दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको अमेरिकी नौसेनाले बताएको छ ।
काठमाडौँ — अमेरिकी नौसेनाको हेलिकप्टर र फाइटर जेट (लडाकू विमान) दक्षिण चीन सागरमा दुर्घटनामा परेका छन् । नियमित अभियानका क्रममा आधा घण्टाको फरकमा हेलिकप्टर र लडाकू विमान दुर्घटनामा परेका हुन् ।
चालक दलका सबै सदस्यलाई सुरक्षित उद्धार गरिएको बताइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको अमेरिकी नौसेनाले बताएको छ । चीनसँगको रणनीतिक जलक्षेत्रमा दुर्घटना भएकाले शंकास्पद मानिएको छ ।
अमेरिकी नौसेनाले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै एक एमएच–६० आर सीहक हेलिकप्टर स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजेर ४५ मिनेटमा दुर्घटनामा परेको बताएको छ । तत्काल उद्धार टोलीले उक्त हेलिकप्टरमा सवार चालक दलका तीन सदस्यलाई सुरक्षित उद्धार गरेको थियो ।
लगत्तै त्यसको आधा घण्टापछि एफ/ए–१८एफ सुपर हर्नेट फाइटर विमान पनि दुर्घटनाग्रस्त भएको थियो । यसमा सवार दुई जना चालकदलका सदस्यलाई पनि तत्कालै सुरक्षित उद्धार गरिएको अमेरिकी नौसेनालाई उदृत गर्दै सीएनएनले उल्लेख गरेको छ ।
यो लडाकू विमान यस वर्ष अमेरिकाले गुमाएको ६० मिलियन अमेरिकन डलरका लडाकू विमानमध्ये चौथो रहेको बताइएको छ ।
चीन र अन्य दक्षिण पूर्वी एसियाली देशहरुद्वारा घेरिएको दक्षिण चीन सागरको केही क्षेत्रमा कैयौं सरकारहरु आफ्नो दाबी गर्दै आएका छन् ।
