अमेरिकामा हत्या आरोपीलाई ३० वर्षपछि मृत्यु दण्ड

रिचर्डले अल्बर्ट लुना सिनियर र पेट्रिसिया लुना, उनीहरुका १८ वर्षीया छोरी रशेल लुना र ५ वर्षीय छोरा डेमियन लुनाको उनीहरुको घरमा निर्ममतापूर्वक हत्या गरेका थिए ।

कार्तिक ७, २०८२

सुदीप शिवाकोटी

Murder accused sentenced to death in US after 30 years

What you should know

अमेरिका — अमेरिकामा एकै परिवारका चार जनाको हत्या आरोपीलाई ३० वर्षपछि मृत्यु दण्ड दिइएको छ । 

एरिजोना राज्यको फोनेक्स सहरमा सन् १९९३ सेप्टेम्बर १४ मा एकै परिवारका चार जनाको हत्या आरोपमा ५५ वर्षीय रिचर्ड केनेथ जर्फलाई अक्टोबर १७, २०२५ मा मृत्यु दण्ड दिइएको हो ।

रिचर्डले अल्बर्ट लुना सिनियर र पेट्रिसिया लुना, उनीहरुका १८ वर्षीया छोरी रशेल लुना र ५ वर्षीय छोरा डेमियन लुनाको उनीहरुको घरमा निर्ममतापूर्वक हत्या गरेका थिए । 

उनलाई घातक इन्जेक्सन (लिथल)द्वारा मृत्युदण्ड दिइएको अमेरिकी समाचार संस्था एपीले उल्लेख गरेको छ । घटनापछि पक्राउ परेका रिचर्डले आफूमाथिको आरोप नस्वीकार्दा मुद्दा ३० वर्षसम्म लम्बिएको थियो । उनले आरोप स्वीकारेसँगै प्रमाणका आधारमा अदालतले मृत्यु दण्डको सजाय दिएको हो ।

‘ती चार निर्दोष पीडितहरुले न्याय पाउनुपर्छ’ भन्ने आशयले हामीले न्यायलयमा मृत्यु दण्डको माग गर्दै आएका थियौं,’ एरिजोनाका महान्यायाधिवक्ता क्रिस मेयेसले भने । एरिजोना अटर्नी जनरल क्रिस मेजले ती चार निर्दोष पीडितहरुले तीन दशकपछि भए पनि पूर्ण रुपमा न्याय पाएको बताए ।

रिचर्डले अदालतमा मुद्दाको बयानका क्रममा अल्बर्ट लुना जुनियरलाई आफ्नो अपार्टमेन्टबाट इलेक्ट्रोनिक्स र बन्दुक चोरी गरेको भन्दै बदला लिन खोजेको बताएका थिए । बदला भावका कारण उनले चारै जनाको हत्या गर्ने मनशायले लुना परिवारको घरमा फूल वितरण गर्ने बहाना बनाएर प्रवेश गरेकै दिन सन् १९९३ सेप्टेबर १४ मा चारै जनाको हत्या गरेको एपीले उल्लेख गरेको छ । 

रिचर्डले लुना दम्पतीकी १८ वर्षीया छोरी रशेल लुनामाथि बलत्कारपछि घाँटी रेटेर हत्या गरेका थिए । उनले अल्बर्ट लुना सिनियरलाई एल्युमिनियम ब्याटले हानेर छुरा र गोली प्रहार गरी हत्या गरेका थिए ।

अल्बर्टकी श्रीमती पेट्रिसिया र डेमियन लुनालाई कुर्सीमा बाँधेर गोली हानी हत्या गरेको अभियोग पत्रमा उल्लेख छ । एरिजोनामा यस वर्ष मात्र रिचर्डसँगै दुई जनालाई मृत्यु दण्ड दिइएको छ ।

दुई साताअघि भने, भारतीय मुलका एक पुरुष अमेरिकामा ४३ वर्ष जेल बसेपछि निर्दोष ठहर भएका थिए । एउटै कोठामा सँगै बस्ने साथीको हत्या अभियोगमा ४३ वर्ष जेल जीवन बिताएका भारतीय मुलका सुब्रमण्यम वेदम ‘सुबु’लाई अमेरिकी अदालतले निर्दोष ठहर गरेको हो । 

सन् १९८० मा अमेरिकाको पेन्सिलभेनिया राज्यको रुलर सेन्टर काउन्टिको एउटै कक्षामा अध्ययन गर्ने र सँगै कोठामा बस्ने साथी १९ वर्षीय थोमस किन्सरको हत्या आरोपमा वेदम पक्राउ परेका थिए ।

सुदीप शिवाकोटी शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully