लुभ्र संग्रहालयको चोरीमा संलग्न भएको आरोपमा दुई जना पक्राउ

फ्रान्सको समाचार अनलाइन पेरिस म्याचका अनुसार आरोपीहरु विदेश भाग्दै गर्दा एयरपोर्टबाट पक्राउ परेका हुन् ।

कार्तिक ९, २०८२

कान्तिपुर संवाददाता

Two arrested in connection with Louvre museum theft

What you should know

काठमाडौँ — पेरिसको विश्वप्रसिद्ध लुभ्र संग्रहालयमा भएको चोरीमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

फ्रान्सेली अखबार ले पेरिसियनका अनुसार शनिबार साँझ दुई जना पक्राउ परेका हुन् । प्रहरीलाई उदृत गर्दै ले पेरिसियनले गत १९ अक्टोबरमा भएको चोरीमा संलग्न भएको आरोपमा ३० वर्षीय दुई युवकलाई राजधानी बाहिर सेन सेन्ट-डेनिसबाट पक्राउ गरेको हो । 

फ्रान्सको अर्को सञ्चारमाध्यम पेरिस म्याचका अनुसार, आरोपीहरु विदेश भाग्दै गर्दा एयरपोर्टबाट पक्राउ परेका हुन् । पक्राउ परेका एक पुरुष अल्जेरिया जाने तयारीमा थिए भने अर्का व्यक्ति माली जाने तयारीमा थिए । उनीहरु स्थानीय समय अनुसार शनिबार राति करिब १० बजे पेरिस, चार्ल्स डे गाउल एयरपोर्टबाट पक्राउ परेका हुन् । 

विश्वकै सुरक्षित मानिने यो संग्राहलय चोरीमा चार जना संलग्न रहेको प्रारम्भिक अनुमान छ । चोरीमा संलग्नहरूको अनुसन्धानका लागि शनिबार मात्रै १ सय ५० भन्दा बढी डीएनए र 'फिंगरप्रिन्ट'(औंठाछाप)को नमुना संकलन गरिएको थियो । 

गत अक्टोबर १९ मा नेपोलियन तृतीयकी पत्नी युजेनी डे मोन्टिजोका लागि सन् १८५५ मा बनाइएका बहुमूल्य रत्नहरूले जडित युजेनी क्राउन (टियारा), एक हार र एउटा ब्रोचसहित नौ बहुमूल्य रत्नहरू चोरी भएको थियो । साम्राज्ञी युजेनीको मुकुट २ सय १२ मोती र करिब २ हजार हीराले जडित थियो । यस गहनाको सेटलाई अत्यन्तै बहुमूल्य मानिन्छ ।

लुभ्र संग्रहालय विश्वको सबैभन्दा धेरै भ्रमण गरिएको संग्रहालय हो । यसमा मोनालिसा, भेनस डे मिलो जस्ता बहुमूल्य कलाकृतिहरूसहित करिब ३८०,००० ऐतिहासिक वस्तुहरू संग्रहित छन् । 

यसको सुरक्षा व्यवस्था विश्वकै सबैभन्दा कडामध्ये एक मानिन्छ । यसअघि पनि सन् १९११ मा मोनालिसा चित्र चोरी भएको थियो । 

अनुसन्धानकर्ताका अनुसार चोरी गर्नेहरूले भाग्ने क्रममा युजेनीको क्षतिग्रस्त मुकुट (युजेनी क्राउन/टियारा) का केही टुक्रा बाटामा छाडेका थिए । त्यसैका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । यस घटनाको अनुसन्धानमा एक सयभन्दा बढी अनुसन्धानकर्ता खटिएका छन् । ‘द गार्डियन’ का अनुसार फ्रान्सको संगठित अपराध नियन्त्रण दस्ता (बीआरबी) र सांस्कृतिक सम्पदा तस्करी मामिलाका विशेषज्ञ पनि अनुसन्धानमा संलग्न छन् ।

अनुसन्धान अधिकारीहरुले घटनास्थलबाट संकलन गरिएका १ सय ५० भन्दा बढी डीएनए नमुना, औंठाछाप र अन्य सबुतहरु जम्मा पारेका छन् । पेरिसकी सरकारी वकिल लोर बेकुले फ्रान्सेली अखबार ‘ओएस्ट–फ्रान्स’ सँग गरगहना फेला पर्ने ‘झिनो आशा’ रहेको र आफू अनुसन्धानप्रति ‘आशावादी’ रहेको बताएकी छन् ।  

कान्तिपुर

Link copied successfully