ट्रम्पमाथि तानाशाही प्रवृत्ति देखाएको, लोकतन्त्र कमजोर पारेको, आप्रवासीविरुद्ध कडा नीति अपनाएको, समाजमा विभाजन बढाएको लगायत आरोप लागेको छ ।
What you should know
काठमाडौँ — इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच दुई वर्षदेखि चलिरहेको युद्ध रोक्न मियो बनेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक साताअघि मात्रै सर्वत्र चर्चा भएको थियो । कैयौं देशले उनलाई नोबेल शान्ति पुरस्कार दिनुपर्नेसमेत बताएका थिए ।
तर यो प्रशंसा एक साता पनि टिक्न सकेन । यति बेला अमेरिकामा उनै ट्रम्पविरुद्ध लाखौं सर्वसाधारण सडकमा उत्रिएका छन् । आइतबार अमेरिकाका मात्रै २ हजार ६ सयभन्दा धेरै ठाउँमा ट्रम्पको विरोधमा प्रदर्शन भएको छ ।
यस्ता र्यालीमा अमेरिकाभित्र करिब ७० लाख व्यक्ति सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यति मात्र होइन, युरोप र ल्याटिन अमेरिकी देशमा पनि ट्रम्पविरुद्ध हजारौं नागरिक सडकमा उत्रिएका छन् । कोलम्बियामा त अमेरिकी दूतावासमा आक्रमण नै भएको छ । प्रदर्शनकारीले अमेरिकी दूतावासमा तोडफोड र आगजनीको प्रयाससमेत गरेका छन् । कैयौं प्रदर्शनकारीलाई पक्राउ गरिएको छ ।
अमेरिकामा भएको प्रदर्शनलाई ‘नो किंग्स’ आन्दोलन नाम दिइएको छ । ट्रम्पको शासनमा देश तीव्र गतिमा तानाशाही प्रवृत्तितर्फ अघि बढिरहेको प्रदर्शनकारीको आरोप छ । यसअघि जुनमा भएको पहिलो ‘नो किंग्स’ प्रदर्शनका क्रममा करिब दुई हजार एक सयभन्दा बढी र्याली निकालिएको थियो । विश्वका शक्तिशाली देशहरूमा ‘ट्यारिफ वार’ र अन्य कूटनीतिले धम्क्याउँदै आएका ट्रम्प अहिले बाहिरी देशमा मात्र होइन, आफ्नै देशभित्र घेरिएका छन् । लाखौंको संख्यामा प्रदर्शनकारी सडकमा उत्रिए पनि अहिलेसम्म कुनै मानवीय क्षति भने नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
न्युयोर्कको टाइम्स स्क्वायर, बोस्टन, एटलान्टा र सिकागोको पार्कमा सबैभन्दा धेरै संख्यामा भीड जम्मा भएको थियो । यस्तै वासिङ्टन, लस एन्जल्स र रिपब्लिकन शासित थुप्रै राज्यमा पनि लाखौं व्यक्ति सडकमा उत्रिएका छन् । रिपब्लिकन पार्टीले भने प्रदर्शनलाई ‘हेट र्याली’ अर्थात् अमेरिकासँग घृणा गर्नेहरूको प्रदर्शन भनेको छ ।
यता ट्रम्पले ‘नो किंग्स’ प्रदर्शनको जवाफ एक एआई भिडियोमार्फत दिएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा १ मिनेट २० सेकेन्डको भिडियो साझा गरेका छन् । जसमा उनी एक मुकुट लगाएर फाइटर जेटमा सवार भएको देखिएका छन् । जेटमा ‘किंग्स ट्रम्प’ लेखिएको छ । भिडियोमा ट्रम्प प्रदर्शनकारीमाथि मल खसाउँदै गरेको देखिन्छ ।
ट्रम्पको कार्यकालमा तेस्रो ठूलो प्रदर्शन
दोस्रो कार्यकालमा ट्रम्पविरुद्ध यो तेस्रो ठूलो प्रदर्शन हो । गत जुनमा पहिलो पटक ‘नो किंग्स’ प्रदर्शन भएको थियो । त्यसबेला साल्ट लेक सिटीमा हिंसा भएको थियो । प्रदर्शनमा सहभागी एक व्यक्तिले प्रदर्शनकारीविरुद्ध गोली चलाउन प्रयास गरिरहेका थिए । राइफल लिएर उभिरहेका व्यक्ति र अर्का एक जना घाइते भएका थिए । पछि अस्पतालमा एक जनाको मृत्यु भएको थियो ।
यति बेला अमेरिकामा कैयौं सरकारी सेवा ठप्प छन् । ट्रम्प प्रशासनको व्यवहारलाई लिएर संसद् र न्यायपालिकाबीच केही समययता विवाद चलिरहेको छ । ट्रम्पका विवादित नीतिविरुद्ध यो प्रदर्शन भइरहेको हो । यो पटक प्रदर्शनमा सहभागीहरूले लोकतन्त्र, न्याय र सत्ताको दुरुपयोगविरुद्ध आवाज उठाएको जनाएका छन् ।
सञ्चारमाध्यमसँग कुरा गर्दै ह्युस्टनमा अमेरिकी मरिन कोरका पूर्वसैनिक ड्यानियल गेमेजले भनेका छन्, ‘यो देशमा अहिले के भइरहेको छ ? केही भन्न सकिँदैन ।’ न्युयोर्क टाइम्स स्क्वायरमा प्रदर्शनकारीले शान्तिपूर्ण विरोध गरेका छन् । प्रहरीले त्यहाँ कसैलाई पक्राउ नगरिएको जनाएको छ । यद्यपि त्यहाँ एक लाखभन्दा बढी मानिस सडकमा उत्रिएका थिए ।
किन भइरहेको छ प्रदर्शन ?
ट्रम्पविरुद्ध यो प्रदर्शन अकस्मात् भएको होइन । दोस्रो कार्यकाल सम्हालेदेखि नै उनका विवादास्पद निर्णयहरूका कारण जनता आक्रोशित थिए । उनले मित्रराष्ट्रविरुद्ध नै भारी भन्सार शुल्क लगाएर आर्थिक युद्ध नै छेडेका थिए । तर त्यस्ता नीतिले अमेरिकी जनतालाई नै हानि पुर्याउने भन्दै देशभित्र विरोध हुँदै आएको थियो ।
अहिले गाजामा युद्धविराम ट्रम्पको पहलमा भए पनि इजरायललाई आक्रमणका लागि सहयोग गरेको भन्दै अमेरिकी विश्वविद्यालयहरूमा सुरुवातदेखि नै विरोध हुँदै आएको थियो । उनले विश्वविद्यालयहरूलाई यस्ता प्रदर्शन रोक्न नसकेको भन्दै अनुदान नै रोक्ने निर्णय गरेका थिए । त्यसैले उनले यस पटक पद सम्हालेयता १० महिनाको अवधिमा आप्रवासीविरुद्ध कडा नीति अपनाएका थिए ।
प्यालेस्टिनी समर्थकको गतिविधि भएको भन्दै विश्वविद्यालयमा अनुदान रोक्ने, कैयौं राज्यमा नेसनल गार्ड तैनाथ गर्ने निर्णय ट्रम्पले लिएका थिए, जसका कारण उनीविरुद्ध जनसागर उर्लिएको हो । लोकतन्त्र कमजोर पारेको, तानाशाही प्रवृत्ति देखाएको, आप्रवासीविरुद्ध कडा नीति अपनाएको, समाजमा विभाजन बढाएको लगायत आरोप ट्रम्पमाथि छ । यस्तै स्वास्थ्य सेवामा भारी कटौती गरेको, अर्बपतिहरूको हितमा पहलकदमी लिएको, आम मानिसको आवश्यकतालाई मध्यनजर नगरेको जस्ता कारणले ट्रम्पको विरोध भइरहेको हो ।
संगठित रूपमै विरोध
अमेरिकामा देखिएको यो विशाल प्रदर्शनमा जनता स्वस्फूर्त भने उत्रिएका होइनन् । यसका लागि लामो तयारी गरिएको थियो । तीन सयभन्दा बढी संगठनहरूले संगठित रूपमा कार्यक्रम आयोजना गरेका हुन् । उनीहरूले अमेरिका र अमेरिकाबाहिर ट्रम्पविरुद्ध प्रदर्शनमा उत्रिन आह्वान गरिरहेका छन् ।
‘नो किंग्स’ नाम दिइएको प्रदर्शन आयोजना गर्ने संगठनमध्ये एक समूह इन्डिभिजिबलका सहसंस्थापक लिह ग्रिन बर्गले भने, ‘हाम्रो देशमा राजा हुँदैनन् र यही अमेरिकाको सबैभन्दा ठूलो पहिचान हो कि मानिसहरू खुलेर विरोध गर्न सक्छन् ।’ तानाशाही प्रवृत्तिविरुद्ध शान्तिपूर्ण प्रतिरोध भएको उनको भनाइ छ ।
अमेरिकन लिबर्टिज युनियनले हजारौं स्वयंसेवकलाई कानुनी प्रशिक्षण दिएको बताएको छ । विभिन्न सहरमा हुने मार्चमा मार्शलको भूमिका निर्वाह गर्न स्वयंसेवकलाई कानुनी प्रशिक्षण दिइएको थियो । सामाजिक सञ्जालमा ‘नो किंग्स’ प्रदर्शनका विज्ञापन र म्यासेजहरूले पनि प्रदर्शनमा हजारौंलाई उत्रिन सहयोग गरेको थियो ।
हिलारी क्लिन्टनलगायत नेताको साथ
प्रगतिशील विचारधारा मान्ने नेता सिनेटर बर्नी स्यान्डर्स र डेमोक्रेटिक सांसद एलेक्जेन्ड्रिया ओकासियो–कार्टेजले यस प्रदर्शनलाई समर्थन गरेका छन् । यस्तै सन् २०१६ को राष्ट्रपति चुनावमा ट्रम्पसँग पराजित भएकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले पनि प्रदर्शनलाई समर्थन गरेकी छन् । कैयौं सामाजिक अभियन्ता, सेलेब्रिटी, प्रोफेसरले पनि आन्दोलनलाई खुलेर साथ दिएका छन् । ट्रम्पले यसबारे सार्वजनिक रूपमा धेरै प्रतिक्रिया भने दिएका छैनन् । तर फक्स बिजनेससँग दिएको एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘मानिसहरू मलाई राजा भनिरहेका छन् तर म राजा होइन ।’
के हो ‘नो किंग्स’ प्रदर्शन ?
अमेरिकाका करिब ३ सयभन्दा बढी संगठन मिलेर एक गठबन्धन बनाएका छन् । जसलाई ‘नो किंग्स’ नाम दिइएको छ । यसमा अधिकांश वामपन्थी विचारधाराका संगठन सहभागी छन् । गत जुनमा पनि यही गठबन्धनले प्रदर्शन गरेको छ । यो आन्दोलनसँग सम्बन्धित सबै जानकारी ‘नो किंग्स’ नामक गठबन्धनले दिइरहेको छ ।
यो संगठन किन बन्यो ? प्रदर्शनको उद्देश्य के हो ? यसमा प्रयोग हुने रङको अर्थ के हो ? यसको इतिहासबारे गठबन्धनको आधिकारिक वेबसाइट ‘नोकिङस डट ओआरजी’ मा जानकारी दिइएको छ । वेबसाइटमार्फत नै आन्दोलनका कार्यक्रम र सर्वसाधारणलाई सडकमा उत्रिन आह्वान गरिएको छ । वेबसाइटका अनुसार ‘नो किंग्स’ एक नारा मात्र होइन ।
‘यो अमेरिकाको इतिहास हो । यो नारा सडकमा जन्मिएको हो । लाखौं मानिस यसमा जोडिएका छन्,’ त्यसमा भनिएको छ । कैयौं पोस्टरमा यही नारालाई दोहोर्याइएको छ । साथै सबै देशवासीलाई ट्रम्पको तानाशाही प्रवृत्तिविरुद्ध सडकमा उत्रिन अनुरोध गरिएको छ ।
‘नो किंग्स’ को अर्थ अब अमेरिकामा कोही राजा छैन भन्ने हो । सन् १७७६ यता अमेरिकामा राजा या निरंकुश शासक छैनन् । तर ट्रम्पले आफ्ना कठोर नीतिमार्फत राजाभन्दा तानाशाही व्यवहार देखाएको भन्दै प्रदर्शन भएको गठबन्धनले जनाएको छ ।
गाजामा एक साता पनि टिकेन युद्धविराम
हमास र इजरायलबीच युद्धविराम गराएर अब पश्चिम एसियामा स्थायी शान्ति हुने ट्रम्पको घोषणा एक साता पनि टिकेन । युद्धविरामपछि पहिलो चरणको सम्झौता लागू हुँदै गर्दा इजरायली सेनाले गाजामा फेरि हवाई आक्रमण सुरु गरेको छ । हमासले युद्धविरामका सम्झौता उल्लंघन गरेको भन्दै दक्षिणी गाजामा इजरायलले हवाई आक्रमण गरेको हो ।
इजरायली सेनाका प्रवक्ताले हमासले पहेंलो रेखाबाहिर इजरायली सेनाविरुद्ध कैयौं आक्रमण गरेको बताएका छन् । उनका अनुसार ट्रम्पको मध्यस्थतामा भएको सम्झौताको पहिलो चरणअन्तर्गत इजरायली सेना फिर्ता हुँदै गर्दा हमासले आक्रमण गरेको हो । त्यसको जवाफमा इजरायलले पनि हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।
इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘आतंकवादीले दक्षिणी गाजाको रफाह क्षेत्रमा तैनाथ इजरायली सैनिकमाथि एन्टी ट्यांकमार्फत मिसाइल प्रहार गर्नुका साथै गोली प्रहार गरेका छन् ।’ यसको जवाफमा आईडीएफले आतंकवादी गतिविधिमा प्रयोग हुने सुरुङ र अन्य संरचना ध्वस्त गर्न उक्त क्षेत्रमा आक्रमण सुरु गरेको बताएको छ । आईडीएफले भनेको छ, ‘यी आतंकवादी गतिविधिले युद्धविरामको सम्झौता घोर उल्लंघन गरेको छ । आईडीएफले यसको कडा जवाफ दिनेछ ।’
यता हमासले युद्धविरामको सम्झौतामा आफूहरू प्रतिबद्ध भए पनि इजरायलले कैयौं पटक उल्लंघन गरेको आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको गाजा शान्ति योजनाको पहिलो चरण १० अक्टोबरदेखि लागू भएको थियो । जसअन्तर्गत हमासले इजरायली बन्धक र इजरायलले प्यालेस्टिनी कैदीहरू रिहा गरेका थिए । अल जजिराले पनि इजरायलले हवाई आक्रमण गरेको उल्लेख गरेको छ ।
हमासको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा मध्य गाजामा कम्तीमा पाँच जना प्यालेस्टिनी मारिएका छन् । यता उत्तरी गाजामा दुई जना मारिएको र कैयौं घाइते भएको अल जजिराले उल्लेख गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि फेरि युद्ध सुरु गर्ने दबाब बढिरहेको छ । इजरायली सेनाले हमासले युद्धविरामको उल्लंघन गरेको दाबी गरेपछि दक्षिणपन्थी नेताहरूले फेरि युद्ध सुरु गर्नुपर्ने दबाब बढाएका हुन् ।
हमासले भने इजरायलको उक्त दाबीलाई अस्वीकार गरेको छ । विपक्षी नेता तथा सुरक्षा परिषद्का पूर्वसदस्य बेनी ग्यान्ट्सले इजरायलका लागि सबै विकल्प खुला हुनुपर्ने बताएका छन् । यस्तै पूर्वप्रधानमन्त्री तथा नेतान्याहुका प्रतिस्पर्धी नफ्ताली ब्यानेटले पनि हमासले गाजामा फेरि नियन्त्रण कायम गरेकाले उक्त समूहलाई नष्ट गर्नुपर्ने जनाएका छन् ।
हमासका कस्सास ब्रिगेडले वक्तव्य जारी गर्दै राफामा कुनै पनि घटना या झडपको जानकारी आफूहरूलाई नभएको बताएका छन् । उनले भनेका छन्, ‘किनकि यहाँ मार्चमा फेरि युद्ध सुरु भएयता त्यहाँ रहेका हाम्रा बाँकी समूहसँग सम्पर्क विच्छेद भइसकेको थियो ।’ युद्धविरामपछि हमासले युद्धका क्रममा इजरायललाई समर्थन गरेको भन्दै एकै दिन २७ जना प्यालेस्टिनीलाई आँखामा पट्टी बाँधेर सडकमा घुँडा टेकाएर गोली हानी हत्या गरेको थियो । त्यसपछि बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पले हमासले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै गाजामा घुसेर सिध्याइदिने चेतावनीसमेत दिएका थिए ।
तर, अब अमेरिकी राष्ट्रपति आफ्नै देशभित्र लाखौं नागरिकको आक्रोशले घेरिएका छन् । यता हमासले सम्झौता उल्लंघन गरेको आरोपमा हवाई आक्रमण सुरु गरिसकेको छ । यस्तो अवस्थामा गाजामा फेरि युद्ध हुन्छ या शान्ति सम्झौता कायम राख्न कसले मध्यस्थता गर्छ भन्ने अन्योल छ । – एजेन्सीको सहयोगमा
