तयार भएको थियो ।

प्रधानमन्त्रीले स्थानीयवासी, व्यवसायी तथा स्थानीय सरकारलाई आधुनिक र समावेशी जमैका निर्माणका लागि एकजुट हुन आग्रह गरेका थिए । तर, आँधीले तीव्र विकासको आकांक्षालाई तत्कालका लागि रोकिदिएको छ । यस आँधीले क्यारेबियन सागर आसपासका अन्य टापु देश क्युवा, हैटी, डोमिनिकन गणतन्त्र, बहामास लगायतमा क्षति पुर्‍याएको छ । 

(एजेन्सीको सहयोगमा) 

अन्वेषण

Link copied successfully