जमैकाका प्रधानमन्त्री एन्ड्रियु होलनेशले आफ्नो देशलाई ‘विपद् क्षेत्र’ घोषणा गरेका छन् ।
काठमाडौँ — क्यारेबियन क्षेत्रमा चलेको भयानक आँधी हुरिकेन 'मेलिसा'बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
यस आँधीले ला डिगु नदीमा निम्त्याएको बाढीमा बगेर कम्तीमा २० जनाको मृत्यु भएको हैटीस्थित सिभिल प्रोटेक्सन निर्देशनालयले जानकारी दिएको छ । उक्त क्षेत्रमा बाढीले १ सय ६० भन्दा धेरै घर बगाएको छ ।
यसअघि जमैकामा पाँचवटा शव भेटिएका थिए भने डोमिनिकन रिपब्लिकमा एकजनाको मृत्यु भएको थियो । जमैकाका प्रधानमन्त्री एन्ड्रियु होलनेशले आफ्नो देशलाई ‘विपद् क्षेत्र’ घोषणा गरेका छन् । उनले यस प्रलयबाट उठ्न लामो समय लाग्ने बताएका छन् ।
जमैकामा झन्डै ७५ प्रतिशत नागरिकका घरमा विद्युत् अवरोध भएको छ । निजी घर, अस्पताल, लाइब्रेरी, प्रहरी स्टेसन, बन्दरगाहलगायत भौतिक पूर्वाधामा ठूलो क्षति पुगेको छ । अमेरिकाले जमैकामा राहत तथा उद्धारका लागि विपद् व्यवस्थापन टोली खटाउने भएको छ । हैटी र बहामासबाट पनि सहयोगका लागि औपचारिक आग्रह आएको अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
