संघर्षविरामको सहमतिपछि पनि अफगानिस्तानमाथि पाकिस्तानको आक्रमण, तीन क्रिकेट खेलाडी मारिए

क्रिकेट खेलाडी मारिएपछि अफगानिस्तान क्रिकेट बोर्डले नोभेम्बर अन्तिममा पाकिस्तानसँग हुने शृंखलाबाट आफ्नो नाम फिर्ता लिएको छ ।

कार्तिक १, २०८२

कान्तिपुर संवाददाता

Pakistan attacks Afghanistan despite ceasefire agreement, three cricketers killed

What you should know

काठमाडौँ — शुक्रबार राति पाकिस्तानी सेनाको आक्रमणमा परी तीन क्रिकेटरसमेत मारिएका छन् । जसकारण पाकिस्तानको सर्वत्र आलोचना भइरहेको छ ।

दुई देशबीच युद्धविरामको सहमतिपछि पनि पाकिस्तानले अफगानिस्तानमाथि आक्रमण गरी युद्धविराम नियमको उल्लंघन गरेको तालिबान सरकारले बताएको छ ।

शुक्रबार सीमावर्ती प्रान्त पक्तिकामा पाकिस्तानले बमबारी गरेको थियो । तालिबान सरकारका एक प्रान्तीय अधिकारीले बीबीसी अफगान सेवासँग कुरा गर्दै शुक्रबार पाकिस्तानले पक्तिका प्रान्तको अरघुन जिल्लामा एक घरमा बमबारी गरेको बताए । 

समाचार एजेन्सी एएफपीसँग एक तालिबान अधिकारीले पाकिस्तानले अफगानिस्तानको सीमावर्ती क्षेत्रमा एक अभियान चलाएको बताएका छन् । संघर्षविराम उल्लंघन पाकिस्तानका तर्फबाट भएका कारण अफगानिस्तानले यसको जवाफ दिने ती अधिकारीको भनाइ छ ।

अहिलेसम्म पाकिस्तानले यस बारेमा कुनै प्रतिक्रिया दिएको छैन । पाकिस्तान र अफगानिस्तानबीचको ४८ घण्टाको संघर्षपछि बुधबार संघर्षविराममा सहमति भएको थियो । दुई देशबीच कतारको मध्यस्थतामा दोहामा कुराकानी भएको थियो । 

अफगानिस्तान क्रिकेट बोर्डले पक्तिका प्रान्तमा भएको आक्रमणमा तीन क्रिकेट खेलाडी मारिएको बताएको छ । एसीबीले एक वक्तव्य जारी गर्दै आक्रमणको निन्दासमेत गरेको छ । 

यसका साथै नोभेम्बरमा श्रीलंका, पाकिस्तान र अफगानिस्तानबीच हुने ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाबाट अफगानिस्तानले आफ्नो नाम निकालेको छ । एसीबीले तीन खेलाडीको तस्बिर सार्वजनिक गर्दै भनेको छ, ‘शुक्रबार साँझ पाकिस्तानका तर्फबाट भएको आक्रमणमा यी तीन खेलाडीलाई निसाना बनाइयो ।’

अफगानिस्तान क्रिकेट बोर्डका अनुसार यी तीन खेलाडीमा कबीर, शिवगतुल्लाह र हारुनका साथै अन्य पाँच नागरिक पनि मारिएका छन् । बोर्डले भनेको छ, ‘खेलाडीहरुको सम्मान र यस दुखद घटनाको प्रतिक्रियास्वरुप अफगानिस्तान क्रिकेट बोर्डले आगामी नोभेम्बरको अन्तिममा पाकिस्तानसँग हुने त्रिकोणीय ट्वान्टी–२० सिरिजबाट हट्ने निर्णय लिएको छ ।’ यस विषयमा पाकिस्तानी क्रिकेट बोर्डले कुनै प्रतिक्रिया जनाएको छैन । 

सर्वत्र आलोचना  

अन्तर्राष्ट्रिय मानवअधिकार फाउन्डेसन (आईएचआरएफ) ले अफगानिस्तानमा भएको पाकिस्तानी आक्रमणमा परी क्रिकेट खेलाडीहरुको मृत्युमा वक्तव्य जारी गरेको छ । संगठनले यस आक्रमणको निन्दा गरेको छ । 

आईएचआरएफले भनेको छ, ‘पाकिस्तानी सेनाको आक्रमणमा अफगानिस्तानका स्थानीय क्रिकेट टिमका सदस्यको हत्याको हामी कडा निन्दा गर्दछौं । नागरिकमाथि गरिएको यो आक्रमण अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र मानवअधिकार घोषणापत्रको गम्भीर उल्लंघन हो ।’ फाउन्डेसनले साझा गरेको तस्बिर र भिडियोमा केही खेलाडी क्रिकेट खेल्दै गरेका देखिन्छन् । 

यस्तै, आईएचआरएफले सबै अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरुलाई यो घटना र अफगानी नागरिकविरुद्ध भइरहेको हिंसाको संरचनालाई तत्काल जाँच गर्न अपिल गरेको छ । 

अफगानिस्तानका कप्तान तथा स्टार क्रिकेटर राशिद खानले पाकिस्तानी आक्रमणलाई त्रासदी भनेका छन् । उनले भनेका छन्, ‘नागरिकलाई निशाना बनाइनु पूरै तरिकाले अनैतिक र बर्बर हो । यस्तो प्रकारका गैर कानुनी र अन्यायपूर्ण आक्रमण मानवअधिकारको उल्लंघन हो ।’

राशिद खानले पनि पाकिस्तानसँग हुने त्रिकोणीय सिरिजबाट पछि हट्ने अफगानस्तान क्रिकेट बोर्डको निर्णयलाई समर्थन गरेका छन् । यस्तै गलबदीन नायबले पनि यस आक्रमणलाई पाकिस्तानी सेनाको क्रुर हर्कत भनेा छन् । उनले भने, ‘यो आक्रमण हाम्रा नागरिक, हाम्रो गौरव र स्वतन्त्रतामाथिको आक्रमण हो ।’

यो सिरिज पाकिस्तान, अफगानिस्तान र श्रीलंकाबीचबीच खेलिने तय थियो । प्रतियोगिता १७ देखि २९ नोभेम्बरमा लाहौर र रावलपिन्डीमा हुने तालिका थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully